पदाधिकारी टुंगो लगाउन नसकेपछि माओवादी प्रदेश १ मा कार्यदल गठन

विराटनगर । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन गर्न प्रदेश १ मा कार्यदल गठन भएको छ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिको विराटनगरमा बसेको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि कार्यदल बनाउने निर्णय गरेको हो ।

अध्यक्षको दौडमा रहेका पूर्वकेन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफूहरू ‘ब्याक’ हटेको बताएका थिए ।

तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छाड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने माओवादी नेताहरु बताउँछन् ।

केन्द्रीय सदस्यत्रयले बैठकको सुरुवातमै आफूहरूबीच नेतृत्वमा दाबी नगर्ने र प्रदेश सदस्यहरूकै बीचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने सहमति गरेको बताएका थिए । उक्त प्रस्तावमा सबै सदस्यहरूले समर्थन गर्दै ताली बजाएका थिए ।

पदाधिकारीहरूको नामसमेत प्रस्ताव हुनसक्ने आकलन गरिरहेका बेला बैठकका सञ्चालक तथा प्रदेशका सह-इन्चार्ज सावित्रीकुमार काफ्लेले कार्यदल प्रस्ताव गरेपछि केहीबेर हल्लाखल्ला मच्चिएको थियो ।

काफ्लेले हल्लाकै बीच नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सह-इन्चार्ज अजम्बर काङमाङको  नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेको हो ।

उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा पाएको छ । उक्त प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीको तयारी छ ।

प्रदेश समितिको पहिलो बैठक विराटनगरका पुराना माओवादी नेता टंक गिरी (महेश)को अध्यक्षतामा बसेको थियो ।

नेतृत्व छनौट गर्नेबारेमा निर्वाचनमा जानका लागि अध्यक्षका आकांक्षीलाई सदस्यहरूबाट दबाब परेको भए पनि नेताहरूले चुनावमा जान अस्वीकार गरेका थिए । सहमतिबाट नै नेतृत्व छनौट गर्ने भनिए पनि सहमति जुट्न नसकेपछि कार्यदल बनाएर फेरि अर्को चरण छलफल सुरु भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *