चोलेन्द्रले राजीनामा दिँदैमा न्यायालय सुध्रिँदैन : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिँदैमा न्यायालय सुधार नहुने बताएका छन् । मंगलबार आफूलाई भेट्न बालकोट निवास आएका वकिलहरूको टोलीसँग संवाद गर्दै ओलीले यस्तो बताएका हुन् । ‘अलिकति जटिल नै देख्छु,’ ओलीले भने, ‘चोलेन्द्रशमशेरले राजीनामा दिँदैमा न्यायालय सुध्रिहाल्छ भन्ने हुँदैन ।’

यद्यपि न्यायालय सुधारको अभियानमा एमाले जहिल्यै पनि कानून व्यवसायीहरूकै साथमा रहेको ओलीले बताए । वकिलहरूले आंशिक रूपमा न्यायालयको सुधार उठाएको उल्लेख गर्दै उनले भने, ‘यसलाई पूर्णता दिनुपर्छ । त्यसमा एमालेको साथ रहन्छ ।’ वकिलहरूले २० प्रतिशत मात्रै कुरा उठाएको उल्लेख गर्दै ओलीले भनेका छन्, ‘यसलाई १०० बनाएर अगि बढ्नुस् । हामी तपाईंहरूलाई साथ दिन्छौँ ।’

प्रधान मन्त्री शेरबहादुर देउवालाई प्रधान न्यायाधीश जबरा हटाउन गाह्रो परेको ओलीको विश्लेषण थियो । ‘तपाईंहरू भन्नुहुन्छ राजीनामा दिनुपर्‍याे भनेर । शेरबहादुरजी यसलाई न्यायालयको आन्तरिक मामिला भन्नुहुन्छ । मलाई प्रधान मन्त्री बनाइदिनेलाई कसरी हटाउँछु भन्नुहुन्छ उहाँ । यसो हुँदा जटिल भयो ।’

न्यायालयमाथि औँला ठड्याउन नपाइने ओलीले स्मरण गराए । ‘कार्यपालिका र व्यवस्थापिकामाथि बरु औँला ठड्याउन पाइन्छ, तर न्यायापालिकामाथि पाइँदैन । यद्यपि अहिले यस्तै खाले भयो र यस्तो भइरहेको छ । यसलाई पूर्णता दिने काम गर्नुस्,’ ओलीले आग्रह गरे ।

यसअघि वकिलहरूले ओलीलाई ज्ञापनपत्र बुझाउँदै प्रधान न्यायाधीश जबरालाई महाभियाेग लगाएर हटाउन सहयाेग गर्न भनेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *