एमालेको अपानिः

माधवहरूको बहिर्गमनले पार्टीलाई क्षति नपुगेको एमालेको सन्देश

एमाले नेतृत्वदायी शक्ति हो भन्ने पुनर्पुष्टि भएको छ : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफूसँग जनताको विश्वास यथावत् रहेको दाबी गरेको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरू पार्टीबाट बाहिरिएपछि १०औं महाधिवेशन सम्पन्न गरेको एमालेले अपानि जारी गर्दै यस्तो दाबी प्रस्तुत गरेको हो । एमालेले अपानिमार्फत नेपाल, खनाल, गौतमलगायतका नेताहरूको बहिर्गमनले पार्टीलाई केही क्षति नपुगेको सन्देश दिन दिएकाे छ ।

मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न १०औं महाधिवेशनले ‘नेतृत्वदायी शक्ति एमाले नै हो’ भन्ने थप पुनर्पुष्टि गरेको दाबी एमालेको छ । एमालेले अपानिमा भनेको छ— ‘पार्टीको जनाधार अत्यन्त सुदृढ र पार्टीप्रति जनताको विश्वास यथावत् रहेको पुनर्पुष्टि गर्नेगरी उद्घाटन समारोहमा जुन ऐतिहासिक जनसहभागिता रह्यो, यसले पार्टी अत्यन्त उत्साहित भएको छ ।’

एमालेले अन्तर्राष्ट्रिय राजनीतिक शक्तिहरूको शुभकामनाले पार्टीले फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको पुष्टि गरेको दाबी गरेको छ । ‘महाधिवेशनमा हामीले रसिया, जर्मनी, टर्की, थाइल्याण्ड, आयरल्याण्डलगायत मुलुकका सत्तारुढ पार्टीहरूसहित दुई दर्जन बढी पार्टीहरूका शुभकामना सन्देशका साथै ३०० भन्दा बढी पार्टीहरू सदस्य रहेको एसियाली राजनीतिक पार्टीहरूको राजनीतिक सम्मेलन (आइक्याप) का तर्फबाट समेत शुभकामना प्राप्त गरेका छौँ । यसबाट हाम्रो पार्टीको फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिविम्बित भएकोछ,’ पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *