ए डिभिजन लिग : आजबाट पाँचौँ चरणका खेल हुने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू आजबाट सुरु हुँदै छन् । दशरथ रङ्गशाला र पोखरा रङ्गशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म हुनेछ ।

एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौँमा हुनेछ । आज दुई खेल हुनेछन् । सातदोबाटो यूथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मच्छिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रङ्गशाला र पोखरामा हुनेछ ।

दोस्रो दिन अर्थात् ३ गते शनिबार तीन खेल हुनेछ । दशरथ रङ्गशालामा दुई खेल हुँदा पोखरामा एक खेल हुनेछ । च्यासल यूथ क्लब र जावलाखेल यूथ १ बजे दशरथ रङ्गशालामा भिड्दा पोखरामा मनाङ मर्स्याङ्दी क्लबले २ बजे नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ ।

आइतबार हिमालयन शेर्पा क्लबले ब्रिगेड व्बाईज क्लब (बीबीसी) को सामना गर्दा अन्तिम दिन सोमबार फ्रेण्ड्स क्लब र एपीएफ फुटबल क्लब आमनेसामने हुनेछन् । दुवै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

जारी लिगमा समान १० अंक भए पनि मच्छिन्द्र फुटबल क्लब मनाङ मर्स्याङ्दी क्लबलाई पछि पार्दै शीर्ष स्थानमा छ । समान आठ अंकको आर्मीले संकटालाई पछि पार्दै तेस्रो स्थान ओगटेको छ ।

सात अंकको सातदोबाटो पाँचौँ स्थानमा छ । समान पाँच अंकका थ्री स्टार, बीबीसी, नेपाल पुलिस, न्युरोड टिम एनआरटी क्रमशः छैटौँ, सातौँ, आठौँ र नवौँ स्थानमा छन् । पाँच अंकको च्यासल दसौँ स्थानमा रहँदा समान दुई अंकका फ्रेण्ड्स र हिमालयन शेर्पा क्लब क्रमशः ११औँ र १२औँ स्थानमा छन् । अन्तिम खेलमा एक अंक जोडेको जावलाखेल र एपीएफ क्रमशः १३औँ र १४औँ स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *