छैन ‘ओमिक्रोन’को पर्वाह, उस्तै छ मुगलान पस्नेको लाइन
धनगढी । कोरोना भाइरसको तेस्रो लहर अर्थात् नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी देश भारतमा पनि फैलिइरहेको छ ।
भारतमा ओमिक्रोन संक्रमण पुष्टि भएपछि नेपालमा पनि जोखिम बढेको छ । यद्यपि अहिलेसम्म नेपालमा भने यसको संक्रमण फैलिएको छैन । तर‚ भारतसँगको खुला नाका मार्फत भइरहेको निर्वाध आवात/जावतले ओमिक्रोन संक्रमणको जोखिम भने छ ।
कोरोनाको डेल्टा भेरियन्टभन्दा पनि तीव्र संक्रमण क्षमता रहेको भनिएको ओमिक्रोन भारतमा फैलिइरहँदा नेपालीहरू दैनिक रोजगारीको सिलसिलामा भारतमा गइरहेका छन् । ओमिक्रोनको कुनै प्रवाह नै नगरी नेपालीहरू सीमानाका हुँदै दैनिक भारतका विभिन्न सहर पस्न बाध्य छन् ।
ओमिक्रोन फैलिए पनि घर परिवार पाल्नकै लागि भए पनि विदेसिनुपर्ने बाध्यता रहेको कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाका हुँदै भारतको महाराष्ट्र जान लागेका अछामका दिपक खातीले बताए । ‘खेतीपातीको काम पनि सकियो, अब रोजगारीका लागि भारत नगई हुँदैन,’ उनले भने, ‘कोरोनाको डर मानेर बसिराखौँ भने खान पुग्दैन ।’ उनले आफूलगायत धेरै साथीहरू कामका लागि भारत गइरहेको बताए ।
रोजगारीकै सिलसिलामा भारत जान लागेका कैलालीको लम्कीचुहाका प्रेम रावलले पनि कोरोनाकै डर मानेर नेपालमै बस्नुपर्ने अवस्था नरहेको बताए । उनले नेपालमा रोजगारी नभएकै कारण पनि आफूजस्ता युवाहरू रोगको प्रवाह नगरेर कामका लागि विदेसिनुपरेको दुखेसो पोखे ।
‘कोरोनाको अर्को भेरियन्ट नफैलियोस् भनेर नाकामा कडाइ गर्न सुरु गरिएको भएपनि रोगलाई भोकले नछेक्ने रहेछ,’ उनले भने, ‘अब जस्तोसुकै कोरोनाको भेरियन्ट आए पनि कुनै प्रवाह छैन । सकेजति सुरक्षित भएर काम गर्ने हो । नेपालमै बस्ने अवस्था हाम्रो छैन ।’
सीमानाका हुँदै सामान्य अवस्थामा झैँ नेपाली नागरिक भारत गइरहेका छन् । उनीहरू गौरीफन्टा नाकामा लाइन बसेर विदेसिइरहेका छन् । यो नाका हुँदै दैनिक पाँच सय हाराहारीमा नेपाली नागरिक भारत गइरहेका छन् ।
‘अहिले गौरीफन्टा नाका हुँदै दैनिक चारदेखि पाँच सयसम्म नेपाली नागरिकहरू भारत गइरहेका छन्,’ सीमानाकामा खटिएका कञ्चनपुरको प्रहरी चौकी पच्कडियाका असई गौरीशंकर चौधरीले भने, ‘नेपाल आउने र बाहिरिने नेपालीहरूको संख्या करिब बराबरी नै छ ।’ उनले यही मौसममा नेपालबाट भारत जानेको संख्या बढी हुने गरेको बताए ।
खेतीपाती गरेर नेपालीहरु रोजगारीका लागि यही मौसममा भारत जाने गर्छन् । भारतमा ओमिक्रोन संक्रमण बढेर नेपालमा पनि जोखिम बढिरहेका बेला भारत जाने नेपालीहरूको संख्यामा कमी आएको छैन ।
ओमिक्रोनको जोखिम बढेपछि सीमा क्षेत्रमा कोरोना चेकजाँचमा कडाइ गरिएको सीमामा खटिएका धनगढी उपमहागनरपालिकाका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए । भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिँदै गएपछि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सुझाव छ ।