दाबी नछाड्न शेखरलाई जिल्लाका नेताहरूकाे सुझाव

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापति पदका आकांक्षी डा. शेखर कोइरालालाई जिल्लास्थित नेताहरूले पछाडि नहट्न सुझाव दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखरबीच को सभापति पदको उम्मेदवार बन्ने भन्नेबारे रस्साकस्सी चलिरहेको बेलामा शेखरलाई जिल्लाका नेताहरूले यस्तो सुझाव दिएका हुन् ।

शेखरले बिहीबार दिउँसो जिल्लाका नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा शेखरलाई नेताहरूले पछाडि नहट्न सुझाव दिएका हुन् । ‘धेरै साथीहरूले साझा उम्मेदवार बनाऔँ, त्यो साझा उम्मेदवार तपाईं बन्नुभयो भने जित्न सकिन्छ भन्ने धारणा राख्नुभयो,’ एक जिल्ला सभापतिले भने, ‘समग्रमा सहमति र एकताको विकल्प छैन, हामीले त्यही सुझाव दिएका छौँ । तपाईं जित्न सक्नुहुन्छ भनेर भन्याैँ ।’

यसपछि आफू झनै उत्साहित भएको शेखरले सुनाएका थिए । ‘तपाईंहरूकाे सुझावलाई मान्दै म सभापतिमा उठ्ने नै भएँ,’ शेखरलाई उद्धृत गर्दै ती सभापतिले भने, ‘अब मिलेर अगाडि जानुपर्छ । तपाईंहरूकाे साथ मलाई चाहिन्छ ।’

पौडेल, सिंह र शेखरबीच काे सभापति पदकाे उम्मेदवार बन्ने भन्नेबारे सहमति भइसकेको छैन । उता युवा नेताहरूले संस्थापनइतर पक्षबाट एउटै मात्रै उम्मेदवार नबनाइए हारिने सम्भावना उच्च रहेको भन्दै नेतृत्वकर्ता नेताहरूलाई दबाब बढाएका छन् ।

प्रदेश र त्यसभन्दा तलको मतपरिणामले गर्दा संस्थापनइतर पक्ष झस्किएको छ । यसपछि नै युवा नेताहरूले संस्थापनइतर पक्षबाट एकैजना सभापति पदको उम्मेदवार हुनुपर्ने भन्दै दबाब बढाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *