कालक्रममा कांग्रेस-८

गिरिजाले यसकारण भनेका थिए- माले, मण्डले र मसाले एकै हुन्

काठमाडौँ । कतिपय कांग्रेसजनले अहिले पनि गिरिजाप्रसाद कोइरालाको भनाइ दोहोर्‍याउँछन्- माले, मण्डले र मसाले एकै हुन् । तर धेरैलाई गिरिजाप्रसादले के सन्दर्भमा र किन यस्तो भनेका थिए भन्ने थाहा छैन । थाहा नपाएरै पनि उनीहरू अहिलेको एमाले वा माओवादीलाई गाली गर्न गिरिजाको भनाइ उद्धृत गरिरहेका हुन्छन् ।

वास्तवमा गिरिजाप्रसादले यो अभिव्यक्ति कुनै चुनावी भाषणमा दिएका थिएनन् । उनले २०४७ जेठ २९ गते दोलखाको चरिकोटमा आयोजित कार्यक्रममा वामपन्थी र पञ्चहरूलाई ‘एउटै भएको’ अभिव्यक्ति दिएका थिए । त्यतिबेला कृष्णप्रसाद भट्टराई नेतृत्वमा कांग्रेस र वामपन्थीहरूकै अन्तरिम सरकार थियो । तर, कांग्रेस र कम्युनिष्टबीच मनोमालिन्य सुरु भइसकेको थियो ।

कालक्रममा कांग्रेस -१
नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

यसमा गिरिजाप्रसादको मनोविज्ञानले पनि काम गरेको थियो । उनी पञ्चायतकालदेखि नै कांग्रेस र कम्युनिष्टहरू मिलेर गर्ने संयुक्त आन्दोलनको विरोधी थिए । वामपन्थीसँग उनी अनुदार थिए । बरु सुधारिएको पञ्चायतमा राजासँग मिल्नुपर्ने उनको लाइन थियो । उता गणेशमान र कृष्णप्रसाद भट्टराई संयुक्त आन्दोलनको पक्षमा थिए । उनीहरूकै लाइनअनुसार आन्दोलन भएर सफलता पनि हात परेको थियो । त्यसपछि भट्टराई प्रधानमन्त्री भएका थिए ।

संयुक्त सरकारले पहिलो जिम्मेवारी संविधान निर्माण र दोस्रो आमनिर्वाचन सफल बनाउनु थियो । संविधान निर्माणका क्रममा राजालाई दिइने अधिकार र अन्य विषयमा कांग्रेस र वामपन्थीहरूबीच आरोप-प्रत्यारोप चल्न थालेको थियो । संविधान निर्माणको क्रममा संविधान सुझाव आयोगमा संलग्न नेकपा (चौम)का नेता निर्मल लामाले आयोगमा सदस्य रहेका नेपाली कांग्रेसका नेताहरूलाई लक्षित गरी ‘प्रतिगामी, यथास्थितिवादी र राजावादी’ भएको भन्दै रत्नपार्कमा पर्चासमेत बाँडेका थिए ।

कालक्रममा कांग्रेस-२
२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

उता अर्को वाम दल नेकपा (माले) पनि कांग्रेसविरुद्ध आक्रामक ढंगमा लागेको थियो । त्यतिबेला मनमोहन अधिकारीको नेकपा (मार्क्सवादी) र मालेबीच एकता भएर एमाले बनिसकेको थिएन । मालेले विभिन्न ३२ वटा प्रश्नको एउटा सर्कुलर जारी गरेर ती प्रश्न कांग्रेस कार्यकर्तालाई सोध्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको थियो । ती प्रश्नमध्ये कतिपय कोशी र गण्डकीजस्ता राष्ट्रघाती सम्झौता किन गरेको ? चिनियाकाजीको हत्या किन गरेको ? जस्ता पुराना घटनासँग सम्बन्धित थिए । यसले कांग्रेस नेताहरूलाई चिढ्याएको थियो ।

गिरिजाप्रसाद र बीपीमा एउटा समानता थियो, दुवै कम्युनिष्टसँग सहकार्यको पक्षमा थिएनन् । तर, कांग्रेसले सहकार्य गरेको र एउटै सरकारमा बसेको गिरिजाप्रसादलाई मन परेको थिएन । उता वामपन्थीहरूले कांग्रेसीलाई अनेक आरोप लगाउन थालेपछि दूरी बढेको थियो । त्यसबेला संयुक्त सरकार बनेको करिब पाँच महिना भएको थियो । २०४७ जेठ २९ गते एउटा कार्यक्रममा बोल्न गिरिजाप्रसाद दोलखाको चरिकोट पुगेका थिए । उनले त्यहाँ ‘मबाट उठेका सबै प्रतिक्रियावादी भएको’ बताए । त्यसलाई अझ प्रस्ट पार्दै ‘माले, मसाले र मण्डले एउटै भएको’ बताए ।

कालक्रममा कांग्रेस-३
यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन

उनले चरित्रगत रूपमा एउटै हुन् भनेका माले, मशाले र मण्डले वास्तवमा विल्कुलै फरक थिए । नेकपा माले तत्कालीन झापा विद्रोहबाट आएको पार्टी थियो । जतिबेला बीपी कोइराला भारतमा बसेर तेस्रो पटक सशस्त्र संघर्षको तयारी गर्दै थिए, त्यहीबेला २०२८ मा सीपी मैनाली, राधाकृष्ण मैनाली, रामनाथ दाहाल, केपी ओली, मोहनचन्द्र अधिकारीलगायत नेता ‘वर्गशत्रु सफाया अभियान’ चलाउँदै थिए । त्यस अभियानमा नौ जनाको हत्या गरियो भने १३ जनामाथि साङ्घातिक हमला भयो । उनीहरूमाथि सरकारले कडा कारबाही चालेपछि झापा विद्रोहमा लागेका अधिकांश पक्राउ परे । केहीको हत्या भयो ।

पछि जेलब्रेक गरी निस्किएका र अन्य वामपन्थी पार्टीको विभिन्न तहको एकतापछि २०३५ सालमा नेकपा (माले) बनेको थियो । सुरुमा यो पार्टी माओविचारधारा र चारु मजुमदारको लाइनबाट प्रभावित भए पनि बिस्तारै शान्तिपूर्ण आन्दोलनतिर मोडिएको थियो । यसका नेता मदन भण्डारीले २०४४ सालको महाधिवेशनमा संसदीय प्रतिस्पर्धाको प्रणाली स्वीकार गर्ने लाइन पास गराएपछि कांग्रेस र वामपन्थी मिलेर संयुक्त आन्दोलनको गर्ने बाटो खुलेको थियो ।

कालक्रममा कांग्रेस-४
बीपीको हत्या प्रयास गर्ने भरतशमशेर यसरी लागे कांग्रेसतिरै

उता, गिरिजाप्रसादले ‘मशाले’ भनेको पार्टी तत्कालीन नेकपा (चौथो महाधिवेशन) का घटक थिए । नेकपा (मसाल) मोहनविक्रम सिंह, चित्रबहादुर केसीहरूको पार्टी थियो । यो दल संयुक्त वाममोर्चामा थिएन । उता मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा (मशाल) थियो । यो पार्टी पनि संयुक्त वाममोर्चामा थिएन । उनीहरू संयुक्त वाममोर्चा र कांग्रेसको उग्रविरोधी थिए । उता निर्मल लामा नेतृत्वको नेकपा (चौम) भने संयुक्त वाममोर्चामा थियो र संविधान निर्माण प्रक्रियामा पनि सामेल थियो । उनीहरूले भने उग्ररूपमा कांग्रेसविरुद्ध प्रचार गरिरहेका थिए ।

तत्कालीन राजा महेन्द्रले विद्यार्थी आन्दोलन दबाउन झडपको स्थिति पैदा गर्न २०२४ सालमा ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ बनाएका थिए । यसको संस्थापक अध्यक्ष पदम ठकुराठी थिए । यो संगठनलाई तत्कालीन अञ्चलाधीशहरूले चलाउँथे । यो संगठनले प्रजातन्त्रको पक्षमा आन्दोलन गर्ने र संगठित भएका विद्यार्थी र अन्यलाई कुटपिट गर्ने र ज्यानैसम्म लिने गर्थे । त्यति बेला ‘मण्डले’ आतंकको पर्याय बनेको थियो । कमल थापा, दीपक बोहरालगायत पञ्चहरू यसैको उत्पादन थिए । २०३२ देखि २०३५ सालसम्म मण्डले विद्यार्थीको आतंकको बर्बर काल थियो । २०३६ सालको विद्यार्थी आन्दोलनको एउटा प्रमुख माग यो संगठनको खारेजी पनि थियो । २०३६ जेठ ७ मा शाही आयोगको निर्देशनबाट यो संगठन खारेज भयो ।

