प्रधान मन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले संसद् अवरोध र अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । आइतबार अपराह्न ४ बजे बस्नेगरि सर्वदलीय बैठक बोलाइएको प्रधान मन्त्री देउवाको सचिवालयले जनाएको छ ।
बैठकमा एमसीसीलाई संसदमा पेश गर्ने विषयमा छलफल गर्ने तयारी छ । यस्तै, एमालेले गरिरहेको संसद्का दुवै सदनको अवरोध हटाउने उपायका बारेमा पछि छलफल गर्ने तयारी छ ।
एमसीसी सम्झौता लागू गर्न अमेरिकाले दबाब बढाएको छ भने नेपालले त्यसलाई अघि बढाउन सकेको छैन । एमसीसी सम्झौता लामो समयदेखि संसद्मा थन्किएको छ ।
एमसीसी परियोजना नेपालको संसदबाट पारित भएपछि मात्र लागू हुने प्रावधान छ । एमसीसीका बारेमा सत्तारुढ दलबीच नै मतैक्य छैन भने । अहिले मूख्य विपक्षमा रहेको नेकपा एमालेले यसबारेको आफ्नो धारणा परिवर्तन गरेको आरोप लाग्ने गरेको छ ।
आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाही गरेको सूचना टाँस नगरेको भन्दै एमालेले सभामुखले राजीनामा दिनुपर्ने भन्दै संसद् बैठक अवरुद्ध पार्दै आएको छ ।