कांग्रेसको १४औँ महाधिवेशन आजदेखि, ४७०० मतदाताले छान्नेछन् नेतृत्व

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि शुरु हुँदै छ । पटक-पटक कार्यतालिका हेरफेर हुँदै आए पनि अन्ततः आजदेखि महाधिवेशन शुरु हुने भएको हो ।

‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदै छ । १३औँ महाधिवेशन पनि ०७२ फागुनमा भृकुटीमण्डपमै भएको थियो ।

महाधिवेशनको सम्पूर्ण तयारी सकिएकाले उद्घाटन समारोहलाई चुस्त र व्यवस्थित रूपमा सम्पन्न गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उद्घाटन समारोह दुई घण्टाभित्रै सक्ने तयारी छ । उद्घाटनमा देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत उपस्थिति हुने भएका छन् । महाधिवेशनमा सहभागी कुल ४ हजार ७ सय महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश काठमाडौँ आइसकेका छन् ।

४७०० मतदाताले छान्नेछन् नेतृत्व
महाधिवेशनबाट ४ हजार ७ सय प्रतिनिधिले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।

शनिबार उम्मेदवारी टुङ्गिएपछि आइतबार मतदान र मतगणनाको कार्यक्रम छ । उद्घाटनपछि भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान हुनेछ । महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रूखअंकित झन्डाले सिँगारिएको छ । वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *