विश्वकै उच्च गतिको इन्टरनेट ल्याउँदै वर्ल्डलिंक

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पी वर्ल्डलिंकले पहिलोपटक ६०० एमबीपीएस गतिको इन्टरनेट भित्र्याउने भएको छ । विश्वमा हाल औषत इन्टरनेटको स्पिड ८० एमबीपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबीपीएस छ । वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औषत स्पिड पनि ८० एमबीपीएस पुग्ने अपेक्षा गरिएको छ ।

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए । यो सँगै वर्ल्डलिंकको इन्टरनेट स्पिड अब कम्तिमा पनि १५० एमबिपीएस गतिको हुने उनले बताए । उनले भने– ‘‘उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबिपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।’

वर्ल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयासरत रहेको उल्लेख गर्दै वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप नयाँ योजना सार्वजनिक गरेको बताए ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० अर्थात् मासिक एक हजार २०० मा १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । एक सय ५० एमबिपीएससहित २२५ र ३०० एमबिपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइनको कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवाल बताउँछन् । वर्ल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुनसक्ने तर यसका लागि डुअल व्याण्ड भएको राउटर आवश्यक पर्नेछ ।

यो योजनाले इन्टरनेट सेवाग्राहीको वाई फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने कम्पनीको विश्वास रहेको छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताए ।

हाल पाँच लाख ६५ हजार परिवारलाई इन्टरनेटसँग जोडेको वर्ल्डलिंकले तीन वर्षभित्र देशभरका पालिकाका ९५ प्रतिशत वडास्तरमा पुग्ने लक्ष्य रहेको बताउँदै सरकारले विपन्न गरिबको पहिचान हुने परिचय पत्र प्रदान गरेको अवस्थामा उनीहरुसम्म इन्टरनेट पहुँच पु¥याउन कम्पनी तयार रहेको छ भने । उनका अनुसार हाल देशका ७५ जिल्लामा वल्डलिंकमार्फत इन्टरनेट सेवा पुगेको र कर्णालीका प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ ।

देशका विभिन्न १५ हजार स्थानमा निःशुल्क ‘फ्री वाई–फाई’ सेवा सञ्चालन गरिएको बताउँदै उनले यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरी विपन्न समुदायमा इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिए ।

सरकारको डिजिटल नेपालको अवधारणालाई सफल तुल्याउन पनि गुणस्तरीय इन्टरनेट सेवालाई देशभर विस्तार गर्नु आवश्यक रहेको निर्देशक अग्रवालले बताए । उनले भने ।
‘‘हाल धेरै इन्टरनेट सेवा प्रदायकहरुले घरघरमा फाइबर जडान गरेका छन् तथा ठूला शहरहरुमा मात्र फिक्ड ब्रोडब्यान्ड सेवाहरु सीमित रहेको अवस्थामा हामीहरु गाउँगाउँमा पुगेर सेवा विस्तार गरिरहेका छौँ ।’

साहसिक आरोही निर्मल पूर्जा सद्भावना दूत

आठ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल सात महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल निर्मल पूर्जालाई वर्ल्डलिंकले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वर्ल्डलिंकले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको हो । पूर्जाको हिमाल आरोहणसम्बन्धी कथामा आधारित वृत्तचित्र ‘फोर्टिन पिक्स : नथिङ इन इम्पोसिबल’ केही दिनअघि नेटफ्लिक्समार्फत विश्वभर प्रशारण भएको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *