‘भगवानको भैँसी’लाई सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९ औँ संस्करणमा विष्णु कल्पितले निर्देशन गरेको चलचित्र भगवानको भैँसीले सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड जितेको छ । चलचित्रले पुरस्कार स्वरूप १ हजार अमेरिकी डलर समेत प्राप्त गरेको छ ।
त्यस्तै यही चलचित्रले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधासमेत जित्दै ७५ हजार रुपैयाँ प्राप्त गर्यो । नेपाल पानोरमा अन्तर्गत किरण श्रेष्ठ निर्देशित चलचित्र ‘एट अनोदर विन्टर’ उत्कृष्ट आख्यान चलचित्र बने सँगै एक लाख रुपैयाँ प्राप्त गर्यो । नेपाल पानोरमा अन्तर्गत नै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो चलचित्र ‘द बिग हेडेड ब्वाइ, स्यामन्स एन्ड सामुरिज’ले स्पेसल मेन्सन अवार्ड जित्यो ।
अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो चलचित्र ‘एभरेस्ट : द हार्ड वे’ सर्वोत्कृष्ट बने सँगै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । क्रिस बोनिङ्टन लिखित सोही नामको पुस्तकमा आधारित रहेर यो चलचित्र निर्माण गरिएको थियो ।
कोलम्बियाली निर्देशक भिभियाना गोमेजको निर्देशन रहेको ‘बिट्विन फायर एन्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको छ । ९२ मिनेटको यो चलचित्रले एक लाख पचास हजार रुपैयाँ जित्यो ।
अमेरिकी चलचित्र ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो बन्दै १ लाख रुपैयाँ जित्यो । तासा भान ज्यान्डट निर्देशित चलचित्र अन्टार्कटिकामा अनुसन्धान र भ्रमण गर्दाका डरलाग्दा चुनौती र जोखिम यसमा निहित छ ।
अन्तर्राष्ट्रिय विधातर्फ नै अरमेनियाली निर्देशक तामारा स्टेफनयान निर्देशित ‘भिलेज अफ वुमन’ले स्पेसल मेन्सन अवार्ड जित्यो । ८३ मिनेट लामो यो चलचित्रले पुरुषबिनाका ९ महिना कसरी महिला, बालबालिका र वृद्ध वृद्धाले गाउँमा जीवन बिताउँछन् भन्ने चित्रण यसले गर्छ ।
फेस्टिभलमा ४० चलचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ चलचित्र नेपाली पानोरमा विधामा सहभागी थिए । यस पटक भौतिक उपस्थिति र अनलाइन माध्यमबाट किम्फ आयोजना गरिएको थियो । किम्फको अफिसियल वेबसाइटमा राखिएका चलचित्रहरू अझै एक साता हेर्न पाइने भएको छ । यस संस्करणमा चलचित्र निर्देशक अनुप बराल, स्विस फिल्ममेकर क्यारोलिन फिंक र स्विस लेखक मारियो कासेला जुरी थिए ।