कांग्रेसको जरोकिलो अर्थात् तराई-मधेस
नेपाली कांग्रेसको इतिहासमा आमनिर्वाचनमार्फत चुनिएर पाँच जना प्रधानमन्त्री भएका छन् । तीमध्ये चार जनालाई तराई-मधेसले निर्वाचित गरेर पठाएको थियो । भलै उनीहरू ‘मधेसी’ समुदायका भने थिएनन् ।
२०१५ सालमा क्षेत्र नं. ३२ मोरङबाट निर्वाचित भएपछि बीपी कोइराला प्रधानमन्त्री भएका थिए । २०४८ सालमा मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ३ बाट विजयी भएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । २०५६ सालमा कृष्णप्रसाद भट्टराई पर्सा क्षेत्र नं. १ बाट र २०७० सालमा सुशील कोइराला बाँके क्षेत्र नं. ३ बाट संविधानसभामा निर्वाचित भएर प्रधानमन्त्री भए । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा मात्र पहाडी जिल्ला डडेलधुराबाट निर्वाचित हुने गरेका छन् ।
कालक्रममा कांग्रेस -१
नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व
नेपाली कांग्रेसले गरेको आन्दोलनको सुरुवात विन्दु होस् वा देशभित्र पहिलो पटक गरेको पाँचौँ महाधिवेशन, तराई-मधेसले नै साथ दिएको थियो । त्यति मात्र नभई, आमनिर्वाचनबाट जतिपटक कांग्रेस सरकारमा पुगेको छ, तराई-मधेसले साथ दिएको छ । हरेकपटक तराई-मधेसले कांग्रेसलाई उल्लेख्य मत दिने गरेको छ । यसको कारण कांग्रेसले तराई-मधेसमा बनाएको बलियो जग नै हो ।
कांग्रेसमा तराई-मधेसका धेरै नेता जन्मिए । ती नेता पार्टीको शीर्ष स्थानमा पनि पुगे । तर, मूल नेतृत्वमा भने मधेशी समुदायका कुनै पनि नेता पुग्न सकेनन् । नेता विमलेन्द्र निधि मधेसी समुदायबाट नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हुने पहिलो नेता बनेका छन् ।
कालक्रममा कांग्रेस-२
२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध
२००७ सालको क्रान्तिपछि बनेको सरकारमा कांग्रेसबाट भद्रकाली मिश्र मन्त्री बनेका थिए । उनी पहिलो मधेसी मन्त्री हुन् । परशुनारायण चौधरी, महेन्द्रनारायण निधि महामन्त्री भए । डा. रामवरण यादव सहमहामन्त्री भए भने महन्थ ठाकुर, चित्रलेखा यादव र सीतादेवी यादव कोषाध्यक्ष भए । विमलेन्द्र निधि र विजयकुमार गच्छदार अहिले पार्टी उपसभापति छन् ।
तर, कांग्रेसलाई जग दिने तराई-मधेसलाई व्यक्तिमा मात्र बुझ्न सकिँदैन । सिङ्गो आन्दोलनको इतिहास तराई–मधेसबाट सुरु हुन्छ । वि.सं. २००३ माघ १२ र १३ मा कलकत्तामा भएको सम्मेलनबाट नेपाली राष्ट्रिय कांग्रेसको स्थापनालगत्तै विराटनगरमा मजदुर आन्दोलन चर्कियो । मजदुर युनियनका अध्यक्ष गिरिजाप्रसाद कोइरालासहित चार नेता पक्राउ परे । उक्त आन्दोलन हाँक्न कलकत्ताबाट बीपी कोइराला विराटनगर पुगे । तर, उनी पनि पक्राउ परे । त्यसविरुद्ध २००४ वैशाखमा राष्ट्रिय कांग्रेसले सत्याग्रह थाल्यो । यो नै कांग्रेसको पहिलो सत्याग्रह आन्दोलन थियो ।
कालक्रममा कांग्रेस-३
यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन
२००७ सालमा क्रान्ति गर्ने निर्णय भारतको बैरगनियाँ सम्मेलनले गरेको थियो । उक्त सम्मेलन गराउने प्रमुख नेतामा रामनारायण मिश्र र महेन्द्रनारायण निधि थिए । जनक्रान्तिमा कांग्रेसले सबैभन्दा पहिलो आक्रमण तराई-मधेसको वीरगञ्जमा भएको थियो, जहाँ थिरबम मल्ल शहीद भएका थिए । दोस्रो आक्रमणमा भने कांग्रेसले वीरगञ्ज कब्जा गरेको थियो ।
कांग्रेसका चारवटा अधिवेशन भारतमा भए । देशमा प्रजातन्त्र आएपछि पाँचौँ अधिवेशन पहिलो पटक नेपालमै हुँदा जनकपुरले त्यो अवसर पायो । २००९को जेठमा जनकपुरमा सम्पन्न अधिवेशन विफल गराउन भद्रकाली मिश्रको एउटा समूहले हुलदङ्गा नै गरेको थियो । तर, त्यो समूहलाई रोक्न कांग्रेस सफल भयो । त्यतिबेला जनकपुरसमेत समावेश महोत्तरी जिल्लाको सभापति महेन्द्रनारायण निधि र सचिव सरोजप्रसाद कोइराला थिए । उनीहरूसहितको ५१ सदस्यीय महाधिवेशन तयारी समिति गठन भएको थियो ।
कालक्रममा कांग्रेस-४
बीपीको हत्या प्रयास गर्ने भरतशमशेर यसरी लागे कांग्रेसतिरै
त्यसै गरी छैटौँ महाधिवेशन २०१२ माघ १०-१२ वीरगञ्जमा भएको थियो । यो महाधिवेशनबाट नेपाली कांग्रेसले औपचारिक रूपमा समाजवादी नीति अख्तियार गरेको थियो । २०१४ जेठ ११ र १२ गते भएको इतिहासकै एक मात्र विशेष महाधिवेशन विराटनगरमा भएको थियो । यो महाधिवेशनबाट बीपी पुनः सभापतिमा सर्वसम्मत भएका थिए । महाधिवेशनले तराई-मधेसका रामनारायण मिश्र, परशुनारायण चौधरी, सूर्यनाथ दास यादवलगायत केन्द्रीय सदस्य भएका थिए ।
२०१५ सालको निर्वाचनमा उल्लेख्य सफलता
२०१५ सालको आम निर्वाचनमा कांग्रेसले कुल १०९ निर्वाचन क्षेत्रमध्ये देशभरबाट ७४ सिटमा विजय हात पारेको थियो । त्यतिबेला मधेसका ३५ सिटमध्ये २४ वटामा कांग्रेस विजयी भएको थियो । प्रधानमन्त्री भएका बीपी मोरङबाट विजयी भएका थिए ।
कालक्रममा कांग्रेस -५
…अनि कांग्रेस ‘समाजवादी’ भयो
त्यसैगरी तीन क्षेत्रबाट विजयी भएका सुवर्णशमशेरको दुई क्षेत्र मधेस र एक क्षेत्र पहाड थियो । उनी मधेसका क्षेत्र नं. ५२ बारा मध्य-उत्तर र क्षेत्र नं. ५३ बारा पश्चिम पर्साबाट विजयी भएका थिए । अर्का नेता महेन्द्रनारायण निधि क्षेत्र नं.४३ जनकपुरबाट निर्वाचित भएका थिए । उनी तत्कालीन संसद्मा उपसभामुख भएका थिए ।
त्यसैगरी उक्त निर्वाचनमा तराई-मधेसबाट फत्तेबहादुर बुढाथोकी, चेतुलाल चौधरी, ज्ञानचन्द्र सरदार, नागेश्वरप्रसाद सिंह, सूर्यनाथ दास यादव, माधवप्रसाद रेग्मी, रुद्रप्रसाद गिरी र रामनारायण मिश्र पनि विजयी भएका थिए । मिश्र बीपी नेतृत्वको सरकारमा मन्त्री पनि भएका थिए । त्यसैगरी तराईबाटै सरोजप्रसाद कोइराला, वेणीमाधव सिंह, भागवत यादव, विश्वबन्धु थापा, पृथ्वीराज कँडेल, शिवप्रसाद शाह, परशुनारायण चौधरी, ललित चन्द, राधाकृष्ण कोठिया, लोकेन्द्रबहादुर शाही पनि विजयी भए । कांग्रेसका सबै शीर्ष नेताले जित्दा पहाडी चुनाव क्षेत्रबाट उठेका कृष्णप्रसाद भट्टराई र सूर्यप्रसाद उपाध्याय मात्र पराजित भएका थिए ।
अधिकांश निर्वाचनमा तराई-मधेसकै भर
२०४६ सालमा प्रजातन्त्र पुनः स्थापनापछि भएका तीन निर्वाचनमा पनि तराई-मधेसले कांग्रेसलाई निराश बनाएन । २०४८ सालमा भएको निर्वाचनमा कुल २०५ निर्वाचन क्षेत्रमध्ये ८३ सिट तराई-मधेसमा थिए । तीमध्ये ४७ सिटमा कांग्रेस विजयी भएको थियो । जसको बलमा कांग्रेसले बहुमत ल्याएको थियो ।
कालक्रममा कांग्रेस- ६
बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान
२०५१ सालको मध्यावधि निर्वाचनमा भने कांग्रेसको सिट सङ्ख्या केही घट्यो । त्यसो त कांग्रेस समग्रमै खुम्चिएको थियो । २०५ क्षेत्रमध्ये कांग्रेसले ८३ सिट मात्र ल्याएको थियो । जसमध्ये तराईका ८३ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ३८ वटामा जित हासिल ग¥यो । तर, २०५६ को निर्वाचनमा फेरि कांग्रेस लयमा आयो । उक्त निर्वाचनमा तराईका ८३ मध्ये ५८ सिटमा कांग्रेस विजयी भएको थियो ।
२०६४ सालका संविधान सभा निर्वाचनमा भने नेपाली कांग्रेसले तराई-मधेसबाट अप्रत्याशित नतिजा बेहोर्नुपर्याे । उक्त निर्वाचनमा २४० वटा क्षेत्र कायम थिए । जसमध्ये तराईमा ११६ वटा क्षेत्रमध्ये कांग्रेसले जम्मा १६ वटा क्षेत्रमा मात्र विजय हासिल गर्याे । यो निर्वाचनमा कांग्रेका तत्कालीन कार्यवाहक सभापति सुशील कोइराला पनि बाँके-३ बाट पराजित भएका थिए । तर, उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ जितेका ३७ मध्ये १६ सिट तराई-मधेसबाटै थिए ।
कालक्रममा कांग्रेस- ७
कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय
दोस्रो संविधानसभा निर्वाचनमा तराई-मधेसले फेरि कांग्रेसलाई विश्वास गर्याे । मधेसका कुल ११६ मध्ये ४१ क्षेत्रमा कांग्रेस विजयी भयो । त्यसपछि २०७२ सालमा संविधान जारी भएपछि २०७४ सालमा भएको आमनिर्वाचनमा दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेका थिए । उक्त निर्वाचनमा कांग्रेसले ठूलो पराजय भोग्नु परेको थियो । कुल १६५ प्रत्यक्ष निर्वाचन हुने क्षेत्रमध्ये कांग्रेसले २३ स्थानमा मात्र जित्यो । तर त्यसमध्ये १६ सिट भने मधेसबाटै थियो । मधेसमा कुल ७८ निर्वाचन क्षेत्र थिए ।
यी हुन् तराईका हस्ती नेता
स्थापनाकालमा नै रामनारायण मिश्र, भद्रकाली मिश्र, महेन्द्रनारायण निधिजस्ता नेता नेपाली कांग्रेसमा थिए । २००७ सालको क्रान्तिमा उदयपुर र जनकपुर कब्जा भएपछि कांग्रेसले माघ ४ गते जनसरकार बनाएको थियो । त्यस क्षेत्रको जनसरकारको गभर्नर रुद्रप्रसाद गिरी र प्रधानमन्त्री महेन्द्रनारायण निधि थिए ।
२०१७ सालसम्ममा तत्कालीन महोत्तरी जिल्लाबाट कांग्रेसमा धेरै नेता थिए । त्यसबखतदेखि नै मधेसमा कांग्रेसको वर्चस्व कायम गर्न निधि, मिश्रसहित बोधप्रसाद उपाध्याय, महेश्वर सिंह, सरोज कोइराला, रुद्रप्रसाद गिरी, भोजराज घिमिरे, वेणीमाधव सिंहजस्ता नेता सक्रिय थिए ।
कालक्रममा कांग्रेस-८
गिरिजाले यसकारण भनेका थिए- माले, मण्डले र मसाले एकै हुन्
२०१७ सालमा राजा महेन्द्र ‘कू’ गरेपछि जनकपुर गएका बेला उनलाई बम प्रहार गर्ने दुर्गानन्द झा र अरविन्द ठाकुर थिए । झालाई मृत्युदण्ड दिइयो । कोही पनि ब्राह्मण समुदायबाट मृत्युदण्ड पाउने झा पहिलो व्यक्ति थिए । अरविन्द ठाकुरले जन्मकैदको सजाय पाएका थिए । महेन्द्रनारायण निधि नेपाली कांग्रेसभित्र गान्धीवादी तथा अहिंसावादी नेताको रूपमा चिनिन्छन् । उनका छोरा विमलेन्द्रलाई बीपीले २०३६ सालमा नेविसंघको अध्यक्ष बनाएका थिए । त्यतिबेला विमलेन्द्र २४ वर्षका मात्र थिए ।
कांग्रेसको उच्च पदमा पुग्ने अर्का नेता परशुनारायण चौधरी हुन् । उनी बीपी कोइरालाको जननिर्वाचित मन्त्रीमण्डलमा २०१६ सालमा पहिलोपटक मन्त्री भएका थिए । उनलाई २०३४ सालमा बीपीले गिरिजासँगै महामन्त्रीमा मनोनीत गरेका थिए । तर, उनी २०३७ सालमा आफ्ना सहयोगीसहित पञ्चायत प्रवेश गरे ।
कालक्रममा कांग्रेस-९
कांग्रेसबाट किन बाहिरिएका थिए गणेशमान ?
२०६४ सालमा कांग्रेस छाडेका महन्थ ठाकुरको राजनीतिक यात्रा २०१६ सालमा कांग्रेसबाटै सुरु भएको हो । उनी महेन्द्रको ‘कू’पछि पक्राउ पनि परेका थिए । उनी नेविसंघका संस्थापक केन्द्रीय सदस्य हुन् । उनी २०४८ सालको निर्वाचनमा सर्लाही-५ बाट विजयी भएपछि उपसभामुख भए । २०५१ सालमा पुनः निर्वाचित भएपछि कृषिमन्त्री र २०५६ मा कानूनमन्त्री भए । उनी कांग्रेसको कोषाध्यक्षसम्म भए । उनलाई त्यागी नेताका रूपमा चिनिन्छ ।
नेपाली कांग्रेसको सहमहामन्त्री हुने मधेसी नेता हुन्, डा. रामवरण यादव । उनी गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भए । डा. यादव २०३७ देखि २०३९ सालसम्म बीपी कोइरालाको निजी चिकित्सक थिए । ती दिनमा बीपीको स्वास्थ्य निकै जटिल थियो ।
उनी २०४६ सालअघि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । त्यसक्रममा नौ महिना जेल पनि बसेका थिए । २०४८ सालको निर्वाचनमा धनुषा क्षेत्र नं. ५ बाट विजयी भएपछि २०५१ सालसम्म स्वास्थ्य मन्त्री भएका थिए । २०५६ देखि २०५८ सम्म स्वास्थ्यमन्त्री भएका थिए । उनी १५ वर्ष केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको सदस्य भए । राष्ट्रपति हुनुपूर्व उनी सहमहामन्त्री थिए ।
कालक्रममा कांग्रेस-१०
यी हुन् कांग्रेसका आठ सभापति
तराई-मधेसमा कांग्रेसलाई स्थापित गर्न सप्तरीको सिंह परिवारको पनि भूमिका छ । त्यहाँ रामेश्वरप्रसाद सिंह र जयमंगलप्रसाद सिंहको प्रतिष्ठा उच्च थियो । सिंहद्वयले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागिता जनाएर हनुमाननगर जेल ब्रेकको अगुवाइ गरेका थिए । रामेश्वरप्रसाद सिंह सप्तरी जिल्ला सभापति भएर संगठन विस्तार गरेका थिए । त्यसैगरी गजेन्द्रनारायण सिंह पनि केन्द्रमा थिए । उनी सुवर्णशमशेरको समूहमा थिए । २०३४ सालमा बीपीले गिरिजाप्रसाद कोइरालालाई महामन्त्री मनोनीत गर्दा षडयन्त्र भएको भनेर गजेन्द्रनारायणले वक्तव्य निकालेरै विरोध गरेका थिए । पछि उनी कांग्रेसबाट अलग्गिएर नेपाल सद्भावना पार्टी खोलेका थिए ।
तराई-मधेसमा कांग्रेसलाई बलियो बनाउने अरू नेतामा आनन्दप्रसाद ढुंगाना, लीला कोइराला, चित्रलेखा यादव, शेख इद्रिस, वसन्त गुरुङ, रामकृष्ण यादव, रामसरोज यादव, महेन्द्र यादव, गणेश नेपालीलगायत छन् ।