छोरा स्नातकोत्तर पढ्ने भइसक्दा दुर्गादेवीले १२ पास गरिन्

काठमाडौँ । ‘रहरले उमेर नभन्ने रहेछ आवश्यकताको कुनै सीमा नहुने रहेछ ।’ ४६ वर्षको उमेरमा भर्खरै १२ कक्षा पास गरेकी दुर्गाले टेलिफोनमा सुनाइन् । उमेरले ४० काटिसक्दा पनि उनलाई १२ कक्षा उत्तीर्ण गर्नैपर्ने आवश्यकता पर्‍यो । त्यसैले त उनले ठम्याएकी हुन्- आवश्यकताहरू सीमित नहुने रहेछन् ।

दुर्गादेवी तेह्रथुमको सरस्वती आधारभूत विद्यालय म्याङ्लुङ ६ सुर्केमा २०५८ सालदेखि बाल शिक्षक छन् । दुर्गादेवीको परिवारमा चारजना छन् । उनका जेठा छोरा स्नातकको अध्ययन छोडेर रोजगारीको लागि पोर्चुगल पुगेका छन् । कान्छा छोरा स्नातकोत्तर तह अध्ययनको तयारीमा छन् । उनी भने ४० वर्ष कटेपछि थप पढ्न कस्सिइन् । घर व्यवहारको चटारो, वस्तुभाउको हेरचाह, खेतीपाती, जागिर सबैले घेरिएकी दुर्गादेवीले परिवारको हौसला र आफ्नो मेहनतले गर्दा यसपटक १२ उत्तीर्ण गरिन् ।

वाल विकास पढाउँदा नै जीवन बित्छ भन्ने निष्कर्ष निकालेपनि एसएलसी मात्र पास गरेकाले वाल विकास पढाउन नपाउने जस्तो स्थिति आएपछि १० वर्षअघि नै दुर्गाले प्लस टु मा भर्ना हुने योजना बनाएकी थिइन् । तर पढ्ने समय मिलाउन नसक्ने भएपछि त्यो सम्भव नभएको उनले बताइन् । १० बर्सपछि बुढेसकाल लाग्न थालेपछि भने दुर्गादेवी परिवार र विद्यालयमा सहकर्मीको हौसला पाएपछि आफूले उच्च शिक्षा शुरु गर्ने अठोट गरेको बताउँछिन् ।

दुर्गा भन्छिन्, ‘मेरा श्रीमान्ले पनि लेखपढ गर्नु भएको छैन तर मलाई भने पढ तिमीले सक्छ्यौ भन्नुभयो, छोराहरूले पनि रहर छ भने पढ्ने कुरालाई उमेरले छेक्दैन भनेर हौसला बढाइदिए । त्यसपछि दुई दशकभन्दा अघि बिट मारेको काममा म फर्किएँ ।’

‘दरबन्दीमा पर्न सकिन्छ की भन्ने अपेक्षाले गर्दा पनि मैले पढ्ने नै निर्णय गरेकी हुँ’ दुर्गादेवीले मकालुखबरसँग बताइन् । दुर्गाले कालिका उच्च माध्यमिक विद्यालय जिरिखिम्ती तेह्रथुमबाट कक्षा १२ उत्तीर्ण गरेकी हुन् ।

बुढेसकालमा फेरी पढ्न थाल्दाको अनुभव भने त्यति सुखद छैन दुर्गाको । दुर्गाले बताइन्, ‘पहिला हामीलाई शिक्षकले भनेको कुरा सबै सजिलै याद हुन्थ्यो । सबै सम्झिएर लेख्न सकिन्थ्यो । तर अहिले त सम्झनै गाह्रो । एक पटक घोक्दा याद हुने कुरा दशौँ पटक घोक्दा पनि याद नै नहुने रहेछ । लेख्ने बानी हराउँदै गएर होला लेख्न पनि साह्रै गाह्रो हुने रहेछ । लेख्दा लेख्दै हात दुख्ने, हात गल्ने हुँदो रहेछ । एक–दुई मिनेट लेख्दै हात मालिस गर्दै फेरी लेख्दै गरेँ । अहिले पढाउँदा पनि त्यति धेरै लेख्नुपर्दैन त्यसैले होला बानी हराउँछ अनि ३ घण्टासम्म लेख्दा हात नै बाउँडिने रहेछ ।’

छोराको विवाह गर्ने बेलामा यो कस्तो रहर हो ? ‘मर्ने बेलामा हरियो काँक्रो’ भन्दै दुर्गादेवीलाई खिसीटिउरी गर्नेहरू पनि नभएका होइनन् । ‘यो उमेरमा पढेर के फाइदा ?’ ‘बुढेसकालमा किन दुख बिसाउनुपर्‍यो’ भन्ने प्रश्न गर्नेहरू पनि कम थिएनन् । दुर्गाले गुनासो पोखिन्, ‘कहिलेकाहीँ त हो अब पढेर के गर्नु छ र बेकार भन्ने पनि लाग्थ्यो । तर पढ्नु मेरो बाध्यता पनि थियो । त्यसैले चलिसकेको जाँगर मार्नपट्टी म लागिन । नतिजा उत्कृष्ट छैन तर पनि सन्तुष्ट छु ।’

दुर्गादेवीले आफ्नो अध्ययनको दायरा यति मा नै सीमित नबनाउने अठोट गरेकी छिन् । उनले बालविकास पढाउन सुरु गरेको २० वर्ष पुग्नै लाग्यो । मासिक ६ सय रुपैयाँबाट सुरु गरेको कामबाट अहिले मासिक ६ हजार मात्र तलब पाउँछिन् । यति कम तलबमा काम गर्दागर्दै हैरान भएर आफूले योग्यता बढाउन पाए माथिल्लो तहसम्मलाई पढाउन सकिन्थ्यो की भनेर पनि पढ्ने अठोट गरेको उनी बताउँछिन् । अब आफ्नो घर, व्यवहार, जागिर, बस्तुभाउ, खेतीपाती सबै व्यवस्थापन गरेर अब स्नातक तह पनि पढ्ने दुर्गाको रहर छ ।

तर उनलाई केही समस्या पनि छ । दुर्गा भन्छिन्- ‘समय व्यवस्थापन गर्न नै कठिन छ । त्यसैमाथि अब छोरा पढाउनु की आफै पढ्नु ? खर्च पनि त जोहो गर्नुपर्छ । शिक्षण पेसामा नै यती धेरै समय बिताउँदा पनि खुशी लाग्ने र सन्तुष्ट हुने आधार नै छैन । जागिर स्थायी पनि होइन । त्यसैले अब पढ्न उपयुक्त वातावरण, आर्थिक जोहो र जाँगर समेत जुटाउनुपर्नेछ । सिकाई र ज्ञानले कुनै उमेर नभन्ने भएकाले बाचुन्जेल सिक्ने, पढ्ने, लेख्ने इच्छा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *