सभापतिमा लगभग मिलेको फ्याक्ट्स नेपालको प्रक्षेपण- महामन्त्रीमा गगन-विश्वप्रकाश !

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ । सभापति‚ महामन्त्रीलगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको छ । सभापतिमा पहिलो चरणबाट कसैले पनि बहुमत नपुर्‍याएकाले दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतपरिणाम सार्वजनिक नहुँदासम्म कसले जित्ला वा नजित्ला भन्ने कुतुहल थियो । कसले जित्ला भन्नेमात्र होइन‚ सभापतिका ६ जना उम्मेदवारमध्ये कसले कति मत ल्याउला भन्ने चासो पनि थियो ।

यसै क्रममा फ्याक्ट्स नेपाल नामक संस्थाले मतदानपछिको सर्वेक्षण सार्वजनिक गर्‍यो । मतदानमा सहभागीमध्ये २१ सय ४८ जना महाधिवेशन प्रतिनिधिलाई सोधेर गरिएको भनिएको उक्त सर्वेक्षणले सभापतिमा शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाउने देखाएको थियो । सर्वेक्षणले देउवाले ४५ प्रतिशत मत पाउने देखाएको थियो भने दोस्रोमा डा शेखर कोइरालाले ३२ प्रतिशत, प्रकाशमान सिंहले ९ प्रतिशत र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखाएको थियो ।

यो सर्वेक्षणले देखाएको नतिजा लगभग मिलेको छ । सर्वेक्षणमा देउवाले ४५ प्रतिशत मत ल्याउने भनिएकोमा उनले ४८ दशमलव २ प्रतिशत मत प्राप्त गरे । यस्तै शेखरले ल्याउने पूर्वानुमान गरिएको ३२ प्रतिशतभन्दा बढी अर्थात् झण्डै ३७ प्रतिशत मत ल्याए । यसैगरी सिंहले ९ प्रतिशत ल्याउने प्रक्षेपण गरिएकोमा करिब ८ प्रतिशत मत ल्याए भने निधिले ल्याउने प्रक्षेपण गरिएको ८ प्रतिशतभन्दा कम अर्थात् ५ दशमलव ३ प्रतिशत मत प्राप्त गरे ।

ठ्याक्कै नमिले पनि पहिलो‚ दोस्रो‚ तेस्रो र चौथो हुने उम्मेदवारको क्रममात्र होइन‚ मत प्रतिशत पनि लगभग लगभग मिलेको छ ।

यसको प्रक्षेपणलाई आधार मान्ने हो भने कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुने देखिन्छ ।

यो एक्जिट पोलले महामन्त्रीमा थापा र शर्माले अरूको भन्दा धेरै मत प्राप्त गर्ने देखाएको छ । जसअनुसार थापाले ४५ प्रतिशत र शर्माले २९ प्रतिशत मत पाउने प्रक्षेपण गरिएको छ । यस्तै महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले १०, डा. प्रकाशशरण महतले ८ र डा. मिनेन्द्र रिजालले ७ प्रतिशत मत पाउने प्रक्षेपणले देखाएको छ । १ प्रतिशत मत अन्य उम्मेदवारले पाउने देखिएको छ ।

सभापतिमा मिलेको प्रक्षेपणलाई आधार मान्दा महामन्त्रीमा थापा र शर्मा विजयी हुने देखिन्छ । सभापतिमा प्रक्षेपण गरेभन्दा केही प्रतिशत तलमाथि परेको पक्षबाट हेर्ने हो भने पनि थापा र शर्मा विजयी हुने देखिन्छ । किनभने प्रक्षेपणमा दोस्रो नम्बरमा रहेका शर्माले २९ र तेस्रो स्थानमा रहेका पौडेलले १० प्रतिशत मत पाउने देखिएको छ । यसको अर्थ शर्मा र पौडेलको बीचको मत प्रतिशतको अन्तर १९ छ । सभापतिमा मत फरक परेको सबैभन्दा धेरै प्रतिशत भनेको ५ हो । यसरी हेर्दा महामन्त्रीमा १५ प्रतिशत नै मतान्तर फरक पर्ने हो भने पनि थापा र शर्मा विजयी हुने देखिन्छ ।

देउवालाई ४५ र शेखरलाई ३२ प्रतिशत मत, महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी हुने प्रक्षेपण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *