संसद्‌काे हिउँदे अधिवेशन

फेरि अवरोध गर्ने एमालेको तयारी, चासाेमा एमसीसी

काठमाडौँ । मंगलबारबाट संघीय संसद्‌का हिउँदे अधिवेशन शुरू हुँदैछ । विधेयक अधिवेशनका रूपमा समेत लिइने यो अधिवेशन कसरी अघि बढ्ला ? यकिन दृष्य देख्न बाँकी छ । संसद्‌काे याे अधिवेशन पनि सौहार्दपूर्ण हुनेमा आशंका छ ।

संसद् सञ्चालनकाे विषायमा मध्याह्न १२ बजेबाट कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकाे छ । बैठकले एकखाले निष्कर्ष त निकाल्ला । यत्ति हुँदा पनि बैठक साैहार्दपूर्ण रूपमा सञ्चालन हुने छाँटकाँट देखिँदैन ।

किनभने एमालेले संसद् सञ्चालनका सम्बन्धमा प्रधान मन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग एक्लै छलफल गर्न चाहेको तर त्यो ‘अवसर’ प्राप्त नभएको एमालेकी सचेतक शान्ता चौधरी बताउँछिन । संसद्‌मा प्रमुख प्रतिपक्षी एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसद्‌काे कामकारबाहीमा भाग लिएको थिएन । कारण– पार्टीका १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टास्नुपर्ने उसको माग छ । उसले यही प्रश्न उठाइरह्यो, परिणामत नाराबाजीबाट शुरू भएकाे अधिवेशन नाराबाजीमै सकिएको थियो ।

र, अहिले पनि आफूहरूकाे माग पूरा नभएकाले हिउँदे अधिवेशनमा पनि अवरोध निरन्तर रहने बताउँछिन् सचेतक चौधरी । संसद् सञ्चालनका विषयमा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस सभापति एवम्  प्रधान मन्त्री देउवा र सभामुख सापकोटाले संसद् संचालनको विषयमा प्रमुख प्रतिपक्षी दलसँग कुनै प्रकारको छलफल नगरेको चौधरीको भनाइ छ । ‘प्रधान मन्त्री देउवाले हाम्रो पार्टीसँग संसद्‌काे गतिरोधका विषयलाई लिएर छलफल गर्न नै चाहिरहनुभएको छैन । सभामुखको हर्कत हामीविरुद्ध छ’ चौधरीले भनिन् ।

तर, अघिल्लो अधिवेशनमै प्रधान मन्त्री देउवा र सभामुखले सर्वदलीय बैठक राखेर एमालेलाई मनाउने प्रयास गरेका थिए । १४ असोज २०७८ मा प्रधान मन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, आफूहरूको मुद्दा सभामुख र सरकारसँग भएकाले सर्वदलीय बैठकको औचित्य छैन भन्दै एमाले सहभागी नै भएन ।

सभामुखले पनि संवादको पहल नगरेका होइनन् । उनको पहल सफल हुन सकेको थिएन । संसद्‌मा निरन्तर अवरोध र आफूविरुद्ध नाराबाजी चलेपछि सभामुख सापकोटाले २८ जेठ २०७८ मा संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूकाे बैठक राखे । तर, एमाले त्यो बैठकमा पनि सहभागी भएको थिएन ।

सभामुखको संकेत के ?

संसद्‌काे हिउँदे अधिवेशन शुरू हुनुअघि सभामुख अग्नि सापकोटाले अघिल्लो अधिवेशनमा एमालेले गरेको संसद् अवरोध नियम र कानूनअनुसार नभएको बताएका छन् । साेमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सभामुख सापकोटाले पत्रकारहरूसँग भने, ‘उहाँहरू (एमालेका सांसद)ले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानूनअनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् ।’

‘यसको संकेत के हो ?’ भन्ने प्रश्नमा सभामुखको सचिवालय भन्छ, ‘एमालेले संसद् अवरोध गर्दै जुन मुद्दा उठाएको छ त्यो सर्वोच्च अदालतमा विचारधीन विषय हो । र त्यसउपर संसद्‌मा नहुने भएकाले एमालेले सोहीअनुसार निर्णय लिनुपर्छ, संसद्‌काे वरोध खुलाउनुपर्छ भन्ने हो ।’

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहितका सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरे पनि सभामुखले तत्काल मान्यता दिएका थिएनन् । नेपाल नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता भइसकेपछि निर्णय गर्नु पर्ने निर्णय सुनाएका थिए । सभामुखको यही निर्णयविरुद्ध एमालेले सर्वोच्चमा मुद्दासमेत दर्ता गरेको छ । र संसद्‌मा पनि सभामुखले अब पनि १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस गर्नुपर्ने माग राखेर अवरोध गर्दै आएको छ । तर, सभामुख सापकोटाले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै आफुले सबै कुरा गरेको गर्दै बताउँदै आएका छन् ।

संसदका एजेण्डाहरू:–

पहिलो एजेण्डा– अध्यादेश
आज दिउँसो २ बजे बस्ने पहिलो बैठकमा विभिन्न अध्यादेशहरू पेस गर्ने एजेण्डा छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मंगलबार संसद्‌मा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्नेछन् ।

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्नेछन् ।

चासोमा एमसीसी

संसद् अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के हुन्छ भन्ने आम चासो छ । मंगलबारबाटै एमसीसी सम्झौता गरिसक्नुपर्ने म्याद सकिँदैछ ।

यसलाई अगाडि बढाउने नबढाउने भन्ने संसद् सचिवालयले केही भनेको छैन् । जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयमा पनि छलफल भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *