२ हजार मत गन्दा देउवा कोइरालाभन्दा २३२ मतले अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए ।
अहिलेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ र प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ६ मत मात्र प्राप्त भएको छ । बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो ।
सोमबार भएको मतदानमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेको छ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।