नेपालको बंगलादेशसँग सङ्घर्षपूर्ण बराबरी

काठमाडौँ । साफ यू-१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश सँग सङ्घर्षपूर्ण रूपमा गोलरहित बराबरी खेल्न सफल भएको छ। निकै राम्रो लयमा देखिएको घरेलु टोली नेपाली गोलरक्षक तथा कप्तान अञ्जना राना मगरको उत्कृष्ट प्रदर्शनका अगाडि भने कमजोर साबित भयो।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा उपाधि दाबेदार बंगलादेशले अधिकांश समय खेल नियन्त्रणका बाबजुद एकपछि अर्को गोलका प्रयास गरेको थियो। खेलको सुरूवातबाट नै घरेलु टोली बंगलादेशले नेपालमाथि दबाब बढाएको थियो। तर नेपाली गोलरक्षक तथा कप्तान अञ्जना रानामगरले पहिलो तथा दोस्रो हाफमा एकपछि अर्को राम्रो प्रहार क्लियर गर्दै टीमको सङ्कट टारेकी थिइन्।

खेल अवधिभर निकै व्यस्त देखिएकी अञ्जनाले अन्तिम सम्म नेपाललाई जोगाएकी थिइन। नेपालले खेलमा एउटा पनि खतरनाक मुभ बनाउन सकेन। नेपाली चेलीहरू बंगलादेश सामु सबै क्षेत्रमा निरीह देखिएका थिए। जसले गर्दा नेपाललाई बंगलादेशको बल क्लियर गर्न मानै व्यस्त देखियो।

दोस्रो हाफमा बंगलादेशले कर्नरमा पाएको मौकालाई विमला विकले गोल लाइनबाट क्लियर गर्दा ५३ औ मिनेटमा गोल खानबाट नेपाल जोगियो। बंगलादेशकी मोनिका चाक्माले खेल सकिन केही मिनेट बाँकी रहँदा गरेको शक्तिशाली प्रहारलाई नेपाली गोलरक्षक अञ्जना रानामगरले शानदार बचाउ गर्दै अन्तिम सङ्कट टारेकी थिइन्।

बंगलादेशकी मारिया मान्दाले गरेको केही उत्कृष्ट प्रहार पनि अञ्जनाले क्लियर गरिन। त्यसअघि पहिलो हाफमा नेपाली किशोरी दिपा शाही घाइते भएपछि उनलाई तत्कालै अस्पताल लग्नु परेको थियो। प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल,  भुटान,  भारत र श्रीलंकाले प्रतियोगितामा सहभागिता जनाएका छन्।

शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन्। नेपालले दोस्रो खेलमा १५ डिसेम्बरमा श्रीलंकासँग खेल्ने छ। त्यस्तै १७ डिसेम्बर मा भुटान र समूह चरणको अन्तिम खेलमा १९ डिसेम्बर मा भारतसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको फाइनल २१ डिसेम्बरमा हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *