कालक्रममा कांग्रेस- ६

बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

काठमाडौँ । तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते ‘कू’ गरी सत्ता हातमा लिए । त्यही दिन प्रधान मन्त्री बीपी कोइरालालगायत कांग्रेसका प्रमुख नेता र मन्त्रीहरू पक्राउ परे । करिब २५० कांग्रेसी नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

पक्राउ परेपछि बीपी लगातार सात वर्ष सुन्दरीजल जेलमा बसे । उनी र गणेशमान सिंह २०२५ कात्तिक १४ गते रिहा भएका थिए । रिहा भएर भारत पुगेका बीपीले प्रजातन्त्र पुनःस्थापनाका लागि हिंसात्मक आन्दोलन गर्नुपर्ने विचार व्यक्ति गर्न थालेका थिए । तर, सुवर्णशमशेर हिंसात्मक आन्दोलनको विरोधमा थिए ।

त्यसअघि २०१८ सालदेखि एक वर्ष सुवर्णशमशेरकै नेतृत्वमा कांग्रेसले हिंसात्मक आन्दोलन गरेको थियो । भारतले सहयोग नगर्दा उक्त आन्दोलन असफल भएको थियो । त्यसकारण त्यस्तो आन्दोलनमा भारतको सहयोग चाहिने उनको भनाइ थियो । तत्कालीन भारतीय प्रधान मन्त्री इन्दिरा गान्धीले बीपीलाई सहयोग गर्न नसक्ने बताइसकेकी थिइन् । बीपी समाजवादी नेताहरूसँग नजिक भएको कारण पनि इन्दिराले सहयोग गर्ने अवस्था न्यून थियो । त्यसमाथि चीनसँग सम्बन्ध बिग्रिरहेको अवस्थामा भारत नेपाललाई चिढ्याउन चाहँदैन थियो ।

२०२९ भदौ ९ गते सप्तरीको हरिपुर चौकीमा आक्रमण गरेर सशस्त्र संघर्ष शुरू भयो । सशस्त्र संघर्ष शुरू भएपछि सुवर्णशमशेर र बीपीको ‘खुला टसल’ शुरु भयो ।  एक–अर्काले सशस्त्र संघर्षको समर्थन र विरोधमा वक्तव्य निकाल्ने र लेख लेख्ने काम भयो । सुवर्णशमशेर महेन्द्रपछि राजा भएका वीरेन्द्रसँग पनि संवादमा थिए । उनी राजासँग मेलमिलाप गरेर नै व्यवस्था परिवर्तन गर्न सक्ने विश्वासमा थिए । त्यसैले संवैधानिक सुधारका लागि वीरेन्द्रसँग छलफल चलाइरहेका थिए ।

यता कांग्रेसले देशैभरि हतियार बन्द आन्दोलन चर्कायो । यो आन्दोलनका लागि शुरूमा भरतशमशेरले सहयोग गरेका भए पनि पछि पैसा अभाव भयो । त्यो अभाव टार्न राष्ट्र बैंकको पैसा बोकेर विराटनगरबाट काठमाडौँ उडेको विमान नै कांग्रेसले अपहरण गर्नुपरेको थियो । यी सबै घटनापछि सरकार कांग्रेसप्रति कडा भयो । धेरै कांग्रेस कार्यकर्ता मारिए । भारतको मधुवनीमा सरोज कोइरालाको शंकास्पद हत्या भयो । २०३० चैत ३ मा राजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार भएपछि उक्त घटनामा दोषी ठहर गर्दै सरकारले भीमनारायण श्रेष्ठको हत्या गर्‍याे ।

२०३१ पुस १ गते भएको टिम्बुरबोटे काण्डमा राम र लक्ष्मण उपाध्यायसहित १६ जना मारिए । यस घटनामा संलग्न भएको आरोपमा दर्जनौँ गिरफ्तारीमा परे । यज्ञबहादुर थापालाई मृत्युदण्ड दिइयो ।

यसरी कांग्रेसलाई सफलता हासिल भइरहेको थिएन । अझ सोलु–ओखलढुङ्गाको योजना असफल भएपछि बीपी निकै नै उदास भएका थिए । किनभने त्यहाँ ठूलो मानवीय क्षति भएको थियो ।

उता भारतमा तत्कालीन प्रधान मन्त्री इन्दिरा गान्धीले २०३२ असार ११ गते संकटकाल घोषणा गरी सबै विपक्षी नेताहरूलाई गिरफ्तार गरिन् । बीपीसँग घनिष्ठ सम्बन्ध भएका समाजवादी नेता जयप्रकाश नारायणलगायत गिरफ्तारीमा परेपछि भारतीय भूमि कांग्रेसअनुकूल भएन । सशस्त्र आन्दोलन लम्बिँदै जाँदा धेरै कार्यकर्ता असुरक्षित हुने अवस्था आयो । स्वयम् बीपीलाई भारत बसिरहन समस्या भयो । उनी त्यहीँ गिरफ्तारीमा पर्ने सम्भावना बढ्यो ।

अब बीपी ‘दुई चार ठाउँमा बम पड्काएर मात्र केही हुँदैन’ भन्ने निष्कर्षमा पुगे । हतियारबन्द संघर्ष त्यागेर देशभित्रै गइ अहिंसात्मक आन्दोलन गर्ने उनको निष्कर्ष रह्यो । आफू नेपाल फर्कने निर्णय गरेको कुरा सबैभन्दा पहिला बीपीले भाइ गिरिजालाई सुनाएका थिए । किनभने, यो निर्णय उनले सारनाथको घरमा गरेका थिए ।

उनले यही कुरा गणेशमानलाई बनारस बोलाएर सुनाए । तर, गणेशमान असहमत भए । उनले भनेका थिए, ‘नेपाल जानु भनेको फाँसीको फन्दामा जानु हो । त्यसरी मर्नु भनेको आत्महत्या गरेसरह हुन्छ । त्यसैले त्यो निर्णय फिर्ता लिनुहोस् । त्यसरी म चाहिँ जान्नँ । आजसम्म तपाईंको हरेक निर्णय मैले मान्दै आएको छु । यो चाहिँ मान्दिनँ ।’ (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग–५, डा. राजेश गौतम)

‘यहाँ (विदेशमा) मरियो भने कुकुर–बिरालोको मृत्यु हुन्छ । स्वदेशमै मारियौँ भने चमत्कारपूर्ण हुन्छ । मैले यही भनेर गणेशमानजीलाई सम्झाएँ ।’ बीपीको भनाइ उद्धृत गर्दै रामहरि जोशीले आफ्नो पुस्तक ‘अँध्यारोबाट उज्यालोतिर’मा लेखेका छन् ।

डा. गौतमले उल्लेखगरेअनुसार बीपीले गणेशमानलाई भनेका थिए, ‘गणेशमानजी मन्द विष खाएर मर्नुभन्दा त आफ्नै देशमा फाँसीमा झुन्डिनु बेस । यो विदेशी भूमिमा म एकक्षण पनि टिक्न सक्दिनँ ।’ यी भनाइबाट त्यति बेला बीपीको मनोदशा बुझ्न सकिन्छ ।

अन्ततः बीपी सशस्त्र आन्दोलन बन्द गरेर नेपाल फर्किइ छाडे । राजासँग ‘मेलमिलापको नीति’ लिएर उनी २०३३ पुस १६ गते नेपाल आएका थिए । वास्तवमा यो मेलमिलापको नीति बीपीको भन्दा बढी सुवर्णशमशेरको थियो । सुवर्णशमशेरले २०२५ जेठ २ गते राजालाई सहयोग गर्ने मिलमिलापको नीति सार्वजनिक गरेका थिए । त्यसमा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको कुरा थियो । त्यसको नौ वर्षपछि पुस १६ मा बीपीले मेलमिलापबारे दिएको वक्तव्यमा पनि राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रकै कुरा छ । सुवर्णशमशेर २०२५ सालदेखि नै राजासँग मेलमिलापका लागि निरन्तर प्रयासमा थिए ।

जे होस् बीपी नेपाल फर्किए । तर, गौचर हवाइ अड्डा ओर्लनेबित्तिकै उनलाई गिरफ्तार गरियो । उनीसँग आएका गणेशमान, शैलजा आचार्य, निलाम्बर पन्थी, जगन्नाथ आचार्य, रामबाबु प्रसाईं र खुमबहादुर खड्का पनि गिरफ्तारीमा परे । बीपी र गणेशमानलाई पुनः सुन्दरीजेल बन्दीगृह लगियो । बीपीका नाउँमा कैयौँ मुद्दा दायर गरी अञ्चलाधीश कार्यालयहरू र अदालतमा मुल्तबीमा राखिएको थियो । विमान अपहरणजस्तो संगीन मुद्दा थियो । टिम्बुरबोटेलगायतका काण्डका मुद्दा थिए । बैंक लुटपाट, हत्या र राज्य विप्लवका अन्य मुद्दा थिए । उनलाई मृत्युदण्डको समेत सजाय हुनसक्थ्यो ।

बीपी पक्राउ परेपछि विभिन्न अञ्चलाधीश कार्यालयमा रहेका मुद्दा जगाएर एकत्रित गरी विशेष अदालत खडा गरियो । त्यसपछि उनलाई सुन्दरीजलबाट महाराजगञ्ज प्रहरी प्रशिक्षण केन्द्रको गेष्टहाउसमा पुर्पक्षका लागि हिरासतमा राखियो ।

विशेष अदालतका न्यायाधीश जनकमान श्रेष्ठले २०३४ वैशाख १४ देखि जेठ ४ गतेसम्म बीपीको बयान लिएका थिए । २१ दिनमा सातवटा मुद्दाको बयान लिइएको थियो । जनकमान कम्युनिष्ट राजनीतिबाट न्याय सेवामा छिरेर न्यायाधीश भएका थिए । बीपीप्रति उनको सहानुभूति र सम्मान थियो । उनीसँगको बयानमा सशस्त्र आन्दोलनका बेला भएका घटनाको बीपीले कांग्रेस सभापतिको नाताले नैतिक जिम्मेवारी लिएका थिए ।

योबीचमा पञ्चायत समर्थकहरुले बीपी र गणेशमानलाई फाँसी दिन भाग गरेर अभियानै चलाएका थिए । राजा पुगेका ठाउँमा पनि उनीहरू नाराबाजी गर्थे । यो कुरा थाहा पाएर एकपटक बीपीले जनकमानसँग बयान दिन अस्वीकार पनि गरेका थिए । बयान दिन अस्वीकार गरेकोबारे जनकमानले सोध्दा उनले भनेका थिए, ‘धनकुटामा राजा सवारी भइरहँदा पञ्चायतका हिमायतीहरूले राजाको सामुन्ने सम्मेलन गरी बीपी र गणेशमानलाई फाँसी दिने निर्णय प्रसारण गरी मार्नुपर्छ भनी आवाज उठाएको थाहा पाउनु भएन ? यता मुद्दा चलिरहेको बेला राजाको उपस्थितिमा त्यस्तो प्रस्ताव पास गर्नु इजलासलाई प्रभाव पार्न खोज्नु होइन ? राजालाई पनि अप्ठ्यारो पार्नु होइन ?’ (हराएको इतिहास, जनकमान श्रेष्ठ)

यसबेला बीपीको स्वास्थ्य निकै बिग्रिसकेको थियो । उनलाई राजा वीरेन्द्रले अमेरिका गएर उपचार गराउने अनुमति दिए । बाटो खर्च पाँच हजार डलर पनि उपलब्ध गराए । अनि अदालतमा ‘उपचार गरेर स्वदेश फर्किएपछि म आफैँ अदालतमा उपस्थिति हुन्छु’ भन्ने कागज गरेर छुटे । त्यसपछि भारतको बाटो हुँदै उनी अमेरिका गए ।

अमेरिकामा उनको उच्चस्तरीय नेताहरूसँग भेटवार्ता भयो । अमेरिकाका डेमोक्रेटिक सिनेटर एडवर्ड केनेडीले ठट्टा गर्दै बीपीलाई भनेका थिए, ‘तिम्रो गर्धन त अति महत्त्वपूर्ण रहेछ, रोगले पनि गर्धन नै ताक्ने र राजाले पनि गर्धन नै ताक्ने । तिम्रोविरुद्ध आठवटा गम्भीर मुद्दा छन् भने तिमी किन अमेरिका नै बसेर आफ्नो मुलुकमा प्रजातन्त्र ल्याउन काम गर्दैनौ ? तानासाहहरूको कुनै विश्वास हुँदैन ।’

उनले जवाफ दिएका थिए, ‘राजा र अरु तानासाहामा फरक छ । मैले मेरो राजालाई फर्केर आउने वचन दिएको छु । कुनै तानासाहाको छोरा गद्दीमा बस्ने ग्यारेन्टी हुँदैन । राजाको छोराले गद्दी पाउँछ । त्यसैले मलाई मार्न गाह्रो छ । म फर्किन्छु ।’ (डा. गौतम, भाग–५)

काठमाडौँ फर्किएपछि उनलाई विमानबाट ओर्लनै नपाई गिरफ्तारकै शैलीमा विशेष अदालत पुर्‍याइयाे र हिरासतमा राखियो । फेरि बयानको सिलसिला चल्यो । अनि बहस भयो । जनकमानले बीपीलाई राजकाज मुद्दामध्ये चार वटामा सफाइ दिए । उनको रिहाइको लागि अन्तराष्ट्रिय दबाब बढिरहँदा अर्को एउटा मुद्दामा पनि सफाइ पाए । पञ्चायतभित्रकै विभिन्न शक्तिले त्यतिबेला बीपीलाई मृत्युदण्ड दिन दबाब दिएको जनकमान श्रेष्ठले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

त्यसपछि फेरि बीपी उपचारका लागि विदेश जानुपर्ने भयो । राजाको अनुमति पाएर उनी २०३४ फागुन १२ गते अमेरिका जानका लागि रिहा भए । त्यसपछि भने स्वदेश फर्किएपछि पनि बीपीलाई गिरफ्तार गरिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *