सकियो सर्वदलीय बैठक, एमसीसीबारे कसले के भने ?

काठमाडौँ । संसद्को गतिरोध अन्य गर्ने र एमसीसीबारे निष्कर्षमा पुग्ने भन्दै बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएकाे छ । एमाले अनुपस्थित भएको बैठकमा सत्तारुढ दलका नेताहरूबीच दुवै विषयमा छलफल भएपनि त्यसको निष्कर्ष निस्केन ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार बैठकमा सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा राखेका थिए । छलफलका क्रममा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने अडान लिएका थिए ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधनपछि मात्रै विचार गर्न सकिने दोहोर्‍याएका थिए भने एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पनि प्रचण्डको भनाइमा नै ऐक्यबद्धता जनाएका थिए ।

नेमकिपाका नेता प्रेम सुवालकाअनुसार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसी पारित हुनुपर्ने भन्दै आफ्नो धारणा राखेका थिए । उनी पहिल्यैदेखि एमसीसी पास हुनुपर्छ भन्ने नेता हुन् ।

प्रवक्ता कार्कीकाअनुसार सरकार चाँडै एमसीसीका सन्दर्भमा निष्कर्षमा पुग्नेछ । ‘एमसीसीका बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आआफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ, सरकार पुग्नेछ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *