मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन
काठमाडौँ । भूमि‚ व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन गरेको छ । श्याम श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको मन्त्री शशि श्रेष्ठले जानकारी दिइन् ।
शुक्रबार संसद्को राज्यका निर्देशक सिद्धान्त समितिको बैठकमा मन्त्री श्रेष्ठले कार्यदल गठन भएको जानकारी दिएकी हुन् । उनका अनुसार कार्यदलमा अधिकारकर्मी र मन्त्रालयका कर्मचारीहरू छन् ।
कार्यदलमा अधिकारकर्मी गणेश विक पनि छन् । कार्यदललाई १५ दिनको म्याद दिइएको उनले जानकारी दिइन् । उनका अनुसार कार्यदलले समस्या र समाधानको उपाय र विकल्पसहितको अध्ययन प्रतिवेदन दिनेछ ।
सरकारले २०६५ सालमै हलियामुक्त घोषणा गरेको थियो । तर‚ त्यसअघि लिइएको लगतअनुसार उनीहरूको व्यवस्थापन हुन नसकेको र लगत पनि छुटेको भन्दै अधिकारकर्मीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।