कालक्रममा कांग्रेस- ४

बीपीको हत्या प्रयास गर्ने भरतशमशेर यसरी लागे कांग्रेसतिरै

काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको क्रान्तिबाट राणा शासन अन्त्य भयो । मोहनशमशेरकै नेतृत्वमा कांग्रेस, राणा र राजा सम्मिलित मन्त्रिमण्डल बन्यो । तर, राणाका केही मान्छेहरू गृहमन्त्री बीपीको हत्या गर्न सक्रिय भए । तीमध्ये एक थिए, भरतशमशेर र उनका बाबु मृगेन्द्रशमशेर ।

क्रान्तिको समयमा राणाका आठपहरिया र अन्य दरबारीयाहरूले ‘खुकुरी दल’ बनाएका थिए । उनीहरू क्रान्तिमा लागेका जनतालाई तर्साउन आक्रमण गर्ने गर्थे । त्यही खुकुरी दल २००७ सालपछि गोर्खा दल भएको थियो । त्यसलाई बबरशमशेरका नाती भरतशमशेर, रणधीर सुब्बालगायतले नेतृत्व गरेका थिए । रणधीर सुब्बा दार्जिलिङको गोर्खा लिगका नेता थिए । गोर्खा दलका कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन नेपाल आएका उनी यतै बसेका थिए ।

गोर्खा दललाई प्रधान मन्त्री मोहनशमशेर र रक्षामन्त्री बबरशमशेरकै सहयोग रहेको गणेशमान सिंहले आफ्नो आत्मकथा ‘मेरो कथाका पानाहरू’ मा उल्लेख गरेका छन् । गोर्खा दलको प्रमुख उद्देश्य दिल्ली सम्झौताको विरोध गर्नु थियो । अनि राणा–कांग्रेस सरकारलाई असफल बनाउन अशान्ति मच्चाउने उनीहरूको प्रयास हुन्थ्यो । उनीहरू नाङ्गो खुकुरी मच्चाउँदै हरेक दिन जुलुस निकालेर मान्छेहरूलाई आतंकित बनाउँथे । त्यतिबेला शहरमा ‘आयो, आयो’ को आतंक नै थियो ।

शान्ति सुरक्षाको जिम्मा गृह मन्त्रालयको हुँदा अशान्ति मच्चिरहँदा मोहनशमशेर र अरु राणाहरू खुसी थिए । किनभने यसलाई उनीहरू नेपाली कांग्रेस र बीपीको असफलता ठान्थे ।

मन्त्रिमण्डकै बैठकमा बीपीले मोहनशमशेरलाई यो आतंक रोक्न चेतावनी पनि दिएका थिए । तर, टेरपुच्छर नलगाएपछि बीपीकै आदेशमा प्रहरीले २००७ चैत २९ मा भरतशमशेर र रणधीर दुवैलाई पक्राउ ग¥यो । यसपछि मोहनशमशेर र बीपीको भनाभन भयो । आवेशमा आएका मोहनशमशेरले आफू नै त्यस संस्थाको अध्यक्ष रहेको बताए ।

गोर्खा दलका सचिव रहेका भरतशमशेरलाई पक्राउ गरेर सदर झ्यालखाना पछाडिको एक सरकारी भवनमा राखिएको थियो । तर, पक्राउको भोलिपल्ट चैत ३० मा राणाहरूले आफ्ना समर्थक र आठपहरिया लगाई भरतशमशेरलाई थुनिएको भवनमा आक्रमण गर्ने मान्छे पठाए । उनीहरूले भरतशमशेरलाई थुनाबाट बाहिर निकाले ।
त्यतिबेला गृह मन्त्रालय अहिले भन्सार विभाग रहेको त्रिपुरेश्वरको गेष्ट हाउसमा थियो । तल्लो तलामा मन्त्रालय र माथिल्लो तलामा गृहमन्त्रीको निवास थियो ।

भरतशमशेरलाई रिहा गरेपछि एउटा समूह बीपीमाथि आक्रमण गर्न चर्को नाराबाजी गर्दै त्रिपुरेश्वरतिरै गयो ।

बीपीले पेस्तोल चलाउँदा एक जना ठहरै

दिउँसो तीन बजेतिर निवासको माथिल्लो तलामा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, होराप्रसाद जोशी, सप्तरीका नामी जमिनदार रामेश्वरप्रसाद सिंह, भारतीय सांसद बालकृष्ण गुप्तालगायत त्यहाँ थिए । अर्को कोठामा बीपीकी आमा दिव्या, श्रीमती सुशीला, छोरा प्रकाशसहित परिवारका सदस्य थिए ।

नाङ्गा खुकुरीसहित छिरेको हुलले गृह मन्त्रालयका कर्मचारीलाई बेस्सरी कुटे । फर्निचर तोडफोड गरे । कागजपत्र जलाइदिए । सुरक्षाकर्मी निरिह थिए । प्रायः सबै कर्मचारी घाइते भए ।

तल्लो तलालाई ध्वस्त बनाएपछि उक्त भीड बीपीलाई खोज्दै माथि उक्लियो । उनीहरू उक्लिँदै गर्दा बीपीले दराजबाट केही हतियार निकालेर सबैलाई दिए । आफूले रिभल्बर लिए र त्यसमा गोली भरे । ढोका भने बलियो गरी छेस्किनी लगाइएको थियो । तर, भीडले लात्तीले हानेर ढोका फोड्यो ।

त्यो बेलासम्म गृहमन्त्रीको सुरक्षाका लागि गेटमा तैनाथ गार्डले बन्दुक दिएर आत्मसमर्पण गरिसकेका थिए । बीपीका भान्जा तीर्थ अधिकारीसँगको स्टेनगन पनि उनीहरूले कब्जामा लिएका थिए । भित्र कोठामा छिरेको एक व्यक्तिले भारतीय सांसद बालकृष्ण गुप्तालाई ताकेर खुकुरी प्रहार गरे । संयोगले खुकुरीको टुप्पो दलिनमा बज्रियो । उनी जोगिए । त्यति नै बेला बीपीले पेस्तोलबाट गोली चलाए । उनले चार पाँच राउन्ड फायर खोलेका थिए । उनले चलाएको गोली लागेर खुकुरी हान्ने व्यक्ति त्यहीँ ढल्यो । अरु आक्रमणकारीको भागाभाग भयो ।

त्यसरी मृत्यु हुने बबरशमशेरको आठपरिया सुकुलध्वज थिए । उनी केही समयअघि मात्र सेनाको सुवेदार पदबाट अवकाश भएका थिए । यसरी त्यो दिन बीपीलगायत कांग्रेस शीर्ष नेताको ज्यान बचेको थियो ।

उता भरतशमशेर भने थुनामुक्त भएपछि एउटा टुकडी लिएर टँुडिखेलको चक्कर लगाए । उनले टुँडिखेलमा परेड खेलिरहेका सेनालाई आफ्नो पक्षमा पार्न त्यहाँ भाषण पनि गरे । तर, खरिबोट नजिक परेड खेलाइरहेका केशरशमशेरले सेनालाई आफ्नो नियन्त्रणमा राखे । केही समयपछि रक्षा दलका सिपाही आएर फेरि भरतशमशेरलाई पक्राउ गरेर लैनचौरस्थित क्याम्पमा लगेर थुने । गोर्खा दलमाथि पनि प्रतिबन्ध लगाइयो ।

राणा प्रधानमन्त्री मोहनशमशेरसँग मतभेद बढ्दै गएपछि र आफ्नै पार्टीको मातृका समूहले असहयोग गर्न थाल्यो । त्यही बेला २००८ कात्तिक २० मा सुरक्षा कानूनको विरोधमा नयाँ सडकमा भएको जुलुसमा प्रहरीले गोली चलाउँदा चिनियाकाजीको मृत्यु भयो । मोहनशमशेरले उनको मृत्युको दोष बीपीमाथि लगाए । मातृका कोइराला र त्रिभुवन भने बीपी मोहनशमशेरप्रति नरम भएको भन्दै रुष्ट थिए । त्यसैले उनले कात्तिक २५ मा राजीनामा दिए । राजीनामा दिनुअघि रेडियो नेपालबाट देशबासीको नाममा सम्बोधन गर्दै सबै राजबन्दीहरुको रिहाई गर्ने घोषणा गरे । त्यही घोषणाको आधारमा उनीमाथि सांघातिक आक्रमण गर्ने भरतशमशेर पनि छुटे । यसरी उनी करिब सात महिना जेल बसेका थिए । जेलबाट छुटेपछि उनीहरुले गोर्खा दललाई नेपाल राष्ट्रवादी गोर्खा परिषद्को नामबाट सञ्चालन गरेका थिए ।

महेन्द्रको ‘कू’ पछि गोर्खा परिषद् कांग्रेसमा विलय

गोर्खा परिषद्मा पूर्वसैनिक, दरबारिया र जमिन्दारहरू संलग्न भएकाले उनीहरूका मान्छे देशैभरि भए । ती मान्छे प्रभावशाली भएकोले २०१५ सालमा उनीहरूलाई केही सहज भएको थियो । उनीहरूसँग पैसा पनि प्रशस्त भएकाले १०९ क्षेत्रमध्ये १९ क्षेत्रमा विजयी भइ संसद्मा प्रमुख प्रतिपक्षी दल बन्यो ।

शुरूमा संसद्मा आधिकारिक रूपमा विपक्षी दलको नेता तोकिएको थिएन । तर, गोर्खा परिषद्ले भने भरतशमशेरका बाबु मृगेन्द्रशमशेरलाई दलको नेता बनाएको थियो । तर, उनले राजीनामा दिएपछि भारतशमशेर नै नेता भए । संसद्ले भने २०१७ असार ४ गते मात्र आधिकारिक रूपमा भरतशमशेरलाई विपक्षी दलको नेताको मान्यता दिएको थियो । विपक्षी दलको उपनेता बेनीबहादुर कार्की भएका थिए ।

संसद्को दोस्रो अधिवेशन चल्दै गर्दै २०१६ फागुनमा पश्चिम १ नं. धादिङमा साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा गोर्खा परिषद्का सांसद ललितबहादुर घले समातिएका थिए । तर, संसद्मा आवाज उठेपछि उनलाई केही दिनमा नै छाडियो । शुरूका दिनमा गोर्खा परिषद्ले देशभरि कांग्रेसको विरोध गर्ने र संसद्मा पनि त्यहीअनुसार भूमिका खेल्ने गरेको थियो । तर, पछि मत्थर भयो ।

तर, गोर्खा परिषद्का नेता बाबु मृगेन्द्र र छोरा भरतशमशेरबीच फुट आयो । मृगेन्द्र संसद्भित्र र बाहिरका अन्य दलसँग एकता गरेर एउटै पार्टी बनाउने पक्षमा थिए । त्यसअनुरुपको छलफल पनि बढी रहेको थियो । तर, भरतशमशेर गोरखा परिषद्कै निरन्तरताको पक्षमा थिए । वास्तवमा गोर्खा परिषद्को मृगेन्द्र समूह राजा महेन्द्रको समर्थनमा थियो भने भरतशमशेरको समूह प्रजातन्त्रकै पक्षमा थियो । गोर्खा परिषद्का अध्यक्ष भने रणधीर सुब्बा थिए । भरतशमशेर महामन्त्री थिए ।

विवाद कायमै रहेको बेला राजा महेन्द्रले ‘कू’ गरे । ‘कू’ हुने दिन राजाले भरतशमशेरलाई दिउँसो ३ बजे भेट्न बोलाएका थिए । त्यसअघि विपक्षी दलका नेताको रूपमा एक पटक राजालाई भेटे पनि त्यसपछि उनले पहल गर्दा पनि राजाले भेट्न मानेका थिएनन् । त्यसैले उनलाई ‘कू’ को आशंका भएपछि बिहानै बीपीलाई भेट्न गए ।
राजाले ३ नबज्दै सत्ता हातमा लिए । १२–१ बजे बीचमा प्रधान मन्त्री बीपी, सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री र अरु नेताहरू पक्राउ परिसकेका थिए । सुवर्णशमशेर उपचारका लागि भारत गएकाले पक्राउ पर्नबाट जोगिएका थिए । उता, भरतशमशेर तीन बज्न पाँच मिनेट बाँकी हुँदै राजालाई भेट्न नारायणहिटी पुगे । उनलाई त्यहीँबाट पक्रिएर बरफबाग लगियो । वास्तवमा गोर्खा परिषद्का अर्का नेता नरबहादुर थापाले राजाबाट सरकार गठनका लागि बोलाएको हुनसक्ने बताएपछि भरतशमशेर दरबार गएका थिए ।

मृगेन्द्रशमशेरलाई पनि पुस २ गते गिरफ्तार गरियो । तर, उनी पुस ११ गते छुटे । त्यसपछि राजाको कदमको समर्थनमा विज्ञप्ति जारी गरे । उनको विज्ञप्तिको खन्डनमा गोर्खा परिषद्कै सदस्य सुरेन्द्रप्रसाद उपाध्यायले अर्को विज्ञप्ति जारी गरे । भारतको फारवेसगन्जमा रहेका उपाध्यायको विज्ञप्तिमा पार्टी अध्यक्ष रणधीर सुब्बा नेपालमा नभएको र महामन्त्री भरतशमशेर जेलमा रहेकोले मृगेन्द्रशमशेरको विज्ञप्ति आधिकारिक नभएको उल्लेख गरेका थिए ।

बेनीबहादुर कार्की, शुभशमशेर, नैनबहादुर स्वाँर आदिको पहलमा भरतशमशेरले जेलमा हुँदै राजा महेन्द्रलाई भेटे । उक्त भेटमा उनले आफू राजाकै पक्षमा रहेको बताएका थिए । त्यसको भोलिपल्ट चैत १६ मा चार भञ्ज्याङ काट्न नपाउने गरी भरतशमशेर रिहा भए ।

शुरूमा त उनी राजाको पक्षमा नै थिए । तर, विस्तारै उनको मनस्थिति बदलियो । उनी भारतमा आफ्नो बाजेको मृत्यु भएको र धेरै सम्पत्ति भएकाले व्यवस्थापन गर्ने निहुँले बेनीबहादुर कार्की र दिवाकर शर्मालाई लिएर २०१८ जेठमा भारत गए । उनी दिल्लीमा ‘जनपद होटल’ मा बसेका थिए । त्यही होटलमा सुवर्णशमशेर र शशीशमशेर पनि थिए । शशीशमशेरसँग उनले राजाको शासनविरुद्ध क्रान्ति गर्नुपर्ने कुरा उठाए । तर, त्यसअघि रोममा हुने समाजवादीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा जान शशीशमशेरले सल्लाह दिए । नेपाल आएर उनी रोमतिर लागे । त्यहाँ उनले नेपालमा क्रान्ति गर्ने कुरा गरे ।

रोमबाट भारत आएका भरतशमशेरले २०१८ कात्तिक २८ मा दिल्लीमा पत्रकार सम्मेलन गरी नेपालमा अब क्रान्ति गर्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए । त्यसको करिब एक वर्षअघि नै सुवर्णशमशेरले २०१७ माघ १२ देखि १४ सम्म भारतको पटनामा कांग्रेसको विशेष सम्मेलन बोलाएर सशस्त्र आन्दोलनको कार्यदिशा तय गरिसकेका थिए । उक्त सम्मेलनमा विघटित संसद्मा प्रमुख प्रतिपक्ष गोरखा परिषद्का प्रमुख सचेतक सुरेन्द्रप्रसाद उपाध्यायसहित दुई जना सहभागी थिए । यसरी राजाको ‘कू’ पछि गोरखा परिषद्बाट नेपाली कांग्रेस प्रवेश गर्ने पहिलो उच्च नेता उपाध्याय थिए ।

यता भरतशमशेरको पत्रकार सम्मेलनपछि सुवर्णशमशेर संयुक्त मोर्चा बनाएर सशस्त्र आन्दोलन गर्न चाहन्थे । तर, भरतशमशेरले त्यसरी आन्दोलन हुँदा गुट हुने भनेर गोरखा परिषद्लाई नै कांग्रेसमा विलय गराए । उनले २०१८ पुस १४ मा त्यसबारे वतक्व्य प्रकाशित गरी ‘जनरल सुवर्णशमशेरको नेतृत्वमा रहेर काम गर्ने निर्णय गरेको’ उल्लेख गरेका छन् । त्यसअघि २०१८ कात्तिक २६ बाट नै कांग्रेसले सशस्त्र संघर्ष शुरू गरिसकेको थियो ।

उक्त सशस्त्र संघर्षमा भरतशमशेरले सुवर्णशमशेरलाई निकटबाट सहयोग गरेका थिए । पछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सशस्त्र संघर्ष असफल हुने देखेपछि सुवर्णले २०१९ कात्तिक २३ गते कलकत्तामा बोलाएको भेलाले संघर्ष स्थगनको निर्णय गरेको थियो । उक्त निर्णयमा भरतशमशेर, सरोजप्रसाद कोइराला, बलबहादुर राईलगायत नेता असन्तुष्ट भएका थिए ।

बीपीको नेतृत्वमा अर्को सशस्त्र संघर्ष, भरतशमशेरको लगानी

२०१७ पुस १ देखि थुनामा रहेका बीपी कोइराला र गणेशमान सिंह २०२५ कात्तिक १४ गते रिहा भए । त्यसको केही समयपछि नै बीपीले प्रजातन्त्र पुनःस्थापनाका लागि हिंसात्मक आन्दोलन गर्नुपर्ने विचार व्यक्ति गर्न थालेका थिए । तर उनीसँग पैसा थिएन । त्यसका लागि उनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग हतियार र एक करोड रुपैयाँ पनि मागेको बीपीले आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । तर, इन्दिराबाट सहयोगको सम्भावना कम हुन थालेपछि बीपी अन्य स्रोतको खोजीमा लागेका थिए ।

सुवर्णशमशेर भने सशस्त्र संघर्षको विपक्षमा थिए । भारतको सहयोगबिना सशस्त्र आन्दोलन सफल नहुने उनको भनाइ थियो । उनी राजासँगको संवादमा पनि थिए र संवैधानिक सुधार गराउने प्रयास गरिरहेका थिए ।

राजा महेन्द्रले सुवर्णशमशेरलाई प्रधानमन्त्री हुन अनुरोधसमेत गरेका थिए । यससम्बन्धमा बीपीसँग सल्लाह गर्न सुवर्णशमशेर कलकत्ता गइ त्यहाँबाट सारनाथ जाने तयारी गर्दागर्दै बीपीले २०२८ असोज ३ गते ‘द इन्डियन एक्सप्रेस’ मा अन्तर्वार्ता दिएर सशस्त्र आन्दोलन शुरू गर्ने घोषणा गरेका थिए ।

त्यसपछि असोज २६ गते सुवर्णशमशेरले वक्तव्य निकाली प्रजातन्त्र प्राप्तिका लागि हिंसा उपयुक्त नभएको बताए । बीपीले सुवर्णको वक्तव्यको एक पत्रिकामार्फत खण्डन गरे । यसरी सशस्त्र संघर्ष गर्नेमा बीपी र सुवर्णको मत मिलेन । त्यसैले सशस्त्र संघर्षमा सुवर्णले कुनै आर्थिक सहयोग गरेनन् । जबकि अघिल्ला दुईवटा सशस्त्र आन्दोलन उनकै पैसाले भएको थियो ।

यता भरतशमशेरलगायत भने सशस्त्र संघर्ष चाँडो शुरू गर्ने पक्षमा थिए । त्यहीबेला राजा महेन्द्रको मृत्युले केही समय अलमल भयो । तर, कांग्रेस नेताहरु योगेन्द्रमान शेरचनको हत्या र कार्यकर्तामाथि बढेको दमनले बीपी लामो समय अनिर्णित नै रहन सकेनन् । कांग्रेसले तयारी थाल्यो । आर्थिक रुपमा भरतशमशेरले बीपीलाई गतिलो साथ दिएका थिए । उनकै सहयोगमा बीपीले सशस्त्र संघर्षको सुरुवात गरेका थिए । बीपीले सशस्त्र संघर्ष सञ्चालनका लागि प्रमुख कमाण्डरमा भरतशमशेरसहित गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, बेनीबहादुर कार्कीलगायत थिए । जसमध्ये भरतशमशेर र बेनीबहादुर गोर्खा परिषदबाट कांग्रेसमा विलय भएका नेता थिए ।

यसरी कुनै समय बीपीको हत्याका लागि प्रयास गर्ने गोर्खा दलका नेता भरतशमशेर बीपीकै सहयोगी भएका थिए । उनको दल गोर्खा परिषद पनि कांग्रेसमा विलय भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *