कालक्रममा कांग्रेस-१२

शीर्ष तहमा पुगेका तर सभापति नभएका कांग्रेसका यी पाँच नेता

काठमाडौँ । नेपाली कांग्रेसको १३औँ महाधिवेशन सुरु हुनुभन्दा २५ दिनअघि तत्कालीन सभापति सुशील कोइरालाको निधन भयो । त्यसपछि कांग्रेसको तत्कालीन संस्थापन पक्षको नेतृत्व रामचन्द्र पौडेलले गरे । तर, कोइरालाको निधन भएको एक महिना नहुँदै भएको सभापतिको निर्वाचनमा पौडेल शेरबहादुर देउवासँग पराजित भए ।

उक्त पराजयपछि पनि संस्थापनइतरको नेता पौडेल नै थिए । उनलाई देउवाले कांग्रेसको वरिष्ठ नेतामा मनोनित गरे । तर, १४औँ महाधिवेशनको मुखमा पौडेल संस्थापनइतरको साझा नेता रहेनन् । सभापतिमा शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेल नै ‘ब्याक’ भए । शेखर प्यानलबाट महामन्त्रीको उम्मेदवारी दर्ता गरेपछि गगन थापाले भने, ‘रामचन्द्र पौडेल कांग्रेसमा गणेशमान सिंहको हैसियतमा हुनुहुन्छ, उहाँलाई पार्टीले सम्मान गर्नुपर्छ ।’

कालक्रममा कांग्रेस -१
नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

पौडेलले १४ औँ महाधिवेशनका कुनै प्रकृयामा भाग नलिने र मत पनि नहाल्ने बताएकै राति सभापतिमा दोहोरिन चाहिरेका शेरबहादुर देउवा उनलाई भेट्न निवासमै पुगे र राजनीतिबाट अलग हुने कुरा नगर्न सम्झाए ।

नेविसंघबाट राजनीति थालेका पौडेलले कांग्रेसमा लामो यात्रा तय गरेका छन् र एउटा परिचय पनि बनाएका छन् । उनले यसपटक केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका छैनन् र मतदान पनि नगर्ने बताएका छन् ।

के अब उनी ‘गणेशमान’ नै हुन्छन् त ? यो प्रश्नको उत्तर भविष्यले दिनेछ । तर, कांग्रेस शीर्ष तहमा पुगेर सभापति हुन नपाउने उनी एक्ला नेता भने होइनन् ।

१. डिल्लीरमण रेग्मी : कार्यवाहकपछि पार्टी फुट
नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्न कलकत्तामा भएको सम्मेलन झन्डोत्तोलन गरेर उद्घाटन गर्ने डिल्लीरमण रेग्मी नै थिए । उनी पार्टी सभापति हुन चाहन्थे । उनले सम्मेलनमा उक्त प्रस्ताव राखे पनि धेरैको चासो रहेन । गणेशमान सिंहले जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापति बनाउन प्रस्ताव राखेपछि उनी नै सभापति भए । बीपी कार्यवाहक सभापति भए र कार्यकारी अधिकार पाए ।

कालक्रममा कांग्रेस-२
२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

तर, त्यसको दुई महिना नपुग्दै २००३ चैतमा विराटनगरस्थित जुट मिलमा आन्दोलन चल्यो । आन्दोलन हाँक्न पुगेका बीपी चैत १२ मा पक्राउ परे । सभापति टंकप्रसाद आचार्य पनि जेलमै थिए । पार्टी हाँक्न नयाँ नेतृत्व आवश्यक भएपछि चैत २७ र २८ मा जोगवनीमा भएको दोस्रो सम्मेलनले मातृकाप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनायो । सम्मेलनले मजदुर आन्दोलनमा पक्राउ परेकाहरुको रिहाइका लागि सत्याग्रह आन्दोलन गर्ने निर्णय पनि गरेको थियो ।

मातृकाले आन्दोलनभरि मात्र कार्यवाहक सभापति बन्ने बताएका थिए । नेपाली राष्ट्रिय कांग्रेसले २००५ जेठ २० मा सत्याग्रह स्थगित गरेपछि मातृकाले कार्यवाहक सभापतिबाट राजीनामा दिए । उक्त पदमा एक वर्षका लागि डिल्लीरमण रेग्मी चुनिए ।

कालक्रममा कांग्रेस-३
यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन

बीपी कोइराला २००४ भदौमा जेलमुक्त भए पनि रेग्मीले नेतृत्व हस्तान्तरण गर्न मानेनन् । आफू सम्मेलनबाट कार्यवाहक भएकाले सम्मेलन गरेर मात्र उक्त पद हस्तान्तरण गर्ने रेग्मीको अडान थियो । तर, बीपीले पछि २००४ असोज २८ मा कार्यवाहक सभापति आफू नै भएको घोषणा गरे । रेग्मीले त्योभन्दा एक कदम अगाडि बढेर जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिबाट बर्खास्त गरे र आफैं नेपाली राष्ट्रिय कांग्रेसको सभापति भएको घोषणा गरे । यसरी नेपाली राष्ट्रिय कांग्रेसमा फुट आयो ।

बीपीलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मालगायत साथ थियो । डेल्लीरमणलाई भने पुष्पलाल श्रेष्ठ, प्रेमबहादुर कंसाकार, कृष्णप्रसाद रिमाललगायतले साथ दिए ।

२००७ सालको क्रान्तिपपछि देश संक्रमणमा थियो। २००७ देखि २०१६ सालको सुरुसम्म राजाको तजबीजमा सरकारहरू बने । रेग्मी छोटो समयका लागि शिक्षामन्त्री भएका थिए । उनी २०१५ सादमा चुनाव गराउने सवर्णशमशेर सरकारको गृहमन्त्री थिए । उक्त चुनावमा उनको दल नेपाली राष्ट्रिय कांग्रेसले कुनै पनि सिटमा विजय हासिल गर्न सकेन । पछि रेग्मी आफैँ नेपाली कांग्रेसमा प्रवेश गरे ।

२. गणेशमान सिंह : एकमात्र सर्वमान्य नेता र निष्ठाको विरासत
२००३ सालमा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्ने सम्मेलनमा गणेशमान सिंह निकै महत्वपूर्ण व्यक्ति थिए । उनले त्यो सम्मेलनमा नेपाल प्रजापरिषद्को नेताको हैसियतमा भाग लिएका थिए । उनी राणा शासकको जेलब्रेक गरेर भारत पुगेकाले उनलाई ‘नायक’ मानिएको थियो ।

कालक्रममा कांग्रेस-४
बीपीको हत्या प्रयास गर्ने भरतशमशेर यसरी लागे कांग्रेसतिरै

गणेशमानकै प्रस्तावमा प्रजापरिषद्का सभापति टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसको सभापति बनाइएको थियो । तर, आचार्य जेलमा थिए । त्यसैले कार्यवाहक सभापति बीपी बने । यसरी आचार्य एकैपटक दुई पार्टीको सभापति बनाइए ।

२००७ सालको क्रान्तिमा पनि गणेशमानले महत्वपूर्ण भूमिका निर्वाह गरे । क्रान्तिपछिको मन्त्रिमण्डलमा मन्त्री पनि भए । उनी कांग्रेसको शीर्ष तहको नेताको रूपमा स्थापनाकालदेखि नै सक्रिय रहिरहे । वीरगञ्जमा २०१२ सालमा भएको महाधिवेशनमा भने उनले सभापति हुने इच्छा राखे । तर, उनका विरुद्ध सुवर्णशमशेरलाई उठाइयो । यसरी गणेशमानको विरुद्ध सुवर्णशमशेरलाई उठाउने बीपी नै थिए । सुवर्णशमशेरले २३६ मत पाएर सभापतिमा निर्वाचित हुँदा गणेशमान सिंहले १७२ मत मात्र पाए ।

गणेशमान २०१५ सालमा निर्वाचनमा क्षेत्र नं. १ काठमाडौँबाट प्रतिस्पर्धा गरेका थिए । उनले तत्कालीन नेकपाका नेता तथा संस्थापक महासचिव पुष्पलाललाई पराजित गरेका थिए ।

२०३९ सालमा बीपीको निधनपछि कांग्रेसले आयोजना गरेको महासम्मेलनमा गिरिजाप्रसाद कोइरालाले ‘नेतात्रय’को अवधारणा ल्याएका थिए । जसअनुसार कृष्णप्रसाद भट्टराईले कार्यवाहक सभापति र गिरिजाप्रसाद कोइरालाले महामन्त्रीकै रूपमा निरन्तरता पाउँदा गणेशमान ‘सर्वमान्य’ नेता भए । कांग्रेस इतिहासमा ‘सर्वमान्य नेता’ हुने उनी एक मात्र व्यक्ति हुन् ।

कालक्रममा कांग्रेस -५
…अनि कांग्रेस ‘समाजवादी’ भयो

२०४८ सालमा भएको आठौँ महाधिवेशनमा पनि उनी सर्वमान्य नेता नै भए । त्यतिबेला गिरिजाप्रसादको नेतृत्वमा सरकार बनेको थियो । तर, गणेशमान खुसी थिएनन् । उनले पार्टीको सल्लाह नमानेको र भ्रष्टाचार बढाएको आरोप लगाइरहन्थे । कोइराला भने न सभापति भट्टराईका कुरा सुन्थे, न सर्वमान्य नेता सिंहका नै । लगातार अपमान भएको महसुस भएपछि गणेशमानले २०५१ भदौ २७ गते कांग्रेस परित्याग गरेको घोषणा गरे । त्यसपछि उनी फेरि कहिल्यै कांग्रेस भएनन् । उनले कांग्रेस पार्टीमा ४८ वर्ष बिताए ।

कालक्रममा कांग्रेस-९
कांग्रेसबाट किन बाहिरिएका थिए गणेशमान ?

३. महेन्द्रविक्रम शाह
नेपाली कांग्रेसलाई नेपाली राष्ट्रिय कांग्रेसको विरासत बोकेको पार्टी मानिन्छ । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएर २००६ सालमा मात्र नेपाली कांग्रेस बनेको थियो । महेन्द्रविक्रम शाह नेपाली कांग्रेसका संस्थापक महामन्त्री हुन् । उनी नेपाल प्रजातन्त्र कांग्रेसको सभापतिको हैसियतमा नेपाली कांग्रेसको महामन्त्री हुन पाएका थिए ।

शाह जुम्लाका राजाका खलक हुन् । उनी पनि निर्वासित भएर कलकत्ता पुगेका थिए । त्यही बेला नेपाली राष्ट्रिय कांग्रेसको बीपी समूह र रेग्मी समूहमा फुट आएपछि सुवर्णशमशेरको पहलमा नयाँ पार्टी खोल्ने अभियान चल्यो । तर, पार्टी अध्यक्ष सुवर्ण भएनन् । उनले महेन्द्रविक्रम शाहलाई अघि सारे ।

कालक्रममा कांग्रेस- ६
बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

२००७ सालको क्रान्तिमा नेपाली कांग्रेसको महामन्त्री महेन्द्रविक्रम शाह नै थिए । त्यसपछि कांग्रेसमा बीपी र मातृका समूहबीच द्वन्द्व सुरु भयो । शाहले मातृकाको साथ दिए । मातृका प्रधानमन्त्री बन्दा शाह २००८ मंसिर १ मा पहिलो पटक मन्त्री बने । मातृकाले २०१० सालमा नेपाली कांग्रेस फुटाएर ‘नेपाल प्रजा पार्टी’ गठन गर्दा उनले मातृकालाई नै साथ दिए । त्यसपछि उनी भारतको राजदूत बनाइए । तर, मातृका प्रधानमन्त्रीबाट हट्नेबित्तिकै उनलाई फिर्ता बोलाइयो । पछि २०१३ सालमा प्रजा पार्टी नेपाली कांग्रेसमा विलय भयो । तर, शाह फेरि नेतृत्वमा आउन सकेनन् ।

४. सूर्यप्रसाद उपाध्याय
सूर्यप्रसाद उपाध्यायको राजनीति पनि नेपाल प्रजातन्त्र कांग्रेसबाटै सुरु भएको हो । उनी उक्त पार्टीको संस्थापक महामन्त्री थिए । पछि २००६ सालको चौथो महाधिवेशनमा नेपाली कांग्रेस स्थापना भएपछि मात्र उनले कांग्रेसको राजनीति सुरु गरेका हुन् । त्यसपछि कांग्रेसका चार नेतामा बीपी, गणेशमान, सुवर्ण र सूर्यप्रसादलाई मानिन्थ्यो । तर, बीपीसँग उनको निरन्तर सुमधुर सम्बन्ध भने रहेन ।

कालक्रममा कांग्रेस- ७
कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय

उपाध्यायले २००७ सालको क्रान्तिको बेला अनेक उट्पट्याङ काम गरेको र धोका दिएको बीपीले आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । हतियार खोज्ने काममा बित्थामा लाखौँ खर्च गराइदिएको, राम्रो जिम्मेवारी बहन नगरेर केआई सिंहको विद्रोह जन्माउन सहयोग गरेको उल्लेख गरेका छन् । त्यसैगरी एक पटक हड्तालका लागि आर्थिक सहयोग माग्न आउनेलाई नोटको आकारको अखबार काटेर भित्र राखी बाहिर दुवैतिर सयको नोटले छोपेर दिएको पनि बीपीले उल्लेख गरेका छन् ।

२००७ सालपछि उनी मन्त्री हुन चाहन्थे तर, बीपीले बनाएनन् । २००८ सालमा पहिलोपटक मन्त्री भए भने मातृकाको सरकारमा दोस्रो वरीयताको मन्त्री बनाइए । उनी २०१४ सालमा कांग्रेसको महामन्त्री भए । तर, २०१५ सालको आम निर्वाचनमा सिन्धुली र काठमाडौँ दुवै ठाउँबाट पराजित भए । पराजित भएपनि बीपी मन्त्रिमन्डलमा उनी गृहमन्त्री बनाइएका थिए । त्यसबेला बीपीले नचाहेरै पनि उनलाई मन्त्री बनाएको चर्चा पनि हुने गरेको छ ।

कालक्रममा कांग्रेस-८
गिरिजाले यसकारण भनेका थिए- माले, मण्डले र मसाले एकै हुन्

महेन्द्रको ‘कू’पछि उनी बीपीसँगै थुनिएका थिए । तर, नौ महिनापछि नै रिहा भएका कारण उनलाई शंकाको नजरले हेरिन्छ । जेलबाट रिहा भएपछि पनि उनी भारत निर्वासनमा नगइ नेपाल नै बसे । तर, कांग्रेस परित्याग भने गरेनन् । बरु, राजा र दलहरूलाई मिलाएर लैजाने प्रयत्नमा लागे । बीपीको रिहाइका लागि उनले पनि भूमिका खेलेका थिए ।

पछि कांग्रेसमा विवाद हुँदा उनले छुट्टै समूह पनि बनाएका थिए । उनी कांग्रेसको शीर्ष नेताका रुपमा भने रहिरहे । २०४१ सालमा उनको निधन भयो ।

५. रामचन्द्र पौडेल
राजा महेन्द्रको ‘कू’ पछि पौडेल १६ वर्षको उमेरमा नै राजनीतिमा लागेका हुन् । उनी सुवर्णशमशेरको नेतृत्वमा कांग्रेसले २०१८ सालमा सुरु गरेको सशस्त्र क्रान्तिमा सहभागी भएका थिए । उनी २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनमा लागे । २०२३ सालमा सरस्वती क्याम्पसको विद्यार्थी युनियन सभापति निर्वाचित भए । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव भए । २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना हुँदा उनी संस्थापक केन्द्रीय सदस्य बने ।

कालक्रममा कांग्रेस-१०
यी हुन् कांग्रेसका आठ सभापति

उनी २०४० सालमा केन्द्रीय प्रचार समितिको संयोजक भए । त्यसपछि २०४४ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेका थिए । त्यसयता लगातार केन्द्रमा सदस्य र पदाधिकारी रहे । प्रजातन्त्रको पुनस्थापनापछि २०४८ को निर्वाचनमा उनी तनहुँ–१ बाट प्रतिनिधि सभाका लागि विजयी भए ।

त्यस पटक–पटक मन्त्री र सांसद भए । २०५१ सालको प्रतिनिधिसभामा उनी सभामुख थिए ।

२०६२ सालमा कांग्रेसको महामन्त्री भए भने २०६४ सालमा उपसभापति भए । २०६५ सालमा उनी कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए । कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिमा पराजित भएपछि वरिष्ठ नेता मनोनीत भएका थिए ।

कालक्रममा कांग्रेस-११
कांग्रेसको जरोकिलो अर्थात् तराई-मधेस

उनी संसदमा भएको प्रधानमन्त्री चयनको मतदानमा १७ पटकसम्म उम्मेदवार बने । त्यसबेला प्रधानमन्त्री चयन गर्न हुने मतदानमा कसैले पनि बहुमत ल्याउन सकेका थिएनन् । पौडेल अध्ययनशिल र बीपीको प्रजातान्त्रिक समाजबादको ब्याख्याता नेताका रुपमा चिनिन्छन् । तैपनि पार्टीभित्र उनलाई ‘सानो चित्त भएका’ नेताका रुपमा पनि कतिपयले टिप्पणी गर्छन् । तर‚ उनलाई नजिकबाट चिन्नेहरु भने पौडेल फजुल खर्च गर्न नहुने र अनधिकृत कमाइ पनि गर्नु नहुने कुराका हिमायति भएको बताउँछन् ।

पौडेलले १४ औँ महाधिवेशनको उम्मेदवारी मनोनयनका दिन नै महाधिवेशन महाधिवेशनजस्तो नभएको भन्दै महाधिवेशनका सबै प्रक्रियाबाट अलग हुने बताइसकेका छन् । उनले आफूनिकट नेताहरुसँग अब राजनीतिबाटै सन्यास लिने पनि बताउन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *