ओली, प्रचण्ड र नेपाललाई एउटै मञ्चमा बसायाे कांग्रेसले

काठमाडौँ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई फ्याक भएपछि पहिलो पटक नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनकाे उद्घाटन समाराेहमा उनीहरू एउटै मञ्चमा देखिएका हुन् ।

तत्कालीन नेकपामा ओली–प्रचण्ड अध्यक्षको भूमिकामा थिए भने नेपाल वरिष्ठ नेताकाे जिम्मेवारीमा थिए । फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई दुई फ्याक बनाएपछि एमाले र माओवादी ब्यूँतिएका छन् ।

नेपालले भने छुट्टै दल एकीकृत समाजवादी गठन गरेका छन् । जसमा नेपाल र प्रचण्डले नेतृत्वकाे पार्टीहरू एकीकृत समाजवादी र माओवादी कांग्रेससँगै सरकारमा सहभागी छन् भने ओलीले नेतृत्वकाे पार्टी एमाले प्रमुख प्रतिपक्षकाे भूमिकामा छ ।

ओलीले प्रधान मन्त्रीको हैसियतले २ पटक संसद् विघटन गरेपछि चिसिएको ३ नेताहरूबीचको सम्बन्ध अझै सुधार भएको छैन । यद्यपि प्रचण्ड र नेपाल भने नेकपा चिरा परेपछि पनि केही समयसम्म एकै मञ्चमा देखिएका थिए । उनीहरूबीच वर्तमान समयमा राम्रै राजनीतिक सम्बन्ध छ ।

लामाे समयदेखि एमालेमार्फत सहकार्य गर्दै आएका ओली र नेपालबीच झन्डै ७ महिनायता भेटघाट भएकाे छैन । उनीहरूले अहिले पनि विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदाताका आपसलाई आराेप लगाउने गरेका छन् ।

तीन नेताहरू एउटै मञ्चमा देखिएसँगै अब उनीहरूले कसरी सम्बाेधन गर्छन् र आपसमा के के भन्छन् भन्ने आमचासाे बढेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *