उम्मेदवार टुङ्ग्याउन पौडेल निवासमा बैठक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भइसक्दा पनि संस्थापन र इतर दुवै पक्षले उम्मेदवार निश्चित गर्न सकेका छैनन् । आकांक्षीहरु धेरै हुँदा पटक-पटकका बैठक र आन्तरिक परामर्शबाट पनि उम्मेदवार टुङ्ग्याउन नसकिएको हो ।

संस्थापन पक्षबाट प्रधान मन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि पनि पुनः सभापति पदमा उम्मेदवारी दिने निश्चित भए पनि विभिन्न नेता तथा समूहका अन्यले पनि यसमा प्रतिस्पर्धा गर्ने बताइरहेका छन् । यस्तै अन्य पदाधिकारीमा पनि धेरै जना आकांक्षी देखिएका छन् ।

देउवा आन्तरिक परामर्शमा छन् । पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन् ।

पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक
नेपाली कांग्रेसको संस्थापनइतर पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस परेको छ । नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आ-आफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न हम्मे परेको हो ।

यो पक्षको बैठक आज पनि बस्दैछ । सभापतिसहित पदाधिकारीको टुङ्गो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा आकांक्षी सहितको बैठक डाकिएको हो । तर सभापतिका आकांक्षी प्रकाशमान सिंह भने बैठकमा नजाने भएका छन् ।

शुक्रबार पनि उनी फुडल्याण्डको बैठकमा केहीबेर बसेर निस्किएका थिए । शेखर कोइराला छिरेपछि सिंह निस्केका हुन् । सिंहले पदाधिकारी सहितका उम्मेदवार १० बजे घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *