राष्ट्रपति भण्डारी जुम्ला जाँदै

काठमाडौँ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला जाने भएपछि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको प्रतिष्ठानले जनाएको छ ।

राष्ट्रपति भण्डारी आज आइतबार ठिक ११ बजे जुम्ला पुग्ने कार्यक्रम छ । हेलिकोप्टरमा जान लागेकी भण्डारी नेपाली सेनाको नन्दाबक्स गणमा अवतरण गर्नेछन् । राष्ट्रपति जुम्ला जाने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगिसकेका छन् ।

एक दशकअघिसम्म कर्णालीमा यो स्तरसम्मको पढाइ हुन्छ भन्ने कुनै कल्पना थिएन कर्णालीवासीका लागि यो उपलब्धि हो । राष्ट्रिपति कार्यालय र प्रतिष्ठानका बीच आपसी समन्वयमा कार्यक्रम तालिका बनेको हो । बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ । त्यसलगत्तै एमबिबीएसलगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुने बताइएकाे छ।

एमबिबीएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पु-याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।

अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबिबीएस, बिएनएस, बिफार्मालगायतका सङ्कायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *