राष्ट्रियसभा चुनाव : १० गतेसम्म दल दर्ताको समय (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आउँदो फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने चुनावमा भाग लिन चाहने राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने चुनावको तयारी अगाडि बढाएको पनि आयोगले जानकारी दिएको छ । यसअघिकै कार्यतालिका र कार्यक्रमअनुसार चुनावको आन्तरिक तयारी अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् । यही पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

याे पनि : यी हुन् फागुन २१ मा पदावधि सकिने राष्ट्रिय सभा सदस्यहरू

उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम पुस २० गते हुनेछ । चुनावमा भाग लिने उम्मेदवारलाई पुस २५ गते चुनाव चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा सदस्य चुनावमा मतदाता प्रदेश सभा सदस्य, पालिका प्रमुख/उपप्रमुख रहने छन् । चुनावका लागि आयोगलाई अर्थ मन्त्रालयले पाँच करोड ९० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *