गगन भन्छन्:

‘कांग्रेसमा ठूलो परिवर्तन चाहिएकाले शेखरको प्यानलमा उभिएँ’

रामचन्द्र पाैडेललाई पार्टीले उच्च सम्मान दिनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् जारी १४‍औं महाधिवेशनकाे महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफूले कांग्रेसमा ठूलाे परिवर्तन आवश्यक परेकाे र त्यसकै लागि आफू शेखर काेइरालाकाे प्यानलमा रहेकाे बताएका छन् ।

मनोनयन दर्तापछि सभा गृह प्राङ्गनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले भने— ‘आफू किन कहाँ उभिएँ भन्नेबारे सबै साथीहरूकाे जस्टिफिकेशन होला, मेरो पनि छ । म लामो समयदेखि कांग्रेसभित्र ठूलो परिवर्तन जरूरी छ भनेर लागेको र काम गर्दै आएको व्यकित हुँ । त्यसैका लागि म अहिलेको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेको हुँ ।’

अघिल्लो पटक उम्मेदवार बन्दा आफूलाई धेरै अग्रजहरूले ‘तिमीलाई महामन्त्री बनाउने रहर थियाे, तर अलिक बेला भएकाे छैन’ भनेर भनेकाे स्मरण गर्दै उनले भने— ‘अहिले सबै साथीहरू याेग्य हुनुहुन्छ । अब प्रतिनिधिहरूले कसलाई अनुमाेदन गर्नुहुन्छ भन्ने मात्रै हेर्न बाँकी छ ।’

अर्को प्रसंगमा थापाले रामचन्द्र पौडेल एक प्रवृत्तिको प्रतीक भएको बताए । उनलाई पार्टीले उच्च सम्मान गर्नुपर्ने थापाकाे भनाइ छ । ‘जसरी गणेशमानलाई सम्झियो,  त्यसैगरी रामचन्द्र पौडेललाई पनि सम्झनुपर्छ । प्रतिस्पर्धा गर्ने/नगर्ने भन्नेबाट माथि उठेर त्यो उचाइ उहाँले सिर्जना गरिसक्नुभयो । हामीले उहाँलाई नै प्रतिस्पर्धा गर्ने साझा उम्मेदवार बनाउन प्रयास गरेका थियौँ । तर केही साथीहरू मान्नुभएन र सम्भव भएन, म पनि कुनै समय उहाँभन्दा टाढा पनि रहे हुँला । कतिपय कुरामा असहमति मेरा पनि रहे होला, तर अब उहाँ एक मानक बन्नुभएको छ । उहाँको उच्च सम्मान पार्टीले गर्नुपर्छ,’ थापाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *