एसेसमा कोरोना छायाँ : कमिन्स कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्मिथ अस्ट्रेलियाको कप्तान
अस्ट्रेलिया र इंग्ल्यान्डबीचको जारी एसेस सिरिजको दोस्रो टेस्टमा अस्ट्रेलियाली टीम स्टिभ स्मिथले कप्तानी गर्ने भएका छन् ।
आजबाट सुरु भएको डे-नाइट टेस्टमा कप्तान प्याट कमिन्स छैनन्। अस्ट्रेलियाका नियमित कप्तान कमिन्स कोरोना संक्रमितको सम्पर्कमा आएको भन्दै कन्ट्रयाक ट्रेसिङमा परेपछि उनले यो टेस्ट गुमाउने भएका छन् । यसअघि ८ देखि १२ डिसेम्बरसम्म चलेको पहिलो टेस्टमा अस्ट्रेलियाले सहज जित हासिल गरेको थियो ।
रेस्टुराँमा संक्रमितको सम्पर्कमा कमिन्स
क्रिकेट अस्ट्रेलियाकाअनुसार बुधबार राति कमिन्स कोरोना संक्रमितको सम्पर्कमा पुगेको पुष्टि भएको छ । कमिन्स रेस्टुरेन्टमा एक कोरोना संक्रमितको क्लोज कन्ट्याकमा आएका थिए । उनी एडिलेडको एक रेस्टुरेन्टमा खाना खाइरहेका थिए । केही समयपछि उनी बसेको छेउको टेबलका ब्यक्ति कोरोना पोजेटिभ रहेको पुष्टि भएको थियो ।
खबर थाहा पाउनासाथ कमिन्स तुरुन्तै त्यहाँबाट बाहिरिएका थिए तर पनि अब उनी सात दिन आइसोलेसनमा रहनुपर्ने भएको छ । अस्ट्रेलियाली खेलाडी मिचेल स्टर्क र नाथन लियोन पनि उनीसँगै रेस्टुरेन्टमा खाना खान गएका थिए । तर‚ उनीहरू केही टाढा रहेकाले कन्ट्रयाक ट्रेसिङमा भने नपरेको जनाइएको छ ।
यससँगै कमिन्सको स्थानमा मिचेल नासेरले दोस्रो टेस्टमा डेब्यू गर्नेछन् ।