मन्त्रीविहीन मन्त्रालयमा धमाधम स्वकीय नियुक्त, नेकपा एसभित्रै असन्तुष्टि

विराटनगर । प्रदेश १ का मन्त्रीविहीन मन्त्रालयमा धमाधम स्वकीय सचिवको नाममा कार्यकर्ता भर्ना सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री नै नभएका मन्त्रालयमा स्वकीय नियुक्ति गरेर कार्यकर्ता थन्क्याउने काम थालेका हुन् ।

मुख्यमन्त्री राईले मन्त्री नै नियुक्त गर्न नसकेका मन्त्रालयहरूमा स्वकीय नियुक्त गरेका हुन् । गतकात्तिक १६ गते गठन भएको गठबन्धनको सरकारले अहिलेसम्म काम गर्न सकेको छैन । १६ गते र ९ गते गरी अहिलेसम्म २ पटक मात्र मन्त्री परिषद्को बैठक बसेको छ भने मन्त्रालयहरूमा कुनै कामको गतिविधिसमेत नदेखिएको आरोप लाग्दै आएको छ ।

काम गर्न नसकेका मुख्यमन्त्री राईले स्वकीय सचिव नियुक्तिलाई भने तिव्रता दिएका छन् । मुख्यमन्त्री राईले उद्योग, पर्यटन‚ वन तथा वातावरण मन्त्रालयको प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी, सोही मन्त्रालयको स्वकीय सचिवमा रोहित गौतमलाई नियुक्त गरेका छन् ।

भूमि‚ व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रमुख स्वकीय सचिवमा किशन भगत र सोही मन्त्रालयको स्वकीय सचिवमा उदय यादवलाई नियुक्त गरेका छन् । यी मन्त्रालयमा दलहरूबीच भागबण्डा नमिल्दा मन्त्रीविहीन अवस्थामा मुख्यमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

स्वकीय सचिव मन्त्रीले नियुक्त गर्ने पद हो । तर, मन्त्री नै नभएको मन्त्रालयमा धमाधम स्वकीय सचिव नियुक्त हुँदा गठबन्धनभित्रैबाट मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । नेकपा एकीकृत समाजवादीभित्रैका विद्यार्थी नेताहरूले पनि असन्तुष्टि जनाएका छन् । सुनसरीका नेकपा (एस) का विद्यार्थी नेता सुमन कार्कीले आफूहरूले पनि धेरै गर्न सक्ने भएपनि एयरपोर्ट दौडिने र आसेपासेलाई मात्र नियुक्त गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।

मुख्य मन्त्रीको सचिवालयले भने तत्काललाई नियुक्त गरिए पनि कुनै मन्त्री नियुक्त भएको अवस्थामा स्वकीय सचिवलाई हटाउन सक्ने बताएको छ । मुख्यमन्त्रीको सचिवालयले मन्त्रालयको काम कारबाहीलाई हेर्नका लागि मन्त्रालयमा स्वकीयसहितको सचिवालय बनाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *