विराटको एकदिवसीय कप्तानी : असफलताले छोपेको सफलता

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले भर्खरै विराट कोहलीलाई एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीबाट मुक्त गर्‍यो । कप्तानको जिम्मेवारी अब रोहित शर्मालाई दिइएको छ ।

केही समयअघि मात्र टी-ट्वेन्टीको कप्तानी छाडेका विराट तत्काल एकदिवसीय क्रिकेटको कप्तानका रुपमा रहने छैनन् । बीसीसीआईले आजिंक्य रहाणेको स्थानमा रोहितलाई टेस्ट टिमको समेत उपकप्तान बनाएको छ ।
विराटलाई कप्तानबाट हटाएसँगै उनको पक्ष र विपक्षमा प्रतिकृयाहरू आउने क्रम जारी छ । धेरैले कप्तानबाट विराटलाई हटाउने बिसीसीआईको निणयको विरोध गरेका छन् । कोहलीलाई कप्तानबाट हटाएसँगै उनी कप्तानका रुपमा कति सफल र असफल भए भन्ने योगदानको चर्चा स्वभाविक पनि छ ।

यस्तोमा कप्तानका रुपमा विराटको सफलतालाई आईसीसी अन्तरराष्ट्रिय प्रतियोगितामा एउटा पनि ट्रफी जित्न नसकेको असफलताले छोपेको छ । विराटका लागि सर्वाधिक खराब पक्ष भनेकै आईसीसीका प्रतियोगितामा कप्तानका रुपमा भारतलाई एउटा पनि ट्रफी जिताउन नसक्नु रह्यो ।

कोहलीको कप्तानीमा भारतले २०१७ को च्याम्पियन्स ट्रफीको फाइनल खेल्यो जहाँ पाकिस्तानसँग पराजित भयो । त्यस्तै २०१९ को विश्वकपमा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भयो । कोहलीलाई कप्तानबाट हटाउनुको कारण पनि आईसीसी इभेन्टमा देशका लागि उपाधि नजित्नु नै मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

यो वर्ष टी-ट्वेन्टी विश्वकपमा समेत भारत समिफाइनलभन्दा माथि पुग्न सकेन । यस्तोमा अब उनी कप्तानका रुपमा असफल रहेर नै विदा भए । तर‚ अब यो बीचमा २०२३ मा भारतीय भूमिमा एकदिवसीय विश्वकप खेल्ने कार्यतालिका छ । यस्तोमा अब टीमको जिम्मा रोहितको नाममा रहेको छ । अब रोहितको सफलता र असफलताको जाँच पनि यही कसीमा हुनेछ ।

सिरिजमा सफल रहे कोहली
कोहलीको कप्तानीमा भारतले एकदिवसीय क्रिकेटमा ७०.४३ प्रतिशत जित हासिल गरेको छ‚ जुन १० खेलभन्दा बढी कप्तानी गर्ने कप्तानका लागि यो सर्वाधिक राम्रो जित प्रतिशत हो । भारतका लागि कोहलीले ९५ खेलमा कप्तानी गरे‚ जहाँ ६५ खेलमा भारतलाई जित दिलाए ।

कोहलीको कप्तानीमा भारत २७ खेलमा पराजित हुँदा १ खेल बराबरीमा सकियो । उनले १९ मध्ये १५ द्वीपक्षीय सिरिज जिते । यो जितमा दक्षिण अफ्रिका, अस्ट्रेलिया तथा वेस्टइन्डिजसँगका जितहरू ऐतिहासिक छन् ।

यद्यपि कप्तानका रुपमा भारतका लागि खेलका हिसाबले कोहलीभन्दा धेरै जित भने महेन्द्रसिंह धोनीको नाममा छ । उनले कुल ११० खेलमा भारतलाई जित दिलाए । त्यस्तै मोहम्मद अजहरुद्धिनले ९० खेलमा भारतलाई जित दिलाउँदा सौरभ गांगुलीले भारतलाई ७६ खेलमा जित दिलाउन सफल भएका थिए ।
विराटभन्दा बढी जित प्रतिशत अस्ट्रेलियका पूर्वकप्तान रिकी पोन्टिङ र दक्षिण अफ्रिकाका हैन्सी क्रोनएको मात्र छ । पोन्टीङको ७६.१४ प्रतिशत रहँदा हैन्सीले ७३.७० प्रतिशत जित आत्मसात् गरेका छन् ।

कोहलीले आफ्नो कप्तानीमा ९५ खेलमा २१ शतक बनाएका छन् । उनले ५४४९ रन बनेको छ । एक कप्तानका रुपमा कुनै पनि भारतीय ब्याट्सम्यानले प्रहार गरेको यो सर्वाधिक शतक हो । विश्व क्रिकेटमा कप्तानका रुपमा कोहलीभन्दा बढी शतक प्रहार गर्ने अस्ट्रेलियाका रिकी पोन्टिङ हुन् । उनले २२ शतक प्रहार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *