कसले सुधार्छ कांग्रेस, किन सुधार्ने कांग्रेस ?

काठमाडौँ । राप्रपा सुधार्ने बहस भर्खरै किनारा लागेको छ । थाहा छैन सुधारको सुरुवात हुन्छ वा फेरि अर्को महाधिवेशनको लागि अर्को पक्षलाई एजेन्डाका रूपमा रहन्छ । तर, पार्टीलाई सुधारेर नयाँ ढंगले अघि बढाउँछौँ भन्ने राजेन्द्र लिङ्देन र धवलशमशेर राणाहरूले चुनाव जितेका छन् ।

त्यसअघि महाधिवेशन गरेको एमालेमा भने एमाले ‘सुधार्ने’ भन्ने बारे खासै कुरा धेरै भएको सुनिएन । पार्टी बिग्रेकै छैन भन्ने निष्कर्षका कारण पनि होला अहिलेकै ‘स्पिरिट’ लाई थप तीव्र गतिमा अघि बढाउनेमा जोड दिइयो । र, अब पालो कांग्रेसको आएको छ । कांग्रेस सुधार्ने कुराको । १४‌औ‌ महाधिवेशनको मुखैमा रहेकाले पनि यो विषय अहिले थप मुखर हुने नै भयो । किन पनि भने कांग्रेस बिग्रियो भनेर चिन्ता र चासो सानो स्वरमै सही बेलाबेला प्रकट हुने गरेकै हो । महाधिवेशनमा त उम्मेदवारले आफ्नो उम्मेदवारी पुष्टि गर्न पनि कांग्रेसको रुपान्तरण, पुस्तान्तरण, पार्टीको नयाँ ढंग आदिबारे कुराहरू उठ्ने नै भए ।

मंगलबार कांग्रेस सुधार्ने कसले र किन भन्नेलगायत विषयमा चर्चा गराइदिए लेखक तथा विश्लेषक शंकर तिवारीले । कांग्रेस रुपान्तरणका बारेमा निकै तिखा र खँदिला विश्लेषण लेख्दै आएका तिवारी स्वयम कांग्रेस हुन् । स्याङ्जाबाट उनी १४औ‌ं महाधिवेशनका लागि प्रतिनिधि चुनिएका छन् । उनै तिवारीको पुस्तक ‘कसले सुुधार्छ कांग्रेस ?’ लोकार्पण समारोहमा कांग्रेसका नेता र विश्लेषकले यो बारेमा धारणा राखे । उनीहरूले भिन्न भिन्न कोणबाट कांग्रेसको सुधारका बारेमा मत जाहेर गरेका थिए ।

कांग्रेस नेता गगनकुमार थापाले अलि भिन्न ढंगले कुरा राखे । ‘कांग्रेस कसले सुधार्छ भन्ने पाटो एउटा भयो तर अब हामीले यति मात्र भनेर हुँदैन किन सुधार्ने कांग्रेस ? कांग्रेस नसुधार्दा के हुन्छ ? भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको छ’ उनले भने । थापाले थपे— ‘कांग्रेस नसुध्रिए सकिन्छ, कांग्रेस सकिए हामीजस्ता ९ लाख क्रियाशील सदस्यलाई हाम्रो आस्था विश्वास श्रम मेहनत वा सपनासँगै जोडिएकाले अलि बढी चिन्ता वा चासो होला तर कांग्रेस सकिँदै गर्दा एउटा आम नागरिकलाई, वा देशलाई के फरक पर्छ भन्ने कुराबारे अब छलफल केन्द्रित गर्नुपर्नेछ ।’

थापाले जाेड दिँदै भनेका थिए, ‘अब यीनै ९ लाख हाराहारी क्रियाशील सदस्यका लागि मात्र पार्टी बनाउने हो भने प्राविधिक रूपमा जसको नेतृत्व चयन गरेपनि भयो । होइन अब थप कम्तिमा १५ लाख नयाँ मतदातालाई तान्ने हो भने त्यो गर्न सक्ने क्षमता भएको नेतृत्व चयन गर्नुपर्‍याे, हामीले चयन गरेको नेतृत्वले कांग्रेसले हामीले दिन चाहेको र खोजेको सन्देश दिन सक्छ कि सक्दैन भन्ने पनि ख्याल गर्न जरुरी छ ।’

अहिले जताजतै कसरी चुनाव जित्ने भन्ने कुरामा मात्र बहस केन्द्रित भइरहेकोमा असन्तुष्टि जनाउँदै थापाले यो गलत भएको ‍औंल्याए ।

पूर्वमन्त्री तथा कांग्रेस नेता सञ्जय गौतमले अब कसले सुधार्छ कांग्रेस होइन, म सुधार्छु कांग्रेस भनेर अठोट गर्ने र काम थाल्ने बेला आएको बताए । पछिल्लो समय पार्टीभित्र झन्‌झन् नकारात्मक कुराहरूले प्रश्रय पाइरहेको साँचो रहेको भन्दै गौतमले यसलाई सुधार्न जरुरी रहेकाे बताए । तर, यसलाई सुधार्न जरुरी छ भन्ठान्नेहरू सबैले अब प्रण गर्नुपर्ने र यसो गर्न सके कांग्रेसलाई सुधार्न असम्भव नभएको थपे ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसभित्र केही विकृतिहरू भित्रिएको तर अहिले कोकोहोलो मच्चाइएको जस्तो नकारात्मक कुरा मात्र नभएको भन्दै राम्राभित्रबाट पार्टी सुधारको कुरा गर्नुपर्ने बताए । ‘म स्वयम् मोरङमा महाविशेन प्रतिनिधि हारेर आएको हुँ । तर यसो भन्दैमा म सबै मभन्दा खराब आए म मात्र असल थिएँ भन्दिनँ’, उनले भने ‘जितेर आएकामध्ये ८० प्रतिशत मभन्दा योग्य आउनुभएको छ । २० प्रतिशतमा केही खराबी म देख्छु तर यसो भन्दैमा हामी २० प्रतिशतले पार्टी कब्जा गरे भनेर कराउने होइन, ती ८० प्रतिशतबाट कसरी पार्टी राम्रो बनाउन सकिन्छ भन्ने खोज्ने हो ।’

१४‍औं महाधिवेशन यसका लागि एक अवसर भएकाले त्यसलाई उपयोग गर्न सक्नुपर्ने आचार्यकाे भनाइ छ ।

नेता बद्री पाण्डेले युवा पुस्ताले पनि आचार्यको भनाइमा सहमति जनाउँदै निराशा मात्र सञ्चार नगरी अब आशालाग्दा पात्र र प्रवृत्तिलाई प्रवर्द्धन गर्नुपर्ने बताए । विचार, विधान, बैठक र व्यवस्थापनमा जोड दिनुपर्ने आफ्नो यसअघिदेखि कै मान्यता रहेको भन्दै पाण्डेले १४ औ अधिवेशनदेखि नै पार्टीभित्र शुद्धीकरणकाे अभियान चलाउनुपर्ने बताए ।

कर्णाली प्रदेशकी कांग्रेस सहमहामन्त्री निमा गिरीले कांग्रेस सुधार्ने प्रतिवद्धता गर्दै युवाहरू नेतृत्वमा आइरहेको र आसन्न महाधिवेशनले यसमा थप बल दिने विश्वास व्यक्त गरिन् ।

नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले अब कसले कांग्रेस सुधार्छ भन्ने भन्दा पनि हामी सुधार्छौँ कांग्रेस भनेर अठोट गर्ने र सुधारको पक्षमा भएकाहरूले हातेमालो गर्नुपर्ने बेला आएको बताए ।
लेखक तिवारीले कांग्रेसलाई २१ औँ शताब्दी सुहाउँदो लोकतान्त्रिक पार्टी बनाउन र नेपाली राजनीतिको परम्परागत व्याकरण बदल्न अब नयाँ ढंगले सोच्न जरुरी रहेको बताए । उनले आफू १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने पनि घोषणा गरेका छन् ।

कांग्रेसका समस्या के हुन्, कांग्रेसको सुधार किन जरुरी छ, कसरी र कसले सुधार्न सक्छल कांग्रेसलगायतका विषयमा तिवारीले पुस्तकमा चर्चा गरेको प्रकाशक शिखा बुक्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *