संस्थापनइतर पक्षमा सभापतिको एकमात्र उम्मेदवार बनाउन कति सम्भव ?
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिमा एकमात्र उम्मेदवार बनाउन दबाब बढेको छ । कम्तीमा चार जनाले उम्मेदवार बन्ने आकांक्षा राखेपछि एक जना मात्र उम्मेदवार बनाउनुपर्ने दबाब बढेको इतर पक्षका नेताहरूले बताएका छन् ।
नेता डा. चन्द्र भण्डारी आफूहरू एक मात्र उम्मेदवार बनाउन निकै समयदेखि नै सक्रिय रहेको र पछिल्लो समय यो दबाब शीर्ष नेताहरूले नै महसुस गरेको बताउँछन् । ‘मिलेर एउटै उम्मेदवार बनाउनुपर्छ भनेर हामीले दबाब निरन्तर दिइरहेका छौँ, एक मात्र उम्मेदवार बनाउन भनेजस्तो सजिलो त छैन, तर उहाँहरूलाई पनि दबाब बढेको छ,’ उनले भनेका छन् ।
अर्का नेता गगनकुमार थापा आफूहरूले दबाब बढाउने काम मात्र नभएर तपाईंहरू मिल्न नसके हामी नै उम्मेदवार तय गर्छौँ भनेर पनि दबाब बढाइरहेको बताउँछन् । ’हामीले दबाब मात्र बढाइरहेको होइन सँगसँगै आन्तरिक छलफल नै पनि गरिरहेका छौँ,’ थापाले भने, ‘उहाँहरूले सहमति गर्न नसकेको अवस्थामा हामीले बाँकी पदाधिकारीसहित सभापतिको पनि घोषणा गर्नुपर्ने हुनसक्छ भन्नेसम्मको तयारी पनि गरिरहेका छौँ ।’
- यो पनिः
कांग्रेस महाधिवेशन : दाेहोरिएलान् देउवा ?
एक नभई देउवालाई हराउन नसकिनेमा इतर समूह ‘कन्भिन्स’, सभापतिका दाबेदार नमिले युवा नेताले टिम बनाउने
सभापतिमा उम्मेदवारी दिने बताएका डा. शेखर कोइराला पनि एक मात्र उम्मेदवार तय गर्नेबारे निरन्तर छलफल भइरहेको र विभिन्न आधारहरू बनाएर सबैभन्दा बलियो उम्मेदवार को हो भन्ने निर्क्योल गर्न र त्यसअनुसार आफू कमजोर सावित भए पछि हट्न तयार छु र यसमा सभापतिका सबै आकांक्षी तयार हुनुपर्छ भन्ने मान्यता राख्दै आएको बताउँछन् ।
मंगलबार बसेको संस्थापनइतर पक्षका युवा नेता, हालै विजयी जिल्ला सभापति, पूर्वसभापति सहभागि बैठकले एकल उम्मेदवार छिटो तय गर्न दबाब सिर्जना गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी नेता बद्री पाण्डेकाअनुसार आज पनि नाम टुङ्गाे नलागे ढिलो हुने भनेर पनि युवा नेताहरूले दबाब दिएका छन् ।
यसबारे थप छलफल गर्न पौडेल पक्षका केन्द्रीय सदस्यहरूकाे बैठक मंगलबार बस्दै छ भने सभापतिका आकांक्षी चारैजनाले पनि बेग्लै छलफल गर्दैछन् । नेताहरू स्वयम्ले सभापतिमा एकमात्र उम्मेदवार बनाउन सहज नभएपनि त्यसको विकल्प नभएको निष्कर्ष निकालेकाले उनीहरूलाई दबाब बढेको युवा नेताहरू बताउँछन् ।
खासगरी प्रदेशको नतिजापछि देउवालाई हराउन एक मात्र उम्मेदवार हुनैपर्ने निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको छ ।