शिखरतिर शेखर !
सभापतिको निर्वाचनमा पराजित भएपछिको पहिलो कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले भने ‘अब नयाँ ढंगले अघि बढ्छु ।’ आफुहरू भागबण्डा र गुटबन्दीमा नलाग्ने‚ राम्रो काम गर्ने अनि आफू र आफ्नो टिमका साथीहरू कार्यकर्ताको घरघरमा पुग्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
यसको अन्तर्य हो- निर्वाचनमा पराजित भए पनि शेखरलाई उनले पाएको मतले उत्साहित बनाएको छ । नबनाओस् पनि किन ? ‘एक्लै’ लडेर उनले जति मत पाए‚ त्यो शायद यति प्रतिकूल अवस्थामा उनी स्वयंले पनि सोचेका थिएनन् कि ?
‘शेखरसँग यत्रो भोट रहेछ है !’ पहिलो चरणको मत परिणाम आइसक्दा नसक्दैदेखि दोस्रो चरणको मतदान हुँदै गर्दाका बखतसम्म धेरै जना चकित सुनिन्थे, देखिन्थे । अझ ‘सबै अर्कोतिर’ हुँदा पनि दोस्रो चरणमा उनले थप १५३ मत पाए । पहिलो चरणमा १ हजार ७०२ मत ल्याएका शेखरले दोस्रो चरणमा १ हजार ८५५ मत पुर्याए । जबकि दोस्रो चरणमा उनले ‘स्वतः हार्ने’ अवस्था देखिएको थियो ।
शेखरले आफू सभापतिमा उठ्छु भन्दै गर्दा संस्थापन पक्षका र इतर पक्षका आकांक्षीसमेतको तर्क हुन्थ्यो- अनुभवको अभाव‚ पार्टीमा केन्द्रीय सदस्यभन्दा माथि नपुगेका, कुनै मन्त्री नभएका, लामो समय जागिर खाएका शेखरले एकैपटक सभापति ताक्नु अलि बढी नै हो कि ? यी तर्कमा केही दम थियो पनि । अझ चुनावमा संस्थापनइतर तितरबितर भएपछि त शेखर झनै कमजोर हुने आकलन गरिएको थियो ।
तर‚ मत परिणाममा त्यस्तो देखिएन । त्यहि कम आकलनका बीच पहिलो चरणमा सभापतिका प्रत्यासी रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङमात्र होइन‚ उनकै टिमका ठानिएका शशांक कोइराला पनि खुलेरै देउवाको पक्षमा लागे । उसो त शशांक र संस्थापन इतर पक्षका नेता मानिएका रामचन्द्र पौडेलको मौनताले शेखरलाई घाटा र देउवालाई फाइदा भएकै थियो ।
पहिलो चरणको निर्वाचनको अघिल्लो दिन बालुवाटार पुगेर देउवालाई भेटेर र शेखर पक्षको पत्रकार सम्मेलनमा उपस्थित नभएर शशांकले संशय र अन्योल बढाइदिए । आफू उम्मेदवार हुन पाउने सम्भावना हुन्जेल निकै दौडधुप गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो नाममा सहमति नहुनासाथ ‘त्यागी’ बनिदिए ।
सम्भवतः राष्ट्रपति बन्ने सपना सार्थक बनाउन उनलाई १४औँ निर्वाचनका सबै प्रक्रिया बहिष्कार गर्ने तहमा पुर्यायो । ‘उनको योगदानको उच्च प्रशंसा गर्दै’ देउवा घरमै पुगे र दोस्रो चरणको चुनावका दिन बिहानै उनको उच्च योगदान र ‘त्याग’को चर्चा गरे । कार्यकर्ताले शेखरको पक्षमा मत माग्न चर्को हुटिङ गर्दा पनि उनी मौन नै बसे । कांग्रेसमा सस्थापनइतर पक्षको नेतृत्व गरिरहेका उनले मेरो उम्मेदवार को हो र मत कसलाई दिने भन्नेबारे केही नबोल्नुको फाइदा देउवालाई र घाटाचाहिँ शेखरलाई भइरहेको थियो । दोस्रो चरणमा शशांक देउवातिर खुल्दा पनि दोस्रो चरणमा शेखरको मत बढ्नुले शशांकले ‘पहिलो चरणमै शेखरलाई सघाएका थिएनन् कि’ भन्ने दाबीमा बल पुग्छ ।
कांग्रेसमा कोइराला परिवारको विरासत भनिँदै गर्दा शेखरलाई त्यो विरासतले खास साथ दिएन ।
यसै पनि उनी बीपी कोइरालाका छोरा वा गिरिजाप्रसाद कोइरालाकी छोरी थिएनन् । त्यसमाथि बीपीका छोरा शशांक र गिरिजाप्रसादकी छोरी सुजाता भिन्न समूहमा थिए । मुखले शेखर दा भने पनि उनीहरूले व्यवहारमा शेखरको विरुद्धमा मत मागे, मत हाले । त्यसमाथि पौडेलको मौनता र त्यागको कथा छँदै थियो ।
परिणाममा शेखरले चुनाव हारे र देउवाले जिते । त्यो पनि धेरै मतान्तरले ।
तर, हार्दाहार्दै पनि शेखर कांग्रेसको नयाँ उचाईमा भने पुगेका छन् । उनी अब निर्विवाद रुपमा संस्थापन इतर पक्षको नेता बनेका छन् । र त्यो समूहमा पौडेल, सिंह, निधि, शशांक, सुजाता होइन‚ अब चन्द्र भण्डारी, धनराज गुरुङ, मीनेन्द्र रिजाल, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरेलगायत हुनेछन् ।
महत्वपूर्ण कुरा त के भने‚ यिनै भण्डारी, गुरुङ, थापा, रिजाल र पाण्डेहरूकै टिमको नेता भएकाले शेखरले यति मत पाउन सकेका हुन् ।
शेखरलाई यो महाधिवेशनमा दुई कुराले साथ दियो । पहिलो- उनको छवि । अहिलेसम्म मन्त्री नबनेका र पार्टीमा पनि केन्द्रीय सदस्यमात्र भएकाले उनको छवि धुमिलिन पाएको थिएन । दोस्रो– युवाको टिम छनोट‚ जसले महाधिवेशन प्रतिनिधिको विश्वास जित्न सके । अरु त अरु‚ देउवाले स्वतः जित्ने अवस्थामा समेत शेखरलाई १५३ मत थपियो । यो उनीप्रतिको विश्वासको एक उदाहरण हो ।
यी सबै कारणले ‘राजनीतिमा जुनिअर’ भनिएका शेखर अब कांग्रेसमा संस्थापन इतर समूहको निर्विकल्प नेता बनेका छन् भने समयमा र सही निर्णय गर्न नसक्दा रामचन्द्र पौडेल अब आफ्नो त्यो विरासतबाट बाहिरिएका छन् । सबै कुरा उनले सोचेको जस्तै भयो भने उनी राष्ट्रपति बन्लान् पनि‚ तर पार्टीभित्र उनी त्यागी होइन‚ आपत्का बेला टिम अलपत्र छाडेर भाग्ने नेताका रुपमा चित्रित हुनेछन् ।
उनी निकटका नेता गुरुराज घिमिरेले बुधबारको कार्यक्रममा हाकाहाकी भने‚ ‘एकातिर पेले मैदानमा उत्रँदा हाम्रा म्याराडोना मैदानमा खेलाडीलाई अलपत्र पारेर दर्शकदीर्घामा बसेर टुलुटुलु हेरिरहनुभयो ।’
हेरौँ, कांग्रेसभित्रको राजनीति अब कसरी अघि बढ्छ ?