सिलवालको पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालालई पुनर्बहाली गर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
सर्बोच्च अदालतका प्रबक्ता बाबुराम दाहालकाअनुसार नयाँ सदस्यसचिव नियुक्ति र सिलवाललाई बर्खास्तिको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिइएको हो । अन्तरिम आदेश दिने नदिने बारे निर्णय पुस १२ गते पेसी तोकिएको पनि दाहालले जानकारी दिए ।
सिलवाललाई सरकारले गत १ कार्तिकमा बर्खास्त गर्ने निणय गरेको थियो । सरकारको निर्णयविरुद्ध सिलवालले अदालतमा रिट दायर गरेका थिए । उनको पक्षमा फैसला गर्दै अदालतले सिलवाललाई पुरानै अवस्थामा काम गर्न दिन आदेश दिएको हो । अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई समेत काम गर्न नदिन निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्ले बर्खास्त गरेपछि सिलवालले आफूलाई पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनको मागबमोजिम सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
अब खेलकुद परिषद्मा झनै अन्यौलता थपिनेछ । पछिल्लो समय राजनीतिक चलखेलको केन्द्र बन्दै गएको परिषद् अदालतको आदेशले झनै संशयमा परेको हो ।
खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्चको निर्णय अप्रत्यासित भएको बताए । उनले कार्यपालिकाको निर्णयमा हस्तक्षेप भएको भन्दै यस्तो निर्णयले संकट पैदा गर्नेसमेत बताए । नयाँ नियुक्ति भइसकेको अवस्थामा अन्तरिम आदेश आउनु दुराशयपूर्ण भएको उनको भनाइ छ।
