शशांकलाई फकाउँदै छन् देउवा ?

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया शुरू हुँदैछ । संस्थापन र संस्थापनइतर पक्षको छुट्टाछुट्टै प्यानलबीच प्रतिस्पर्धा हुने निश्चितप्राय: भएकाे छ । यद्यपि उम्मेदवारहरूकाे टुङ्गाे भने दुवै पक्षले लगाइसकेका छैनन् ।

संस्थापनपक्षीय प्यानलको नेतृत्व बहालवाला सभापति शेरबहादुर देउवा स्वयम्‌ले नै गर्ने पक्कापक्की जस्तै भएकाे छ । यद्यपि उनलाई आफ्नै पक्षका उपसभापति विमलेन्द्र निधिले चुनाैती दिएका छन् । २ महिनाअगावै सम्पर्क कार्यालय खडा गरेर देउवालाई आफू ‘ब्याक’ नहुने सन्देश दिएका निधिले सभापतिकाे हैसियतमा प्रचारप्रसारसमेत शुरू गरिरहेका छन् ।

संस्थापनइतर पक्षले पनि साझा उम्मेदवार छान्न सकेकाे छैन । इतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालासम्म सभापतिका आकांक्षी छन् । यद्यपि पौडेल र शशांक भने सभापतिको ‘रेस’ बाट करिब करिब बाहिरिएका छन् ।

अहिले शेखर र प्रकाशमानलाई फकाएर दुईमध्ये एक जनालाई मात्रै सभापतिको टिकट दिन आन्तरिक छलफल शुरू भएकाे नेताहरूले बताएका छन् । तर दुवै जना आफ्नो अडानबाट पछाडि हटेका छैनन् । यहीबीच संस्थापनइतरका शशांकलाई संस्थापन पक्षले आफ्नो ‘टीम’ मा ल्याउने प्रयास थालेकाे छ ।

केही पहिलेदेखि नै शशांक देउवा प्यानलमा छिर्ने चर्चाकाबीच पुनः उनी देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने होहल्ला कार्यकर्तामाझ फिजिँएकाे छ ।

तर कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने कुनै छलफल नभएको भन्दै सबै होहल्ला मात्रै भएको दाबी गरेका छन् । ‘त्यस्तो केही भएको छैन । सबै होहल्ला हुन्,’ उनले भने, ‘अहिले कतै जाने वा नजाने कुरा भएको छैन । चुनावका बेला यस्ता होहल्ला चलिरहन्छ ।’

देउवा पक्षका एक नेताले भने कोइराला संस्थापन पक्षबाटै महामन्त्रीमा उठ्ने दाबी गरे । ‘देउवा प्यानलबाट उहाँ महामन्त्री भन्ने कुरामा छलफल भएको छ । तर निर्णय होइन,’ ति नेताले भने, ‘कुरा भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *