सन्दर्भ : नाडा निर्वाचन

‘युवा नेतृत्वले मात्रै अब नाडालाई हाँक्न सक्छ’ (अन्तर्वार्ता)

अटोमोबाइल अर्थात् मोटर गाडी र योसँग सम्बन्धी वस्तुको बजार ठूलो छ । राज्य सञ्चालनका लागि राजस्वको प्रमुख आधार, आयात व्यापारमा यसको हिस्सा, कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान र बहुआयामिक प्रभावलाई हेर्ने हो भने यो निकै महत्वपूर्ण क्षेत्र हो । पछिल्लो समय नेपाल अटो मोबाइलको ठूलो बजारको रुपमा विकास हुँदै गएको छ । तर, यस क्षेत्रका समस्याहरु बग्रेल्ती छन् । आम अटोव्यवसायीले भोग्नु परेका समस्याहरुको सहजीकरण गर्न र व्यवसायीको हकहितमा क्रियाशील हुन नाडा अटोमाेइल्स एसाेसिएसन अफ नेपालको गठन भएर सञ्चालन हुँदै आएको छ । यही संगठनको ४५ औँ साधारणसभा २२ मंसिरमा हुने तय भएको छ । कार्यसमिति चयनका लागि २३ मंसिरमा निर्वाचन हुने कार्यतालिका छ । उक्त निर्वाचनमा नाडालाई नेतृत्व गर्न व्यवसायीले दुई ओटा प्यानल बनाएर चुनावी प्रतिस्पर्धाका लागि प्रचारात्मक कार्यक्रम गरिरहेका छन् । दुई मध्ये एक प्यानलमा अध्यक्षका प्रत्यासी उम्मेद्वार बनेका करण चौधरीसँग मकालु खबरका पुष्प काेइरालाले कुराकानी गरेका छन् ।

सबै व्यवसायीको हितमा काम गर्न स्थापना गरिएको नाडाको कार्यसमिति सर्वसम्मत रुपमा निर्माण गर्न नसकेर दुई प्यानल नै बनाएर निर्वाचनमा जान लाग्नु भएको छ । यस्तो अवस्था कसरी बन्यो ?

मलाई लाग्छ नाडा बलियो भएको छ । देशमा अटोमोबाइल व्यवसायलाई सुधार गर्न सक्ने नयाँ धेरै सदस्यहरू अगाडि बढिरहेका छन् । यो लोकतान्त्रिक प्रक्रिया सबैको हितमा हुनेछ ।

यहाँ नाडाको नेतृत्वमा आउन चाहनुको कारण के हो ? यहाँको चुनावी घोषणा वा प्रतिवद्धता के हो ?

नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुको प्रतिनिध संस्था हो । व्यवसायीको आत्मसम्मानलाई म प्रमुख महत्व दिन्छु । अटोमाबाइल क्षेत्रमा सहज व्यवसायिक वातावरण बनाई अझै प्रगतशील बनाउने प्रयास गर्नेछु । साथै, उच्च आयआर्जन सुनिश्चित गर्ने वातावरण बनाउने छु । यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका सबै सरकारसँग समन्वय गर्ने छु । सबै व्यवसायीको राय लिई, व्यवसाय केन्द्रित नीति निर्माणका लागि गर्न संयन्त्र निर्माण गर्नेछु । सबैको सल्लाह सुझाव लिने वातावरण निर्माण भएमा संस्था नितिगत तहमा बलियो हुने विश्वास लिएको छु । नाडालाई ‘डाटा हब’का रुपमा अघि बढाउन पनि म प्रतिबद्ध छु ।

नेपालमा अटोमोबाइल क्षेत्रमा के कस्तो समस्या देख्नु भएको छ ?

पहिलो कुरा, म जोड दिन्छु कि अटोमोबाइल विलासिताभन्दा पनि आवश्यकता भएको छ । राष्ट्रिय अर्थतन्त्रमा अटोमोबाइल र सम्बन्धित उद्योगको सबैभन्दा ठूलो योगदान रहेको तथ्य सर्वविदितै छ । सवारी कर्जामा भएको नीतिगत समस्याका कारण व्यक्तिगत सवारी साधन खरिद गर्न कठिन छ । कर सम्बन्धी सरकारको आफ्नै प्राथमिकता छन् तर सवारी साधन खरिद गर्नका लागि कम्तिमा पनि सहज वातावरण बनाउनुपर्छ ।

नाडाले एकपक्षीय रुपमा सवारी साधन र यससम्बन्धी व्यवसायीको हकहितको कुरा गर्ने गरेको तर आम उपभोक्ताले भोग्नु परेको समस्याबारे मौन रहने गरेको आरोपबारे तपाइँको भनाइ के छ ?

नाडाले आम उपभोक्ताको सवारी साधनको स्वामित्व र सडक सुरक्षाका लागि विभिन्न पहल गर्दै आएको छ । हामीले आम उपभोक्ताको सवारीसाधनको स्वामित्वका विषयमा नीति निर्मातासँग वार्ता गर्दै आएका छौँ । हाल सरकारले नीति बनाउनुअघि नाडाको संस्थागत सुझाव सुनिरहेको देख्दा निकै खुसी लागेकाे छ । आगामी दिनमा यसलाई सुधार गर्न चाहन्छौँ र यो नै मेरो आगामी चुनावको प्रमुख एजेन्डाको रुपमा रहने छ । सरोकारवालासँगको समन्वयमा विभिन्न सडक सुरक्षा कार्यक्रम सञ्चालन भइरहेका छन् र यसलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा थप सशक्त बनाउँदै लैजाने छौँ ।

यहाँले भन्नुभए जस्तै सरकारले सवारी साधनलाई विलासी वस्तु र कर संकलन गर्ने मुख्य क्षेत्रको रुपमा व्यवहार गर्न छोडेको छैन । आम मानिसको अनिवार्य साधन बनिसकेको मोटरसाइकलमा समेत अस्वभाविक भन्सार कर लगाइरहेको छ । यसबारे तपाइँहरु किन बोल्नु हुन्न ?

हो, अटोमोबाइल व्यवसायप्रति सरकारको आफ्नै प्राथमिकताहरू छन् । म अध्यक्षमा निर्वाचित भएमा म र मेरो टिमले सरकारका सरोकारवालाहरूसँग मिलेर सबैको हितमा हुने गरी काम गर्नेछौँ ।

सवारी साधन खरिदमा बैंकहरुले प्रवाह गर्ने कर्जालाई अनुत्पादक भन्ने गरिन्छ । के साँच्चै सवारीमा गरिएको लगानी अनुत्पादक हो ?

हामी सबैलाई थाहा छ, अटोमोबाइल क्षेत्र र यससँग सम्बन्धित व्यवसायले देशको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा सबैभन्दा बढी योगदान गरिरहेको छ । पछिल्लो समय एवं चलिरहेको कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दा अटोमोबाइल विशेष आवश्यकता बनेको छ । अटोमोबाइललाई अनुत्पादक क्षेत्रका रुपमा परिभाषित गर्नु उचित होइन ।

पछिल्ला वर्ष नेपाल सवारी साधनकाे उत्कृष्ट बजार बनेकाे छ । तर, यस क्षेत्रका लागि आवश्यक सडक, पुल लगयात पूर्वाधारको विकास असाध्यै सुस्त छ । बनेका अधिकांश बाटा र पुलको पनि गुणस्तर गतिलो छैन । यस्तो अवस्थामा नेपाली बजारमा बिक्री भएको सवारी साधनको व्यवस्थापको चुनौती कत्तिको देख्नु भएको छ ?

सडक र सडक सञ्जाल सुधार गर्नु सुरक्षाको प्रमुख आधार हो । पछिल्ला दिनहरुमा सडक सञ्जालमा उल्लेख्य वृद्धि भएको छ । यसमा अझै विकास एवं विस्तार हुन आवश्यक छ । सडक सुरक्षालाई समेत ध्यान दिनुपर्ने जरुरी छ । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाई सडकको अवस्था सुधार गर्न सम्बन्धित विभागले ध्यान दिन आवश्यक देखिन्छ । त्यसो गर्न सके यसले सुरक्षामा सुधार र सवारी साधनको प्रयोगलाई बढावा दिनेछ ।

जुन स्तरमा काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रमा सवारी साधनको चाप देखिएको छ । यसले सवारी जामको समस्यालाई भयावह बनाउँदै लगेको छ । यो अवस्थाको अन्त्य कसरी गर्न सकिएला ?

हो, सहरी क्षेत्र काठमाडौं होस् वा काठमाडौँ बाहिरका ठूला सहरहरूमा ट्राफिक जाम हुने गरेको छ । यहाँ सबैले आआफ्ना तर्फवाट भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हरेकले सबैभन्दा पहिले हामीलाई थप सडक चाहिन्छ भन्दछ तर यो रातारात हुने कुरा होइन । यस बीचमा हामी सबैले ट्राफिक अनुशासन, लेन अनुशासन आदि जस्ता सामान्य कुराप्रति सचेत भई सोको पालना गर्न आवश्यक छ । सबै सचेत र अनुशासित भए ट्राफिक प्रवाह सहज हुन सक्छ । घरहरु तथा आवास क्षेत्र सीमित रहेका सहरी क्षेत्रमा सडक पूर्वाधार वृद्धि र सुधारका लागि सरोकारवाला निकायले सिर्जनशील समाधानको खोजी गर्नु आवश्यक छ ।
आयात मात्रै बढ्दा नेपालको व्यापार घाटा उच्च बन्दै गएको छ । आयात बढ्नुमा सवारी साधानको पनि ठूलो भूमिका छ । अब नेपालमै सवारी साधन उत्पादन गर्ने काम सुरु गर्ने बेला भएन र ?

सरकारले नेपालमा सवारी साधन एसेम्वलको प्रवर्द्धनका लागि निर्देशिका बनाएको छ । तर, उक्त निर्देशिका कत्तिको कार्यान्वयन हुन्छ र कसरी अघि बढ्छ भन्ने प्रमुख कुरा हो । नेपालमा उद्योगी, व्यवसायीका लागि सबैभन्दा ठूलो विडम्बना भनेकै नीतिगत अस्थिरता हो । आज कुनै नीति आयो भने त्यो कहिलेसम्म स्थिर रहन्छ र कहिले परिवर्तन हुन्छ भन्ने चिन्ता भइरहन्छ । यदि ती नीतिहरु सही तरिकाले कार्यान्वयन भए सवारी उत्पादनका क्षेत्रमा लगानीकर्ताहरु ओइरिन्छन् । भारतकै उदाहरण लिने हो भने पनि ४० वर्षअघि सुजुकीले सरकारसँग ‘जोइन्टभेन्चर’ मै काम अघि बढाएको थियो । त्यस्तो काम हामीले नेपालमा पनि गर्न सक्छौँ । नेपालमा उत्पादिन वस्तुहरुको माग बाहिर नहोला त्यो छुट्टै कुरा हो आन्तरिक खपतकै लागि भए पनि यस्ता नीतिहरु आवश्यक हुन्छन् अनि मात्रै सरकारी नीतिहरु कार्यान्वयन भएको प्रभाव देख्न सकिन्छ ।

कम्तीमा आयात गरिएकै सवारी भए पनि स्वदेशमै उत्पादन भएको बिजुलीले चलाउन सकियो भने वातावरण स्वच्छ बनाउन पनि सहयोग पुग्छ र पेट्राेलियम इन्धनमा खर्च हुने वार्षिक झण्डै डेढ खर्ब रूपैयाँ जाेगिन्छ भन्ने धारणा आइरहेको छ । यसबारे अटोमोबाइल व्यवसायीहरुले के कस्तो तयारी गर्नुभएको छ ?

तथ्यांक हेर्नुभयो भने नेपाल विद्युतीय गाडी आयातकर्तामा विश्वको उच्च १५ देशभित्र परिसकेको देख्नुहुनेछ । नेपालमा लगभग ६ प्रतिशत जति विद्युतीय सवारीसाधनहरु प्रयोग भइरहेको विभिन्न तथ्यांकले देखाउँछ । यसले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगमा अग्रसर भएर अघि बढिरहेको देखाउँछ । आज नेपालमा चाहिने सवारीसाधनहरु देशको भूवनोट अनुसार कुन गाडी कहाँ र कसरी प्रयोग गरिनुपर्छ भन्ने अझै स्पष्टता छैन ।

हामीले विद्युतीय युगको कुरा गर्दैगर्दा यसका लागि आवश्यक पूर्वाधारको कुरा गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । विद्युतीय सवारीसाधनको उच्च प्रयोग र खपत गर्न पहल भइरहेको छ भने विभिन्न स्थानहरुमा ‘चार्जिङ स्टेशन’देखि अन्य पूर्वाधारको विकास कम्पनीहरु आफैले पनि अघि बढाइरहेका छन् ।
तर, सरकार र निजी क्षेत्र दुबै मिलेर विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माण तीव्र रुपमा गर्ने हो भने विश्वमै धेरै विद्युतीय सवारी चल्ने देशका रुपमा नेपाललाई उभ्याउन बेर लाग्ने छैन । विद्युतीय सवारी धेरै प्रयोग गर्ने नर्वेमा सरकारले विद्युतीय सवारी चलाउनेलाई अनुदान समेत दिने गरेको छ । त्यहाँ विद्युत्मा सहुलियत छ । तर, त्यस्तो देशमा पनि विद्युतीय गाडी ३५ प्रतिशत मात्रै छन् भने नेपालमा हालसम्म भएको प्रगतिलाई नै धेरै मान्नुपर्ने अवस्था छ ।

अटोमोबाइल क्षेत्रका आम उद्यमी व्यवसायीलाई नाडा निर्वाचानबारे यहाँको के सन्देश छ ?

म कार्यरत संस्था सिजी मोटोकर्प र समग्र अटोमोबाइल क्षेत्रलाई नै अघि बढाउन लागेको १६ बर्ष भयो । मैले करिब १० वर्ष निजी कम्पनी पनि चलाएँ । यसबीचमा मैले स्वयंलाई सक्षम भएँ वा भइँन भन्ने प्रश्न सोध्ने गरेको छु । मैले आज अध्यक्षको उम्मेदवारी दिँदै गर्दा म भन्दा अग्रजहरुसँग सल्लाह सुझाव दिँदै र त्यसैअनुसार अघि बढ्दै छु ।

अबका दिनमा अग्रजलाई सम्मान गर्दै नाडाको नेतृत्व युवाले लिनुपर्छ । युवा नेतृत्वसँग नाडालाई अघि बढाउने अवधारणा र कार्यशैली नै नवीनतम हुन्छ, त्यसले गुणात्मक प्रतिफल दिन सक्छ । यति हुँदाहुँदै पनि म सर्वगुणसम्पन्न भने छैन । त्यसैले अब मैले मेरो टिममा भएका सबैलाई समेटेर सँगै अघि लैजानुपर्छ । जसले मलाई पूर्ण हुन सहयोग गर्नेछ । त्यसैले मैले मेरो टिममा व्यवसायी, उद्योगीलगायत सबै समेट्ने प्रयास गरेको छु । मैले मेरो टिममार्फत नाडामा केही गरेर देखाउनु नै मेरो प्रमुख उद्देश्य हुनेछ ।

अहिले सरकारले पनि केही गर्नुपर्छ भनेर अघि बढिरहेको छ । यस्तो बेला नाडाले पनि केही गर्नुपर्छ भनेर लाग्नु पर्ने छ । नाडाको नेतृत्वमा युवामा आउनुपर्छ भन्नेमा म केन्द्रित छु । म सक्षम छु भने मलाई नाडाका साथीहरुले किन अघि नबढाउने भन्ने मेरो अवधारणा साथीहरुसँग राखेको छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *