माओवादी केन्द्र प्रदेश १ को अधिवेशन मंसिर २५ मा हुने

विराटनगर। नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन मोरङको विराटचोकमा हुने भएको छ। आगामी मंसिर २५ गते मोरङको विराटचोकमा सम्मेलन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ। सम्मेलनमा एक हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयम्‌सेवक गरी १५ सयको सहभागिता हुने नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष सुरेशकुमार राईले जानकारी दिए ।

सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य सङ्ख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेकोले साेही अनुसारको सहभागिता रहने उनले बताए ।  पालिका अधिवेशनबाट स्थानीय तहबाट न्यूनतम ३ जना पर्ने गरी प्रति ५ सय जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानेको राईको भनाई छ।

सम्मेलनमा आयोजक समितिका ९७ जना, ज्येष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरू सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात् ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनीत गर्नेछन् ।

सम्मेलनमा केन्द्रीय सदस्यहरू २० जना, केन्द्रीय सल्लाहकारहरू १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जनासमेत प्रतिनिधिको रूपमा सहभागी हुने  नेकपा माओवादी प्रदेश कमिटीले जनाएको छ ।

प्रदेश अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट गर्ने आयोजक समितिका सचिव हेमराज भण्डारीले जानकारी दिए । अधिवेशनको उद्घाटन सत्रपछि सोही दिन बन्द सत्र सुरु हुनेछ  र नेतृत्व चयनको काम त्यसपछि हुने भण्डारीले बताए ।

नेकपा माओवादी केन्द्रको सम्मेलनले प्रदेश समिति पदाधिकारीसहित बढीमा १७५ जनाको बनाउने छ । प्रदेशमा अध्यक्ष, एक महिला अनिवार्यसहित ३ उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *