पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक, देउवा पनि आन्तरिक परामर्शमा
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज १४औँ महाधिवेशन शुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा तयार मञ्चमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्य तालिका छ ।
तर महाधिवेशन उद्घाटनका दिनसम्म (यो समाचार तयार गर्दासम्म) कांग्रेसको संस्थापन र इतर दुवै पक्षका नेताहरूले पार्टी सभापतिकै उम्मेदवारी निश्चित गर्न सकेका छैनन् । अन्य पदाधिकारीमा उठ्ने उम्मेदवार तोक्न पनि बाँकी नै छ ।
संस्थापन पक्षबाट प्रधान मन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि पनि पुनः सभापति पदमा उम्मेदवारी दिने निश्चित भए पनि विभिन्न नेता तथा समूहका अन्यले पनि यसमा प्रतिस्पर्धा गर्ने बताइरहेका छन् । यस्तै अन्य पदाधिकारीमा पनि धेरै जना आकांक्षी देखिएका छन् ।
महाधिवेशन सुरु हुनुअघि देउवा बालुवाटारमा आन्तरिक परामर्शमा छन् । पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन् ।
पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक
नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस परेको छ । नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आ-आफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न हम्मे परेको हो ।
यो पक्षको बैठक आज पनि बस्दैछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहान बत्तिसपुतलीमा बैठक बोलाएका हुन् । संस्थापन इतरबाट वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् ।
सहमति जुट्न नसकेपछि सिंहले शनिबार उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने बताइसकेका छन् । शेखरले पनि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् ।