कांग्रेस महाधिवेशन : निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बाेलाएका छन् । आज बिहान उनको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।

सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन् । आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ । कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।

यसैगरी आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि महाधिवेशनका लागि आफ्नो समूहबाट सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्न लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

सो समूहका नेताहरुले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरुसँग राय–परामर्श गरी एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *