‘लाखे’ मा वर्षा अनुबन्धित
काठमाडौँ । चलचित्र ‘लाखे’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । यसअघि केही कलाकार फाइनल गरिसकेको निर्माण टिमले वर्षालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको हो । चलचित्र सम्राट बस्नेतको निर्देशनमा तयार हुने छ ।
चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायतका कलाकार यसअघि नै फाइनल भइसकेका थिए । त्यस्तै सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर विष्ट, सुजन ए परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बाल कलाकार सिस्टम भण्डारी लगायतको समेत चलचित्रमा अभिनय रहनेछ ।
पुसको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्र ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको प्रस्तुत कर्ता गणेश मल्ल ठकुरी हुन् भने हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।