कांग्रेस ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मत गणनाका लागि उम्मेदवार वा एक जना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाई दिन पनि आग्रह गरेका छन् । खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।
यो पनि : यस्ताे बन्याे कांग्रेस पदाधिकारी टीम
यसअघि सभापतिसहित १३ सदस्यीय पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रधान मन्त्रीसमेत रहेको शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।
त्यसैगरी काँग्रेस महामन्त्रीमा चर्चित युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका हुन् ।