कालक्रममा कांग्रेस -५
…अनि कांग्रेस ‘समाजवादी’ भयो

कांग्रेस-कम्युनिष्ट दूरी बढ्दै गएपछि गिरिजाप्रसादको आवेगको अभिव्यक्ति थियो, ‘माले, मशाले र मण्डले एकै हुन् ।’ त्यतिबेला कतिपय स्थानमा कांग्रेस र कम्युनिष्टबीच ठूलै झडपको अवस्था आएको थियो । तत्कालीन राजा वीरेन्द्रले पनि यो फाटो ल्याउने भूमिका खेलेका थिए । कतै भने वर्चस्व कायम गर्न कांग्रेस र कम्युनिष्ट कार्यकर्ता भिड्ने अवस्था थियो ।

यो बेला दुवैतर्फका केही नेता भने संयमित पनि थिए । जस्तो, कांग्रेसका तत्कालीन युवा नेता रामचन्द्र पौडेलले साप्ताहिक विमर्शमा २०४७ असार १ गते एउटा लेख प्रकाशित गरेर यस्तो भनेका थिए, ‘एक दुई आमचुनाव सम्पन्न हुन्जेलसम्म, त्यो सम्भव नभए आउँदो चुनावसम्म र त्यति पनि नभए कसैगरी जनपक्षीय संविधान निर्माण नहुँदासम्म कायमै रहनुपर्ने कांग्रेस कम्युनिष्ट एकताको अवस्था अब के होला ? आ-आफ्ना तल्ला तहका कार्यकर्तालाई अनुशासन, संयम र सहिष्णुताको सीमाबाट बाँध्ने कि नबाँध्ने ?’

कालक्रममा कांग्रेस- ६
बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

तर, लगत्तै असार १० गते कांग्रेस र संयुक्त वाममोर्चाको सरकारप्रति विरोध जनाउँदै महामन्त्री गिरिजाप्रसादले भनेका थिए, ‘कांग्रेस कार्यकर्ताले अब हाम्रो कसैसँग कार्यगत एकता छैन भन्ने ठाने हुन्छ । विश्वमा सभ्य मानिस आफूलाई कम्युनिष्ट भन्न रुचाउँदैनन् । तर, यहाँका कम्युनिष्टहरू उही पुरानो छाता ओढ्न चाहन्छन् ।’

उनको भनाइले कांग्रेसमा पनि उग्रता बढ्यो । गाउँगाउँमा झगडा र झडप हुन थाल्यो । गुल्मीमा कांग्रेस र एमालेबीचको द्वन्द्व मिलाउन काठमाडौँबाट दमननाथ ढुंगाना र सीपी मैनालीको दुई सदस्यीय कार्यदल नै जानु परेको थियो । आमनिर्वाचनको तयारी भइरहँदा २०४७ माघ २५ गते प्युठानमा गिरिजाप्रसादविरुद्ध नै भौतिक हमला भयो । उग्र कम्युनिष्टहरूले उनको टोलीमाथि प्युठानको रातमाटेमा सभा भइरहँदा आक्रमण गरेका थिए । उक्त आक्रमणमा कांग्रेसका १४ कार्यकर्ता घाइते भएका थिए ।

प्युठानबाट फर्किने क्रममा पनि प्युठानको चर्नेटामा बम विस्फोट गराइ उनको टोलीलाई बाटोमा अवरोध गरी ढुंगामुढा गरेका थिए । गिरिजाप्रसादले त्यहाँ आफ्नो हत्या गर्ने योजना अनुरूप आक्रमण गरिएको बताएका थिए । यस्ता क्रियाकलापका कारण गिरिजा कम्युनिष्टहरूप्रति कहिल्यै उदार भएनन् ।

कालक्रममा कांग्रेस-७
कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय

त्यसको एक दशकपछि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर दलहरूलाई सडकमा पुर्‍याएपछि मात्र फेरि कांग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गरेका थिए । त्यसपछि गिरिजाप्रसादकै नेतृत्वमा बनेको संयुक्त सरकारमा वामपन्थीहरू पनि सहभागी भएका थिए । ‘जनयुद्ध’का नाममा हिंसात्मक आन्दोलनमा लागेका तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पनि उनको भूमिका रह्यो । विस्तृत शान्ति सम्झौताका दुई हस्ताक्षरकर्तामा एकजना माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्को व्यक्ति उनै तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला थिए ।

यसपछि माओवादीलाई तत्कालीन एमाले बराबर नै हैसियतमा गिरिजाप्रसादले नै उपस्थित गराइदिएका थिए । यसैकारण पनि पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि गिरिजाप्रसादलाई सार्वजनिक भाषणहरूमा सम्झिरहेका हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *