कालक्रममा कांग्रेस-७

कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय

काठमाडौँ । नेपाल कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई ‘चुनाव नजित्ने नेता’ भनेर पनि चिनिन्छ । उनी २०५६ सालकोबाहेक सबै निर्वाचनमा पराजित भए ।

भट्टराई २०१५ सालको पहिलो आमनिर्वाचनमा नै पराजित भएका थिए । कांग्रेसले दुई तिहाइ बहुमत ल्याउँदा र प्रायः शीर्ष नेताले चुनाव जित्दा भट्टराई र सूर्यप्रसाद उपाध्याय पराजित भएका थिए । त्यतिबेला भट्टराई क्षेत्र नं. १०४ गोरखाबाट उम्मेदवार थिए । त्यहाँबाट विजयी गोरखा परिषद्का विश्वनाथ सुवेदीले ३,१३३ मत पाउँदा भट्टराईले २,८०८ मत पाएका थिए ।

त्यतिबेला रक्सीकै कारण उनले चुनाव हारेको जगत नेपालले आफ्नो पुस्तक ‘पहिलो संसद्’मा उल्लेख गरेका छन् । कृष्णप्रसाद जातपात मान्दैन थिए । कथित तल्लो जातका मानिससँग आँगन, पिँढीमै बसेर पनि खाना खान्थे । खानुअघि धोती फेर्दैन थिए । उनको यो बानी कथित उपल्लो जातलाई मन परेको थिएन । चुनाव प्रचारमा हिँडेकै बेला खुलेआम रक्सी खान्थे । बाटामा राम्रो रक्सी नपाइने हुँदा दुई-तीन जना भरियाले प्लास्टिकका तुम्लेटमा उनका लागि भरिभराउ रक्सी बोकेर हिँड्थे । (पहिलो संसद्, जगत नेपाल)

कालक्रममा कांग्रेस -१
नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

तर, त्योभन्दा पनि २०४८ सालको निर्वाचनमा उनको पराजय अन्तरराष्ट्रिय चर्चाको विषय बन्यो । त्यसका दुई कारण थिए- उनी देशका प्रधानमन्त्री थिए र २०१५ सालमा दुई तिहाइ ल्याएको नेपाली कांग्रेसको कार्यवाहक सभापति पनि थिए । त्यति मात्र नभई उनी हार्दै गर्दा उनका शुभचिन्तक रहेका त्यहाँका निर्वाचन अधिकृत बोधराज ज्ञवालीको हृदयाघातबाट मृत्यु भएको भट्टराईले आफ्नो पुस्तक ‘मेरो म’ मा उल्लेख गरेका छन् ।

उनको हारका तत्कालीन कारणहरू थिए । तर, यो कांग्रेसको इतिहाससँग जोडिएको विषय थियो । कांग्रेसभित्र भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको गुट र त्रिपक्षीय प्रतिस्पर्धा थियो । भट्टराईको हारमा तत्कालीन महामन्त्री रहेका गिरिजाप्रसादको ठूलो हात भएको भट्टराई पक्षको आरोप थियो । यसलाई बुझ्न कांग्रेसको इतिहासमा फर्किनुपर्ने हुन्छ ।

२०२५ सालमा जेलबाट छुटेपछि पनि बीपीले सुवर्णशमशेरलाई कार्यवाहक सभापतिमा कायम राखेका थिए । बीपीले २०२९ सालमा सशस्त्र संघर्ष थाल्दा सुवर्णशमशेर त्यसका प्रखर विरोधी भएर निस्किए । यसले कांग्रेसभित्र दुई गुट जन्मायो । तर, २०३४ सालमा सुवर्णशमशेरको मृत्यु भयो । मृत्युको अघिल्लो दिन उनले बीपीलाई आफ्नो र बीपीको दुवै समूह मिलाएर केन्द्रीय समिति बनाएर जान भनेका थिए । बीपी राजाको अनुमति लिएर उपचारका लागि जेलबाट छुटेर गएका थिए । सुवर्णलाई भेटेर नेपाल फर्किएपछि फेरि जेल परे । सुवर्णशमशेरको मृत्युपछि बीपीले कृष्णप्रसादलाई कार्यवाहक सभापति बनाएर जेलबाटै केन्द्रीय समितिलाई चिठी पठाए । तर, उक्त चिठी केन्द्रीय कार्यसमिति बैठकमा नदिई लुकाएको आरोप गिरिजाप्रसादमाथि लागेको थियो ।

कालक्रममा कांग्रेस-२
२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

उक्त पत्रमा कृष्णप्रसादलाई कार्यवाहक सभापति र परशुनारायण चौधरी तथा गिरिजाप्रसाद कोइरालालाई महामन्त्री बनाइएको कुरा सुवर्णशमशेर समूहले अस्वीकार गरेको थियो । उनीहरूको भनाइमा चौधरीले महामन्त्री अस्वीकार गरे मात्र गिरिजाप्रसादलाई बनाउने कुरा पत्रमा उल्लेख थियो । त्यसविपरीत गिरिजाप्रसादले २०३४ पुस २८ मा वक्तव्य जारी गरी भट्टराई कार्यवाहक भएको कुरा जानकारी दिँदै आफूलाई महामन्त्रीको रूपमा प्रस्तुत गरे । उनले फेरि माघ २ गते अर्को वक्तव्य दिँदै आफू नेपाली कांग्रेसको महामन्त्री भएको घोषणा गरे । माघ ५ गते अर्का नेता गजेन्द्रनारायण सिंहले वक्तव्य जारी गरी गिरिजाप्रसादले आफूलाई महामन्त्री घोषणा गरेर पार्टी निर्णयको अवज्ञा गरेको उल्लेख गरे । यसरी गिरिजाप्रसाद कोइराला विवादकैबीच पार्टीको महामन्त्री भएका थिए । त्यसमा आँखा चिम्लिएर बीपीले पार्टीमा परिवारवाद प्रवेश गराएका थिए ।

२०३९ सालमा बीपीको निधन हुनुअघि उनले पार्टीमा चार नेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सिके प्रसाईँलाई अगाडि बढाउन खोजेका थिए । पार्टीभित्र मौलाउँदै गएको व्यक्तिवादलाई रोक्न उनले यसो गरेका थिए । तर, उनको निधनपछि बौद्धिक मानिएका सिके प्रसाईँलाई पाखा पारियो । यसरी पाखा पार्नेमा प्रमुख हात गिरिजाप्रसादकै थियो । किनभने, उनले नै कांग्रेसमा ‘नेतात्रय’को अवधारणा ल्याएका थिए ।

बीपीको निधनपछि २०३९ सालमा गणेशमान निवास चाक्सीबारीमा भएको महासम्मेलनबाट कांग्रेसको कार्यवाहक सभापतिमा भट्टराईको निरन्तरता भयो । सर्वमान्य नेता गणेशमान भए भने गिरिजाप्रसादले महामन्त्रीकै निरन्तरता पाए । यो पद विभाजनसँगै कांग्रेसमा वैचारिक ध्रुवीकरण र संघर्ष सुरु भयो । गिरिजाप्रसाद मेलमिलापकै नीति अगाडि सारेर पञ्चायतसँग मिलेर जानुपर्ने लाइनमा पुगे । तर, गणेशमान सिंह शान्तिपूर्ण संघर्षको लाइनमा अडिग भएर लागे । त्यहीअनुसार प्रचार र वक्तव्य दिन थाले । भट्टराई भने दुई समूहबीच समन्वय गर्ने मध्यमार्गी धारमा देखा परे ।

कालक्रममा कांग्रेस-३
यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन

गिरिजाप्रसाद कोइरालाले विभिन्न जिल्ला कमिटीमा पञ्चायतका मान्छे पनि राखेर आफू अनुकूल पुनर्गठन गर्न थालेका थिए । त्यसको एउटा उदाहरण झापा जिल्ला समिति थियो, जहाँ ‘गाउँ फर्क’का स्थानीय नेता दीपक बाँस्कोटालाई समावेश गरिएको थियो । २०४२ सालमा नेपाली कांग्रेसले गरेको सत्याग्रहपछि गिरिजाप्रसाद केही व्यक्ति लिएर राजाको मन्त्रीमण्डलमै समावेश हुने तयारीमा रहेपनि केही मतभेदका कारण उनी त्यहाँ गएनन् ।

यता गणेशमानले मेलमिलापको नीति त्यागेर संयुक्त जनआन्दोलन गर्नुपर्ने बताउँदा गिरिजाप्रसादले त्यसको विरोध गरे । कृष्णप्रसादले पनि राष्ट्रिय पञ्चायतमा भाग नलिने पार्टी निर्णय गरेपछि उनी कृष्णप्रसादसँग पनि रुष्ट भए । यसरी गिरिजाप्रसादको सम्बन्ध गणेशमान र भट्टराईसँग बिग्रँदै गयो । पार्टीमा वर्चस्व कायम राख्ने लडाइँमा गिरिजाप्रसाद एकातिर र गणेशमान तथा कृष्णप्रसाद अर्कोतर्फ थिए ।

यसैबीच गणेशमान र भट्टराईको लाइनअनुसार वामपन्थी दलहरूसँग मिलेर संयुक्त जनआन्दोलन भयो र त्यसले सफलता पनि पायो । त्यसलगत्तै गणेशमानको नेतृत्वमा अन्तरिम सरकार बनाउने प्रस्ताव गरियो । तर, गणेशमानले अस्वीकार गरेपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए ।

कालक्रममा कांग्रेस-४
बीपीको हत्या प्रयास गर्ने भरतशमशेर यसरी लागे कांग्रेसतिरै

२०४७ सालमा अन्तरिम संविधान बन्यो । उक्त संविधानअनुसार २०४८ वैशाख २९ मा प्रतिनिधिसभाको निर्वाचन हुने भयो । उक्त निर्वाचनमा प्रधानमन्त्री तथा कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई काठमाडौँ निर्वाचन क्षेत्र नं.-१ बाट उम्मेदवार बने । सोही निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी पनि उम्मेदवार थिए । भण्डारी काठमाडौँकै अर्को निर्वाचन क्षेत्र नं. ५ बाट पनि उम्मेदवार थिए ।

निर्वाचनअघि एमालेले कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद र आफ्नो पार्टीका अध्यक्ष मनमोहनलाई जिताउन एक-अर्काले सघाउनुपर्ने प्रस्ताव राखेको थियो । त्यसका लागि कांग्रेसले मनमोहनको निर्वाचन क्षेत्र सुनसरी-१ बाट उम्मेदवारी फिर्ता लिने र एमालेले पनि काठमाडौँ–१ बाट उम्मेदवारी फिर्ता लिने प्रस्ताव महामन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष राखिएको थियो । तर, कोइरालाले यो प्रस्तावलाई बेवास्ता गरे । एमालेले यो प्रस्ताव स्वयम् भट्टराईसँग पनि राखेको थियो । उनी सकारात्मक थिए । तर, गिरिजाप्रसादले नै यसरी एक-अर्को दललाई सहयोग गर्नबाट रोके ।

त्यतिबेला गिरिजाप्रसाद पनि मोरङ-१ र सुनसरी-३ बाट उम्मेदवार थिए । यता भट्टराईलाई आत्माराम शर्मालगायत कार्यकर्ताले पर्सा-१ बाट उम्मेदवार बन्न आग्रह गरेका थिए । तर, भट्टराईले आफू काठमाडौँबाटै चुनाव जित्न सक्नेमा विश्वस्त भएको बताए । अन्तिम मत परिणाम आउँदा उनी ७५१ मतले पराजित भए । मदन भण्डारीले २७,३७२ मत पाउँदा भट्टराईले २६,६२१ मत पाए । भट्टराईलाई हराउन स्वयम् गिरिजाप्रसाद र भारत नै लागिपरेको कांग्रेस कार्यकर्ताले नै बताउने गरेका थिए ।

कालक्रममा कांग्रेस -५
…अनि कांग्रेस ‘समाजवादी’ भयो

भट्टराईले चुनाव हार्दा गिरिजाप्रसाद प्रधानमन्त्री हुन पाए । जसकारण उनी शक्तिमा पुगेर पार्टीमा आफ्नो वर्चस्व बलियो बनाउन थाले । यता मदन भण्डारीले जितेका दुई क्षेत्रमध्ये काठमाडौँऔ१ छाडे । तर, उनको २०५० जेठ ३ गते दुर्घटनामा निधन भयो । त्यसपछि २०५० मंसिर ३ मा भएको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराई पुनः उम्मेदवार बने । उनले उम्मेदवारी घोषणा गर्दा गिरिजाप्रसाद मौन बसे भने नोना कोइराला र शैलजा आचार्यले विरोध गरे । जसकारण उनको उम्मेदवारी विवादमा पर्‍याे ।

यता एमालेले मदन पत्नी विद्या भण्डारीलाई उम्मेदवार बनायो । सुरुमा भट्टराईको उम्मेदवारीको विरोध नगरेका गिरिजाले अब भने सार्वजनिक रूपमा नै आलोचना गर्न थाले । त्यसपछि गिरिजाप्रसाद र कृष्णप्रसादबीच एउटा सम्झौता भयो- पार्टी सभापति भट्टराईले निर्वाचनमा विजयी भए पनि प्रधानमन्त्री दाबी नगर्ने । त्यसपछि मात्र बल्ल गिरिजाले भट्टराईको पक्षमा बोल्न थाले । पार्टीभित्रको विवादले पनि भट्टराई कमजोर भइसकेका थिए । अर्कोतिर उनकी प्रतिस्पर्धी विद्याप्रति सहानुभूतिको मत पनि थियो ।

तर, निर्वाचन आउन १२ दिन बाँकी हुँदा आफ्ना प्रेस सल्लाहकार जयप्रकाश आनन्दमार्फत गिरिजाप्रसादले वक्तव्य दिएर भट्टराईको विरोध गरे । उनले यतिसम्म भनेकी, ‘कृष्णप्रसाद आफ्नो आकांक्षाले नभई अरूको चाहनाले उम्मेदवार बनेका हुन् ।’ उनले दरबारतिर संकेत गरेका थिए । गणेशमानले निरन्तर सरकारको विरोध गरेको र भ्रष्टाचारको आरोप लगाएको विषयलाई पनि गिरिजाप्रसादले जवाफ दिँदै भट्टराईमाथि अनेक लाञ्छना लगाए । रेडियो नेपालबाट प्रसारित उक्त १७ बुँदे विज्ञप्तिका कारण भट्टराईलाई ठूलो धक्का लाग्यो । त्यसै क्षेत्रमा रहेका गिरिजाप्रसाद भतिजा ज्योति कोइराला, अम्बिका बस्नेत, उमेश गिरीलगायतले खुला रूपमा नै भट्टराईविरुद्ध अभियान चलाए । गिरिजाप्रसाद निकटका खुमबहादुर खड्का, वीरेन्द्र दाहाल, विजयकुमार गच्छदार, महेश आचार्य, सुशील कोइराला पनि कृष्णप्रसादलाई हराउने अभियानमा लागे ।

कालक्रममा कांग्रेस- ६
बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

निर्वाचन परिणाम आउँदा भट्टराई फेरि पराजित भए । उनी विद्यासँग १,८२६ मतले हारेका थिए । भट्टराईले ४१,४९० मत पाउँदा विद्याले ४३,३१६ मत पाएकी थिइन् । त्यसपछिको संसदीय खेलमा गिरिजा सधैँ माथि रहे । भट्टराई निरीहजस्तै हुन पुगे । गिरिजासँगको मतभेद र पार्टीमा भोग्नुपरेको दुर्व्यवहारका कारण गणेशमान सिंहले पार्टी नै छाडे ।

संसदीय निर्वाचनमा हारको परिणाम महाधिवेशनमा देखियो । २०५३ वैशाख २६-२८ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भए । उक्त महाधिवेशनमा कृष्णप्रसादले सभापतिको आकांक्षासमेत देखाएनन् । कोइरालालाई चिरञ्जीवी वाग्ले र रामहरि जोशीले चुनौती दिए पनि प्रतिस्पर्धामा छेउछाउसम्म पनि पुगेनन् । कुल खसेको १४१० मतमध्ये कोइरालाले ११४४, वाग्लेले २५४ र जोशीले १२ मत पाए । त्यसपछिका अरू दुई महाधिवेशनमा उनी लगातार सभापति पदमा निर्वाचित भइरहे । जीवनको अन्तिम कालसम्म पनि गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसमा शक्तिशाली सभापति भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *