माओवादी प्रदेश अधिवेशन : प्रतिनिधिलाई होटलमा नराखिने

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा हुन लागेको पहिलो प्रदेश अधिवेशनमा कुनै होटलहरूमा प्रतिनिधिलाई नराख्ने जनाएको छ । नेकपा माओवादी केन्द्र प्रदेश १ समितिले अधिवेशनबारेमा जानकारी दिन विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुनै होटलहरूमा नराखी शुभेच्छुक नेता/कार्यकर्ताको घरमा आएका प्रतिनिधिलाई राख्ने जनाएको हो ।

नेकपा माओवादी केन्द्र प्रदेश १ का ईन्चार्ज राम कार्कीले ठुलो रकम खर्च गरेर होटलमा राख्ने अवस्स्था नरहेकाले प्रदेश अधिवेशनमा धेरै खर्च नहुने बताए । ‘आएका प्रतिनिधिलाई होटलमा राख्ने भनिएको छैन,’ उनले भने, ‘आएका नेता कार्यकर्ता आफन्तको घर, नेता कार्यकर्ता र शुभेच्छुकहरूसँग समुदायमा बस्नेछन् ।’

आएका कलाकार समूहलाई समूहमै राख्नुपर्ने भएकोले कुनै त्यसका लागि ठाउँहरूको खोजी भइरहेको उनले बताए । प्रदेश १ को अधिवेशनमा एक छाक सामूहिक रूपमा खाना खाने, बिहान खाजा र दिउँसो बिस्कुट खाने कार्यक्रम रहेको कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अधिवेशनमा धेरै खर्च गर्ने भन्दा पनि विचारको मन्थन गर्ने भएकाले प्रदेश अधिवेशन खर्चिलो नहुने जानकारी दिए । हाम्रो प्रदेश अधिवेशन कुनै अमुक व्यक्तिलाई स्थापित गराउने होइन,’ उनले भने, ‘हाम्रो अधिवेशन नीतिप्रधान अधिवेशन हुनेछ ।’

नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हेमराज भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलल दाहालले सबै प्रदेशको अधिवेशन एकै पटक हुने भएकाले संयुक्त रुपमा भर्चुअल माध्यमबाट सम्बोधन गर्ने जानकारी दिए । नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन यही मंसिरको २५ र २६ गते मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा हुनेछ ।

प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ७ जना पदाधिकारी चयन हुने भण्डारीले बताए । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव १ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुने नेकपा माओेवादी केन्द्रले जजनाएको छ । पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । प्रदेश अधिवेशनमा ११ सय प्रतिनिधी सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *