दाेस्राे चरणमा शेखरको सम्भावना बढी ?

काठमाडाैँ । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा भएको मतदानबाट ५ प्रत्याशीमध्ये कसैले पनि ५० प्रतिशत नपुर्‍याएपछि दोस्रो चरणको मतदान हुने भएको हाे । कांग्रेसको विधानअनुसार पहिलो चरणमा सभापतिमा विजयी हुनका लागि कम्तीमा ५० प्रतिशत कटाउनुपर्छ । तर, पहिलो चरणको मतदानबाट कुनै प्रत्याशीले ५० प्रतिशत कटाएनन् ।

पहिलो चरणको मतदानबाट शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच रोचक प्रतिस्पर्धा भयो । शेरबहादुरले २,०९५ मत ल्याएर ४७.८७ प्रतिशत पुर्‍याउँदा शेखरले १,६४५ मत ल्याए । योसँगै दोस्रो चरणको मतदान हुने भएको हो ।

शुरुदेखि नै दोस्रो चरणमा गए शेखर बलियो सावित हुने विश्लेषण गरिँदै आएको थियाे । यसका आधारहरू पनि छन् । खासगरी कांग्रेसमा पुस्तान्तरण चाहने नेताहरूले दोस्रो चरणमा शेखरलाई सघाउने निश्चितप्रायः छ ।

यसअघि सभापतिकै अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि यो विषयबारे बाेलिसकेका छन् । उनले सकभर आफैँ जित्ने र दोस्रो चरणमा पनि आफू उम्मेदवार बन्न नपाए देउवाबाहेकका प्रत्याशीलाई सघाउने बचनबद्ध गरिसकेका छन् । सोहीअनुसार प्रकाशमानले शेखरलाई सघाउने छन् ।

प्रकाशमान कांग्रेसको नेतृत्वबाट शेरबहादरलाई हटाउनुपर्छ भन्नेमध्येका एक नेता हुन् । प्रकाशमाले पहिलो चरणमा ३५० मत ल्याएका छन् । सरासर रूपमा हेर्दा प्रकाशमानलाई मत दिने प्रतिनिधिहरूले दोस्रो चरणमा शेखरलाई दिएको खण्डमा शेखर शेरबहादुर निकट पुग्छन् । प्रकाशमान र शेखरको पहिलो चरणको जम्मा मत १,९९५ हुन आउँछ । त्यो भनेको ४५.५८ प्रतिशत हो । त्यसाे त निधिले पनि शेखरलाई नै सघाउने बुझिएकाे छ । यदि उनले पनि शेखरलाई सघाएकाे खण्डमा शेखरसँग २,२३४ मत हुनेछ । त्याे भनेकाे ५१.०५ प्रतिशत हाे ।

त्यसो त शेरबहादुर देउवालाई कसैले सघाउने छाँटकाट छैन । सकभर देउवलाई निधिले सघाउने छैनन् । उनलाई आफूलाई स्वतन्त्र रूपमा संस्थापन पक्षबाट उम्मेदवार बन्न नदिएकाे रिस छ । त्यसाे त निधिले देउवालाई पहिलाे चरणमा चुनाैती दिएका छन् । यदि केहीगरी निधिले देउवालाई सघाए देउवाकाे पक्षमा बल्ल बहुमत जुट्नेछ । तर, निधिले देउवालाई सघाउने सम्भावना कम छ ।

पहिलो चरणमा निधिको पक्षमा २३९ मत खस्याे । उनको मत देउवासँग जोड्दा २,३३४ हुन्छ । त्यो भनेको ५३.३३ प्रतिशत हाे । यसरी हेर्दा निधि निर्णायक देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *