कांग्रेस महाधिवेशन: मतदानमा रामचन्द्र पौडेलसहित ६२ जना अनुपस्थित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतदान सकिएको छ । दिउँसो १२ बजेतिर शुरु भएको मतदान राती साढे ११ बजे सकिएको हो । मतदानमा जम्मा ४६ सय ८१ मत खसेको निर्वाचन समितिले जनाएको छ । ६४ जना महाधिवेशन प्रतिनिधि भने मतदानका लागि गएनन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेनन् । उनले महाधिवेशन महाधिवेशनजस्तो नभएको भन्दै सबै प्रकृयामा स‌हभागी नहुने निर्णय गरेका थिए ।

क बुथमा १३९१, खमा १२७४ र गमा २०१८ मत खसेको हो । प्रदेश न. १ बाट १५,  बागमती प्रदेशका २६ जना र सुदुर पश्चिम प्रदेशका २ जना रहेको निर्वाचन समितिले जनाएको छ । मतदान सकिएपछिका प्राविधिक कुराहरु सकेर राती १ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको पनि समितिले जनाएको छ । मतदानस्थल राष्ट्रिय सभा गृह मा सभापतिको मतगणना गरिने छ ।

सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने विधान रहेका कारण सभापतिको गणना गर्ने तयारी गरिएको समितिले जनाएको छ । कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा  पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणमा कसैले ५० प्रतिशत नकटाए मंगलबार पुनः दोस्रो चरणको मतदान गर्ने तयारी छ ।

सभापतिको नतिजा टुंग्याएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुने र मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने समितिले जनाएको छ ।

सबै पदको अन्तिम परिणाम आउन कम्तीमा १ साता लाग्ने पनि निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *