प्लास्टिकको ट्याङ्कीमा प्वाल पारेर मतपेटिका तयार, कति दिनमा आउँछ परिणाम ?

काठमाडौँ । आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्न भोलि मतदान हुँदै छ । सभापतिसहित १३४ जनालाई चुन्न ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने भएका हुन् ।

मतदान कागजी मतपत्रमा स्वस्तिक छाप लगाएर हुनेछ । उक्त मतपत्र खसाल्न प्लास्टिकको ट्याङ्कीको मतपेटिका बनाएको छ । हरियो रङ्गका ट्याङ्कीको बिर्कोमा मत खसाल्न मिल्ने गरी प्वाल पारेर मतपेटिका बनाएको हो ।

देशको सबैभन्दा जेठो पार्टीले प्रविधिको जमानामा मतदानको पुरानै अभ्यास दोहोर्‍याएको छ । भर्खरै चितवनमा सम्पन्न नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरी नेतृत्व चयन भएको थियो । तर, कांग्रेस नेतृत्वले यसमा विश्वास गरेन ।

२९ प्रकारका मतपत्र
कांग्रेसको महाधिवेशन निर्वाचन समितिले आइतबार दिउँसो १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मतपत्र प्रकाशन तथा निर्वाचन स्थलको व्यवस्थापनमा काम थाल्नेछ । निर्वाचनका लागि २९ प्रकारका ५ हजार मतपत्र प्रकाशन गरिने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । महाधिवेशनमा मंसिर २७ गते बिहान ८ बजेबाट मतदानको प्रक्रिया शुरु हुनेछ । भोट खसाल्नका लागि ३ ठाउँमा मतदान स्थल बनाउने तयारी थालिएको छ ।

याे पनि : १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी

निर्वाचन समितिका सदस्य श्रेष्ठका अनुसार राष्ट्रिय सभागृह परिसरमा १३ सय मतदाताका लागि ठाउँ छुट्टाइएको छ । यस्तै भृकुटीमण्डपको हलमा हल २१ सय मतदाताका लागि मतदान स्थल बनाइदैछ भने भृकुटीमण्डपको खुला भागमा १३ सय मतदाताका लागि मतदान केन्द्र बनाइँदै छ । कुन-कुन प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिले कुन-कुन मतदान केन्द्रमा गएर भोट खसाल्ने भन्नेबारे सूचना जारी हुने उनले बताए ।

मतदान शुरु भएको ५ देखि ७ घण्टामा सकिने अनुमान गरिएको संयोजक घिमिरेले जानकारी दिए । कांग्रेस प्रतिनिधिले सभापति सहित दुई उपसभापति, दुई महामन्त्री र समावेशी सहित आठ सह(महामन्त्रीका लागि पदाधिकारीमा मतदान गर्नेछन् ।

मतदानबाट खुल्ला ३५, महिला, मधेसी र दलित ९-९, हरेक प्रदेशबाट ३ जना सहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु ४ मुस्लिम ३ र पिछडिएको क्षेत्र, अपाङ्ग र अल्पसङ्ख्यकबाट १-१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने व्यवस्था छ ।

परिणाम आउन कति दिन ?
समिति सदस्य श्रेष्ठले महाधिवेशनमा एक साताभित्रै मतगणनाको परिणाम सार्वजनिक गरिसक्ने आफूहरूको लक्ष्य रहेको बताए । अघिल्लो महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यहरूको मत परिणाम आउन दुई हप्तासम्म लागेको थियो ।

सबैभन्दा अन्तिममा खुला केन्द्रीय सदस्यको मतगणना गर्ने योजना निर्वाचन समितिको छ । कांग्रेसमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने पार्टी विधानको व्यवस्था छ । उम्मेदवारहरूले पार्टी कार्यालयबाट आफ्नो सदस्यता अवधि प्रमाणित गरेर ल्याएपछि मात्रै मनोनयन दर्ता गर्न पाउने निर्वाचन समितिले जनाएको छ ।

थप : यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *