कांग्रेस महाधिवेशन: १३४ पदमा उम्मेदवारी दर्ता आज

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन समारोहपछि बन्दसत्र शुरु गरिएको कांग्रेस महाधिवेशनअन्तर्गत आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । ‘बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ,’ उनले भने, ‘मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि भोलि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।’

भोलि नै अन्तिम नामावली प्रकाशन गरेपछि पर्सि (सोमबार) बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । नेपाली काँग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ । सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुनेछ ।

त्यसैगरी १२१ जना केन्द्रीय सदस्य निर्वाचनबाट छानिने छन् । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था काँग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन् ।

सभापतिका लागि ३० हजार शुल्क
नेपाली काँग्रेसका पदाधिकारीमा उम्मेदवारी दिन छुट्टा-छुट्टै शुल्क निर्धारण गरिएको छ । सचिव शर्माका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ ।

‘उपसभापति र महामन्त्री २५-२५ हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ,’ निर्वाचन समिति संयोजक घिमिरेले भने, ‘सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ ।’

प्रतिक्रिया

One thought on “कांग्रेस महाधिवेशन: १३४ पदमा उम्मेदवारी दर्ता आज

  1. सहमतिबाट चयन गर्दा राम्रो हुन्छ होला …
    एउटै पार्टी चुनाब किन हजुर मोका सबैले पाउनु पर्यो युवा पिडि को नेतृत्व हुनु पर्यो जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *