ओली, दाहाल र नेपाल : महिनाैंपछि एकै मञ्चमा, तर एकअर्काको नाम पनि लिएनन्

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूलाई पनि बोलाइएको थियो । जसमा थिए‚ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।

कुनै समयमा सहयात्री यी तीन नेताहरूबीचको सम्बन्ध हार्दिकतापूर्ण छैन । खासगरी नेकपा विभाजनपछि त उनीहरू एक-अर्काको उछितो काड्नमै व्यस्त देखिन्छन् । सार्वजनिक समारोहहरूमै एक-अर्काविरुद्ध क्षुद्र वचन बोल्छन् र चर्का आरोप प्रत्यारोप गर्छन् ।

यस्तोमा, करिब १ वर्षदेखि एकै मञ्चमा नदेखिएका ओली र प्रचण्ड तथा करिब ६ महिनादेखि मञ्च सेयर नगरेका ओली र नेपाललाई कांग्रेसले एकै मञ्चमा बसायो । तर उनीहरूबीचको सम्बन्ध भने हार्दिक देखिएन । कार्यक्रम सुरु भएको निकैबेरपछि मात्र मञ्चमा ओली पुगे । उनी पुग्दा कांग्रेसका कार्यकर्ताहरूले हुटिङ गरेर स्वागत गरे ।

उनी नमस्कार गर्दै मञ्चमा उक्लिँदा दाहालले अर्कोतिर मुन्टो फर्काए भने माधव नेपालले देखेको नदेख्यै गरे । ओली देउवाको दायाँतिर बसे । दाहाल र नेपाल बायाँतिर थिए । ओलीले देउवातिर फर्केर बोल्न थाल्दा दाहाल अर्कोतिर फर्किए ।

बोल्ने पालो तीनजनामा नेपालको पहिले आयो । उनले सम्बोधनका क्रममा ओलीको नाम लिएनन् । पूर्वप्रधान मन्त्रीहरू भने र एकमुष्ठमा सम्बोधन गरे । त्यसपछि बोलेका दाहालले पनि पूर्वप्रधान मन्त्रीहरू भनेर एकमुष्ट सम्बोधन गरे । त्यसपछि बोलेका ओलीले त पूर्वप्रधान मन्त्रीहरू पनि नभनी विभिन्न दलका प्रतिनिधिहरू भने र सम्बोधन गरे ।

उनले प्रचण्डले हामी सँगै हिँड्नुपर्छ भन्ने भनाइप्रति व्यङ्ग्यसमेत गरे । उनले भने‚ ‘यहाँ कसैकसैलाई कांग्रेसको औँला समाउन पाइएन भने हिँड्न पाइँदैन भन्ने पीर छ, जहिले पनि सँगै हिँडौँ भन्नुहुन्छ, सँगै हिँड्ने सरकारमा जानका लागि मात्र हो कि देश विकासका लागि पनि हो ? देश विकासका लागि हो भने एमाले पनि कांग्रेसको साथमै छ ।’

तर संबाेधन सकेर मञ्चबाट बाहिरिने क्रममा भने ओली र प्रचण्डबीच नमस्कार आदानप्रदान भयाे । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई नमस्कार गर्दै बिदा हुने क्रममा प्रचण्ड र ओलीबीच पनि नमस्कार आदान प्रदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *