अब सिंह र निधि निर्णायक
दोस्रो चरणमा निर्वाचन हुने भएपछि नेताहरूले फेरि थाले दौडधुप
काठमाडौँ । कांग्रेसको जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएसँगै नेताहरूबीच दौडधुप शुरु भएको छ । अब दोस्रो चरणमा कसले कसलाई समर्थन गर्ने भन्ने रस्साकस्सी शुरु भएको हो ।
दोस्रो चरणको चुनावमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरू दुबै जनाले चुनाव जित्नका लागि तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग सहकार्य गर्नुपर्ने हुन्छ । कोइराला र सिंह यसअघि नै देउवाइतर समूहमा थिए भने निधि केही महिनाअघि मात्रै देउवासँग छुट्टिएका हुन् ।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १७२९ मत पाएका छन् । देउवा र कोइरालाका बीच ५२९ को मतान्तर छ । सिंहले ३७१, निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । सिंह, निधि र गुरुङको मत जोड्दा ६४० मत हुन्छ । जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत आवश्यक पर्छ ।
यो पनि : देउवाले पनि पुर्याएनन् बहुमत, दोस्रो चरणको मतदान हुने
अब शेखर कोइराला सिंहलाई साथमा लैजान चाहन्छन् तर उनको मात्रै सर्मथनले चुनाव जित्न असम्भव छ । निधिलाई फकाउन सके कोइरालाको सम्भवना बलियो देखिन्छ । यी दुईमध्ये एउटाले देउवा र अर्काेले कोइरालालाई समर्थन गर्दा देउवाले सभापति जित्नेछन् ।
दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाँण बिहानै नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारीमा पुगेका छन् । खाणले सिंहसँग देउवालाई सघाउने प्रस्ताव राखेका छन् भने सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिएका छन् ।
१३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला थिए । दुई चरणको निर्वाचनबाट मात्रै परिणाम देउवाको पक्षमा आएको थियो ।