कांग्रेस सर्लाही ४ को सभापतिमा देउवा पक्षमा साह विजयी

काठमाडौँ । नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा रामआश्रय साह विजयी भएका छन् । बिहान सम्पन्न मतगणनामा हरेन्द्र सहनीलाई पराजित गर्दै साह क्षेत्रीय सभापतिमा विजयी भएका हुन् ।

देउवा पक्षका साहले ५१७ मतका ल्याउँदा संस्थापनइतर पक्षका सहनीले २२७ मत ल्याएका थिए । क्षेत्रीय कार्यसमितिमा र महाधिवेशन प्रतिनिधिमा पनि देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । प्यानल बनाएर चुनाव लडेका क्षेत्र नम्बर-४ का संघीय सांसद अमरेशकुमार सिंह महाअधिवेशन प्रतिनिधिमा पराजित भए ।

अधिवेशनमा संघीय सांसद सिंह र संस्थापन पक्षका प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहबीच कडा प्रतिस्पर्धा भएको थियो । महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका सांसद अमरेशकुमार सिंहले २ सय ४८ मत प्राप्त गरे भने प्रदेश सांसद वीरेन्द्र सिंह ५१४ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

याे पनि : अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित

संस्थापनइतर पक्ष ४ नम्बर क्षेत्रबाट प्यानल नै पराजित भएको हो । चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा क्षेत्र नम्बर १ मा अहिले मतगणना जारी छ भने क्षेत्र नम्बर २ र ३ मा निर्वाचन प्रक्रिया मात्र शुरु भएको छ । क्षेत्र नम्बर १ को बयलवासमा अहिले मतगणना भइरहेको छ । त्यहाँ संस्थापनबाट कुवेर आचार्य र इतर पक्षबाट हरि लुंगेलीले सभापतिका उम्मेदवार छन् ।

क्षेत्र नम्बर ३ को बरहथवामा अधिवेशन प्रक्रिया चलिरहेको छ । संस्थापन पक्षका पुण्यप्रसाद घिमिरे र इतर पक्षका भिखारी रायले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *